सीता दाहाल प्रथम स्मृति दिवस: श्रद्धाञ्जली कार्यक्रम सम्पन्न !

राजनीति समाचार


असार २७ बिहीवार,२०८१/काठमाडौं-
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित परिवारका सदस्यहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाल लगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो ।

पार्टीका उपाध्यक्ष श्रेष्ठबाट सो अवसरमा जनयुद्धका उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त भयो ।

क.सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक पनि विमोचन गरेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्दै विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थियिन ।