‘जनयुद्ध’ शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ:प्रचण्ड

राजनीति समाचार

श्रावण ३० बुधबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको बताएका छन ।

संसदमा बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक (टीआरसी)बारे बोल्दै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरूले ‘जनयुद्ध’ शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्ने गरेको जिकिर गर्दै सो कुरामा आपत्ति जनाएका हुन ।

उनले संविधानको अनुसूचीमै जनयुद्ध शब्द लेखिएको पनि उल्लेख गरेका थिए । ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौँ, त्यो सम्भव हुने थिएन’, उनले थपेका थिए ।

यसैगरी उनले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको पनि बताएका थिए ।

‘मैले रातारात! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्‍यो, सेना समायोजन हुन पर्‍यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो,’ उनले उजागर गरे ।

हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको पनि उनले उल्लेख गरे र त्यसक्रममा निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपरेको तर देशलाई बचाएर शान्ति स्थापित भएकोमा आफुलाई गर्व महसुस भएको बताएका थिए ।