भाद्र ७ शुक्रबार,२०८१/काठमाडौ-
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
केही समयअघि बंगलादेशमा घटेको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटका क्रममा उनले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका हुन ।
यसैक्रममा उनले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर चासो व्यक्त गरेका थिए ।
जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रीपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिए ।
सो क्रममा विद्यार्थीहरुले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र बिशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउदै उनीहरुले आफूहरु रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताएका थिए ।
केही विद्यार्थी निरास भएर फर्कन थालेको जानकारी दिदै उनीहरूले भारत र अन्य देशमा पनि यस्तो व्यवस्था रहेको स्मरण गराएका थिए ।