
भाद्र ६ बिहीवार, २०८१/काठमाडौं-
(दावा लामा तामाङ एक सफल पर्यटन व्यवसायी तथा ट्राभल टाइम ट्रेकका सञ्चालक हुन जो आसन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचनमा व्यवसायिक प्यानलबाट प्रथम उपाध्यक्ष पदका उम्मेदवार हुन । उनीसँग गरेको छोटो कुराकानी)
यहाँको प्यानल नै जित्छ भन्ने के छ त ?
-धेरै सकारात्मक कुराहरु छन । हाम्रो व्यवसायिक प्यानलमा नेकपा माओवादी केन्द्र, बिद्रोही नेपाली काङ्ग्रेस, एकीकृत समाजबादी र राष्ट्रीय स्वतन्त्र पार्टी निकट साथीहरु हुनु हुन्छ । अर्को प्यानलमा सत्ताधारी नेपाली काङ्ग्रेस र नेकपा एमाले निकट साथीहरुको भए पनि नेपाली काङ्ग्रेससँग नजिक भएर लामो समय काम गरेको मुख्य शक्ति अहिले हामीसँग हुनु हुन्छ । किन भने हामी सबैले राम्रोसँग बुझेका छौ कि अब पुरानो तरिकाले नेपालको पर्यटन क्षेत्रले फडको हान्न सक्दैन । त्यसको नयाँ उर्जा, इमान्दार र योजना भएको सशक्त टिमको नेतृत्व जरुरी छ र त्यो हामीसँग छ !
निकै लामो समय देखि पर्यटन क्षेत्रमा होम्मीनु भेएको पर्यटन व्यवसायी सागर पाण्डेको नेतृत्वमा हामी अगाडि बढेका छौँ । हाम्रो प्यानल हरेक कोणबाट अग्रगामी छ, त्यसैले हामीले जित्ने सम्भावना ९५ प्रतिशत रहेको छ । अर्को कुरा अहिलेको गठबन्धन सरकारमा रहेको महत्वपूर्ण सत्तारुढ दल नेपाली काङ्ग्रेस भित्रको पनि नेतृत्व गर्ने खालको टिमको नेतृत्व गरेर चोलेन्द्र बहादुर कार्की आउनु भएको छ । उहाँ बरिस्ठ उपाध्यक्ष पदको उम्मेदवार हो । र बिगतका अनुभवबाट पनि हामी अब खरिएर आएका छौँ । सबै जना यस क्षेत्रमा कम्तीमा २ दशक देखि लाग्नु भएको छ ।
तपाईले नै प्रथम उपाध्यक्षको उम्मेदवारी किन दिनु भयो ?
-म बिगत २ दशक देखि नेपालको पर्यटन क्षेत्रमा काम गर्दै आएको छु । मेरो कम्पनी ट्राभल टाइम ट्रेक दर्ता भएर संचालनमा आएकै १५ बर्ष बढी भयो । यहाँको पर्यटनका हरेक पाटोसँग म अवगत छु । मैले गाइडकै लेवलबाट कामको सुरुवात गरेको हुँ । र बिगत एक कार्यकाल केन्द्रिय सदस्यको भुमिकाको अनुभव पनि मसँग छ । यसै सिलसिलामा म धेरै देश घुमेको छु । त्यहाँको पर्यटनको अनुभव गर्ने अवसर पनि मैले पाएको छु; त्यसलाई यहाँ प्रयोग गर्ने प्रयास गर्ने छु । यस्तै नेपालको पर्यटनमा ठुलो परिमाणमा टेवा पुर्याउने एउटा मुख्य समुदाय तामाङ पनि हो । यहाँ रिमठिम स्थापना पनि भएको छ, जसमा तामाङ समुदायका पर्यटन व्यवसायीहरु आबद्ध हुनु हुन्छ । मैले पनि पर्यटनमा सामुहिक रुपले केही योगदान गर्न सक्छु भनेर उम्मेदवारी दिएको हुँ ।
टानमा तपाईको यस अघिको कार्यकालमा के कस्तो रह्यो त ?
-यस अघि चन्द्र रिजालजीको नेतृत्वमा हामी टानमा गएका थियौं । म त्यतिखेर केन्द्रिय सदस्य मनोनीत भएको थिए । मलाई पर्वतिय विभाग प्रमुखको जिम्मेवारी थियो । र अवस्था प्रतिकुल हुँदा हुँदै हामीले धेरै काम गरेका थियौं । हाम्रो कार्यकाल (२०१५-१७) अवधीमै भुकम्प गए थियो । त्यतिखेर नेपालको पर्यटन शन्यूमा पुगेको थियो । त्यसलाई पुनः स्थापित गरेर अगाडि बढने ठुलो चुनौती थियो हामीसित । उता लाङटाङ गाउँ सब भन्दा प्रभावित भयो, जहाँ ४०० मानिसको एकैसाथ मृत्युु भएको थियो । नेपाली देखि बिदेशी सम्म त्यसमा पर्नु भयो । मुख्य कुरा त्यो ठाउ जोडने बाटो खुलायौ । त्यहाँको पर्यटन जिवित गराउन पहिलो पटक काठमाडौं बाहिर ‘इंटरनेशनल टान म्याराथन’को आयोजना गर्यौ । ४८ किमि लामो सो दौड लाङटाङ गाउँ देखि केन्जिङ गुम्बा सम्मको थियो । त्यसले निकै सकारात्मक छाप छोडयो । हामी २०१७ मा टानबाट बिदा हुँदा छ सात लाख पर्यटक आई सकेका थिए ।
सन २०१५ मा अमेरिकामा ‘एडभेन्चर ट्राभल शो’आयोजना भएको थियो । हाम्रो टानबाट नेपालको प्रतिनिधित्व गर्ने ३ जालाई पठाउने कुरा हुँदाहुँदै पनि अरु साथीहरुको भिजा न आएपछि म एक्लै सहभागी भए । त्यहाँ बिशेष गरेर वृद्धहरूवाट नेपालका बारेमा निकै चासो पाए । मैले जाने बुझेको जति जानकारी गराए ।
यसैगरी धेरै काम हाम्रो कार्यकालमा भएको हो ।
जितेपछि के के गर्नु हुन्छ ?
-हाम्रो पम्फलेटमा धेरै गर्नु पर्ने कुराहरू राखिएका छन, हामी त्यसरी नै जाने छौँ । अहिले पर्यटनमा पनि कतिपय समस्याहरु छन । एकरुपता आवश्यक छ । यहाँनेर मेरो आफ्नो चासो पनि भएको साहसिक पर्यटन अन्तर्गत ‘ग्रेट हिमालयन ट्रेल’हो जुन १० भागमा विभाजन गरिएको छ । यसमा चाहिँ अलि बढी जोखिम हुन्छ । उनीहरु मोटर बाटो कम प्रयोग गर्न खोजछन । यो साहसिक तथा कठिन यात्रा पनि हो । तर अहिले नेपाललाई बाटे बाटोको देश भन्न थालिएको छ । विकासको नाममा यो खासमा विनास हो । पर्यटक कतिपय ठाउँमा जङ्गलका बिचबाट कठिन भन्दा कठिन यात्रा पार गर्दै गन्तव्यमा पुग्न रुचाउँछन । हामीले कतिपय ठाउँमा पक्की बाटो न बनाउन पनि अनुरोध गरेका छौँ । तर सुनुवाई हुँदैन । बिदेशी पर्यटक सधै हिड्ने गन्तव्यमा मोटर बाटो बनेको देखेपछि निरास हुन्छन किन भने उनीहरुलाई त्यो आनन्द आउदैन । पर्यटकलाई खुसी बनाए मात्र उनीहरु फेरि फेरि आउने हुन । उनीहरु सुरक्षित र सन्तुष्ट भए भने जिउँको ज्याकेट समेत फुकालेर दिन्छन । हामीले अतिथि सत्कार गर्न जान्नु पर्छ ।
अर्को कुरा नेपालमा आउने पर्यटकहरुको संख्या चित्त बुझदो छैन । त्यसमा पनि गुणात्मक पर्यटनको कुरा छ । राज्यले पर्यटनबाट धेरै कर उठाउछ तर हामीलाई खासै सुविधा छैन । त्यस विषयमा पनि हामी गम्भीरतापुर्वक लाग्ने छौँ । यस्ता धेरै कुराहरु छन हामीले गर्नु पर्ने । नेपालको पर्यटन क्षेत्रमा व्यवसायीक र केही गरौँ भन्ने मान्छेको खाचो छ !
तपाईको अविस्मरणीय क्षण छ कुनै ?
-सन २०१५ एपरिलमा भुकम्प गएको बेला, म सगरमाथा आधार सिविरमै थिए । झोला बोकेर १० मिनेट अघि मात्र म अलिकति तल झरेको थिए कि भुकम्प गयो । त्यस दिन हिम पहिरोमा परी हाम्रा ७ जना साथीहरू बिते । कतिपय बिदेशी र केही मेरो कम्पनीका कर्मचारी थिए । केही समय पछि माथी गएको त रगतै रगत देखे । मेरो टेण्ट २ दिन पछि मात्र भेटियो । मेरो एउटा बानी के छ भने म टेण्टको जिप्पर सधै लगाउछ । त्यसदिन पनि लगाएको कारणले मेरो सबै समान त्यही भेटियो तर ल्यापटप, क्यामेरा लगायतका सामानहरु टुक्राटुक्रा परेका थिए । मैले अझै पनि सम्हालेर राखेको छु ।