
श्रावण ३१ बिहीवार,२०८१/काठमाडौं-
(ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनलाई ध्यानमा राखेर अध्यक्षका उम्मेदवार पर्यटन व्यवसायी सागर पाण्डेसँग कुराकानी गरिएको हो)
टानको अध्यक्षका लागि अगाडि बढनु भएको रहेछ, तपाईले नै नेतृत्व गर्नु पर्छ भन्ने किन होला ?
-कुनै पनि संस्थाको उच्च पद भनेकै अध्यक्ष हो,जसले सहि नेतृत्व प्रदान गर्न सक्नुपर्छ । त्यहाँ सक्षम मान्छे पुग्नुपर्छ । जसमा अनुभव पनि हुनुपर्यो,व्यावसायिक गर्भिलो हैसियत पनि हुनुपर्यो र नेतृत्व क्षमता पनि हुनुपर्यो । यस अर्थमा म सबै हिसाबले योग्य छु । म टान कार्यसमितिको महासचिव (सन् २०१३-२०१५) पनि हो र २५ बर्ष देखि यस संस्थाको साधारण सदस्य पनि हुँ । मैले व्यवसाय संगसंगै
टानको गतिविधि पनि हेरिरहेको छु । समग्रमा व्यवसायीहरुको व्यावसायिक भविष्य सुनिश्चित गर्न व्यवसायीहरुले मेरो नेतृत्व खोजिरहेका छन् । उहाँहरूकै सल्लाहमा म अगाडी बढेको हुँ !
काङ्ग्रेस र एमाले पृष्ठभुमिका साथीहरू गठबंधन गरेर आउदै छन, तपाई माओवादी निकट हो । अल्पमतमा पर्नु हुन्न ?
-बिचारको आधारमा हाम्रो आआफ्नो पृष्ठभुमि हौँला त्यो राजनीतिक बिषय हो । तर यो संस्था कुनै राजनितिक पार्टीलाई सम्बोधन गर्ने संस्था होइन । यो आम व्यावसायीहरुको साझा संस्था हो । यहाँ हरेक प्रकारका व्यवसायी हुन्छन्, त्यो हिसाबले म चाहिँ नितान्त व्यवसायीक मुद्दा र हकहितका लागि आफ्नो अनुभव सहित खारिएको एउटा व्यवसायी भएको हुनाले मलाई व्यावसायीहरुले त्यो रङ्गमा हेर्नुहुन्न । होला मेरो बिचार आस्था आफ्नो ठाउँमा छ तर व्यावसायी चुनावमा म उभिदै गर्दा कुनैपनी दल/पार्टीको मुद्दा प्रकट गर्ने होईन । व्यावसायीको समस्या,व्यवसायलाई कसरी माथि उठाउन सकिन्छ भन्ने एजेन्डा लिएर अगाडि बढने हो । त्यो हिसाबले त्यति फरक पर्दैन किनभने त्यो कुराहरु हाम्रो व्यवसायी साथीहरूले बुझ्नुभएको छ । हामी व्यबसायीहरु एकै ठाउँमा छौ । राजनितिक आस्थाका कारण वा अरु कारणले मलाई केही असर गर्दैन । उहाँहरुले अरु भन्दा पनि सहि नेतृत्व छान्नु हुनेछ ।
अध्यक्ष निर्वाचित भइसकेपछि यहाँले गर्न सक्ने उल्लेखनीय काम तथा प्रतिबद्धताहरु के कस्ता छन् ?
-मेरो एजेन्डामा त थुप्रै कुराहरू छन तर मात्र २ बर्ष कार्यकाल भएकोले नसकिने बाचा म गर्दिन । सबैमा यहि प्रश्न छ ! मैले तत्काल गर्न सक्ने र पछि गर्न सक्ने गरि कामलाई २ भागमा छुट्याएको छु । तत्काल गर्न सक्ने भनेको टानले डिजाईन गरेर कार्यान्वयन गर्न सक्ने । र अर्कोतिर टान एउटा फराकिलो संस्था हो, गाइड तथा सम्बन्धित कुनै व्यावसायी घाईते भयो, दिर्घरोगी भयो भने अहिलेसम्म टानले कुनैपनी बिधिको विकास गरेको छैन । सामाजिक संजालमा सहयोग या अन्य माध्यमबाट सहयोगका लागि याचना गरिरहेको पाइन्छ । हामीले पहिलो बैठकबाट नै टानको कल्याणकारी कोष या अक्षय कोष स्थापना गरि त्यससम्बन्धी कार्यबिधी निर्माण गरी लागू गर्छु । यहाँ यसमा काम गर्ने मजदुरको मृत्यु भयो भने परिवारले
क्षतिपूर्ति पाउनु पर्दछ । उनीहरुका छोराछोरीले पठनपाठनमा सहयोग पाउनु पर्दछ । मजदुर मात्र होईन व्यवसायीहरुलाई पनि समस्या छ । केही समय अघि एक जना व्यवसायीलाई क्यान्सर भयो र सामाजिक संजालबाट सहयोग जुटाउदै थिए । यो अवस्थाको अन्त्य हुन जरुरी छ । र पर्यटन नीति समयानुकूल परिमार्जन भएको छैन जसले पर्यटनको बिकास अबरुद्ध भएको छ । यस्ता कुराहरुमा राज्य तथा सम्बन्धित सरोकारवालासित समन्वय छलफल गरेर अगाडि बढ्छु । र मुख्य कुरा डिजिटल विकासको समयमा मानिसको खाने, उठने, बसने र काम गर्ने तरिका फेरिएको छ । यसै अन्तर्गत पर्यटन नीति बनाइने पर्ने हुन्छ । यसरी पुरानै नीतिमा अल्झेर बस्यौं भने हुदैन, समय अनुसार यो परिवर्तन हुनु पर्छ । मेरो कार्यकालमा मैले यसमा जोड दिने छु । हिजो ३० बर्ष अगाडि ५ लाख पर्यटक आउँदा पनि त्यस्तै र आज १० लाख आउदा पनि त्यस्तै तरिकाले चल्दैन ।
माउन्टेन क्षेत्रमा फोहोर भयो, डम्पिङ साइट जस्तो भयो भन्ने गुनासो छ, यसका लागि के गर्नुहुन्छ ?
-केही हदसम्म यो कुरा सत्य हो तर अलि बढी नै नकारात्मक चर्चा भएको पाईन्छ । त्यो बिषयमा नि सोच्नु पर्छ । सिमित स्थानओभर टुरीजमका कारणले पनि यस्तो भएको हो । पर्वतारोहीबाट ३० हजार लिएर सगरमाथा चढ्न दिएपछि हुने यस्तै हो । सस्तो तरिकाले हिमाल चढन दिएपछि त्यसै अनुसारको आरोहण हुन्छ, फोहोर हुन्छ । लासहरुको संख्या बढछ, लिन कोही आउदैन । पछि हिउँ जम्छ र त्यसरीनै लासहरु रहने गरेका हुन्छ्न । मान्छे एक्ला एक्लै हिंड्ने गर्छन सस्तो खोज्छन अनि नेपाल सुरक्षित छैन भन्ने सुचना प्रवाह भएको हुन्छ । र मानव फोहोरको समस्या समाधान गर्न अहिले त्यहाँको स्थानिय निकायले अनिवार्य पुप ब्याग लिएर जाने निर्णय गरेको छ । पर्यटकहरु आफू पनि जिम्मेवार हुनु पर्छ । गुणस्तरीय पर्यटनको अवधारणा संगसंगै हामीले यसलाई पनि लानुपर्छ किनभने सस्तो मान्छे लिएर गयो भने फोहोर गर्छ, व्यावसायीले पनि सस्तो मान्छेलाई त्यति वास्ता गरेको देखिन्न । राम्रो चिजको मूल्य नी उचित हुन्छ । गुणस्तरीय सेवा र मूल्य हुनु पर्दछ । जस्तो पायो उस्तै आउने वातावरणमा भयो भने त डम्पिङ साइट नै बन्छ ।
निर्वाचनका लागि मतदाता संख्या कति छ ?
-दर्ता भएका त सबै २४०० जति छन् तर नवीकरण गरिएका त्यस्तै १३/१४ सय जति होलान् ।
यहाँले महासचिव हुँदा गरेका उल्लेखनीय कार्यहरु के छन् त ?
-त्यतिबेला खराब समय पनि चल्यो, जस्तो हुत नामक आधी आयो माथि अफघानिस्तान क्षेत्रतिर । यता नेपालमै भुकम्पको सामना गर्नु पर्यो । त्यसमा ठूलो इनर्जी लगाउनुपर्यो, भुकम्पले गर्दा एभरेस्ट रिजनमा ठूलो क्षति भयो । १७ जना पर्वतारोहीको ज्यन गयो । हाम्रो ध्यान रेस्क्यु र व्यवस्थापन तर्फ बढी भयो । पर्यटन बोर्डमा ठूलो अनियमित थियो । हाम्रो नेतृत्वमा सबै संघसंस्थालाई ल्याएर सुधार गरियो । टान अस्तव्यस्त थियो व्यवस्थित र सुधार गर्यौ । अन्तर्राष्ट्रिय
मार्केटिङमा व्यवस्थित मार्केटिङ क्याम्पिङ गर्यौ । टानलाई सबै समक्ष परिचीत गरायौं र टानको उपस्थिति राज्यको अनेक ठाउमा गराउने प्रयास पनि गर्यौ ।
अन्त्यमा फेरि पनि ट्रेकिङ मजदुरलाई यसै क्षेत्रमा टीकाउन के योजना छ ?
-गुणस्तरीय पर्यटनमा जोड दिनुपर्छ । त्यसो भयो भने राइट चार्ज हुन्छ र मजदुरलाई राईट भुक्तानी हुन्छ र पेशाप्रति लगाव बढ्दै जान्छ र पेशा दिगो पनि रहन्छ ।
