
भाद्र १० सोमबार,२०८१/काठमाडौं-
(ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को आसन्न निर्वाचनमा सागर पाण्डेको नेतृत्वमा केन्द्रिय सदस्यका उम्मेदवार अम्बिर गुरुङसँग गरिएको छोटो कुराकानी)
पर्यटन क्षेत्रमा कहिले देखि आबद्ध हुनु भयो ?
-द्वन्द्वकालमा राजनीतिमा जोडिएको कारणले असहज वातावरण सृजना भएको थियो । मेरो आफ्नो जिल्ला रसुवा भए पनि मेरो कर्म थलो नुवाकोट बनेको थियो । नेता पोस्ट बहादुर बोगटीले अध्यापन गरेको चन्द्रेश्वोरी बिद्यालयमा मैले पनि ११ बर्ष जति पढाए । तर प्रशासनबाट ममाथि निगरानी बढन थालेपछि म काठमाडौं आए । काठमाडौंमा मेरो कोहि थिएन । ३ महिना जति काठमाडौंको गल्ली गल्लीमा कामको खोजीमा भौतारिएर हिड्ने काम भयो । होटेल मुनलाइटमा सेक्युरिटी गार्डको काम पाए । पछि नयाँ साथीहरू बन्दै गए र धेरैले तिम्रो अङ्ग्रेजी राम्रो छ, पढेका छौ ट्रेकिङ कम्पनीमा काम खोज भने । त्यसपछि २०५६ मा मैले चर्चित पर्यटन व्यवसायी हरी धरेलको हाईल्यान्डर ट्रेकिङमा भरियाको रुपमा यस क्षेत्रमा प्रवेश गरे । त्यो काम मैले १ बर्ष पनि गर्नु परेन । एक पटक एउटा बिदेशी जोडीले मेरो काम मन पराएर अफिसको किताबमा ‘अम्बिरको काम धेरै राम्रो लाग्यो, उनी त गाइड भन्दा राम्रो अङ्ग्रेजी बोल्छन र केर पनि गर्छन;यस्तो मान्छेलाई किन गाइड न बनाएको’ भनेर लेखेछन । त्यसपछि म गाइड बने ! त्यसक्रममा म पहिलो पटक पोखरा गए । त्यहाँ ६ जना पर्यटक लिएर घोरेपानी ७ दिन घुमाए । मेरो तलब बढेर एक हजार पुग्यो । लगत्तै २१ जनाको डेनीस डाक्टर इन्जिनियरहरुको टिमलाई पनि घुमाए । अनि सन १९९९ मा लाइसेन्स पनि लिए ।
कति पढ्नु भएको छ ?
-मैले एमएड र एलएलबी गरेको छु । एसएलसी दिने बित्तिकै नुवाकोटमा शिक्षकको काम पाएको थिए ।
अनि कम्पनी कहिले दर्ता गर्नु भयो ?
-२०५६ देखि २०६३ सम्म गाइड नै भएर काम गरे । त्यसपछि मैले आफ्नै ट्रेकिङ कम्पनी आई ट्रेक दर्ता गरे । अहिले २०७० देखि मैले कष्टम ट्रेक चलाई रहेको छु । यसबिच मैले धेरै हन्डर पनि खाए ।

यहाँ टानको केन्द्रिय सदस्य किन बन्ने ?
-खासमा मैले उम्मेदवारी दिने विषयमा सोचेको थिइनँ । तर साथी भाईहरुले विश्वास र माया गरे । तपाईं यति पुरानो मान्छे उठनु हामी साथ दिन्छौं भनेपछि टान प्रवेश गर्ने सोच बनाएको छु ।
जितेपछि के गर्नु हुन्छ त ?
-मेरो जिम्मेवारी सानो होला तर मेरो अनुभव र क्षमता प्रयोग गर्नेमा कुनै कन्जुस्याइँ गर्ने छैन । मैले जीरोबाट सुरु गरेको हुँ, त्यसैले साना लगानीका पर्यटन व्यवसायीहरुको पक्षमा म उभिने छु । मैले युवा तथा नयाँ व्यवसायीहरूको हितमा पहल गर्ने छु । र हाम्रो प्यानलको २२ बुदे घोषणा पत्रलाई आधार मानेर अगाडि बढने छौँ । त्यसैगरी पर्यटनमा एक द्वार नितीका लागि पनि वकालत गर्ने छु । अहिले हामी पर्यटन मन्त्रालयसँग मात्र जोडिएका छैनौं । बन, गृह, परराष्ट्र यी सबै मन्त्रालय धाउनु पर्छ । त्यसैले यहाँनेर एक द्वार नीति जरुरी छ । हाम्रो सरोकारवाला मन्त्रालयमै यो सबै सेवा उपलब्ध गराइनु पर्छ ।
यस अघि केमा आबद्ध हुनु हुन्थ्यो ?
-म गुरुङ पर्यटन व्यवसायी संघको निवर्तमान अध्यक्ष हुँ । यस संगठनको म संस्थापक सदस्य,उपाध्यक्ष हुँदै अध्यक्ष बनेको थिए । यसैगरी म रसुवा नुवाकोट पर्यटन व्यवसायी समाजको संस्थापक सचीव, उपाध्यक्ष हुँदै हाल सल्लाहकार छु ।
जीतका लागि शुभकामना !
-धन्यवाद !
प्रतिक्रिया दिनुहोस्