वैदेशिक रोजगारीमा रहेका महिला तथा युवाहरुका लागि एउटा उदाहरण बन्न चाहान्छु: सृष्टि भण्डारी, टान निर्वाचन महिला उम्मेदवार

अन्तर्वार्ता पर्यटन राजनीति समाचार


भाद्र १३ बुधबार,२०८१/काठमाडौं-

कास्की, अन्नपूर्ण–२, ढिकुरपोखरीकी पर्यटन व्यवसायी सृष्टि भण्डारी लामो समयदेखि पर्यटन व्यवसाय क्षेत्रमा आवद्ध छिन । भण्डारीले ६,४७६ मिटरको मेरा पिक हिमालयको यात्रा गरि सकेकी । आसन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन सागर पाण्डे समूहबाट एक मात्र महिला सदस्यका रुपमा उम्मेदवारी दिएकी छिन । टान निर्वाचनमा केन्द्रित रहेर उनीसँग पुष्पा महराले गरेको कुराकानीको अंश ।

पर्यटन क्षेत्रमा कसरी आउनु भयो ?
-मेरो बाबा बोधराज भण्डारी झण्डै तीन दशक अघिदेखि नै यही क्षेत्रमा हुनुहुन्छ । मैले थाहा पाउने बेला देखि उहाँ पर्यटन व्यवसाय प्रबर्द्धनमा लागेकाले मलाई पनि यस क्षेत्रप्रतिको रुची बढ्दै गयो । उच्चशिक्षा सकिएपछि बाबालाई सहयोग गर्न आंशिक समयमा काम गर्न थाले र विस्तारै यसै क्षेत्रमा आवद्ध हुँदै गए । मेरो रुची र लगाव देखेर बाबाले मलाई आफ्नै कम्पनी स्नोवी होराइजन ट्रेक्स एन्ड एक्सपीडिशनमा पार्टनरको रुपमा उभ्याउनुभयो,जुन अहिले सम्म निरन्तर छ ।

टानको निर्वाचनका लागि उम्मेदवारी दिने सोच कसरी आयो ?
-महिला अझ त्यो पनि मेरो उमेर समूहका महिलाहरु पर्यटन क्षेत्रमा खासै पाइँदैन । मेरो उमेर समूहका महिला तथा युवाहरु नै वैदेशिक यात्रामा गएको मैले धेरै देखेकी छु । नेपालमा अवसर छैन भन्दै विदेश भासिनेहरुका लागि म एउटा उदाहरण बन्न चाहान्छु । उमेरले २८ वर्ष लागेर पनि म नेपालमै बसेर पर्यटनकै क्षेत्रमा केही गर्ने सोच र योजनासहित टानमा उम्मेदवारी दिएकी हुँ ।

ट्रेकिङ व्यवसायमा महिलाको संख्या न्यून छ त ?
-हो यहाँ महिलाको संख्या कम भएको हुनाले नै मैले उम्मेदवारी दिएकी हुँ । हाम्रो प्यानलमा मसहित महिला हामी दुई जना छौं । दुईबाट चार, चारबाट आठ जना गर्दै यस क्षेत्रमा महिलाको संख्या बढाउन सकियोस भनेर म लागेकी हुँ । महिलाले यो क्षेत्रमा अगाडि बढ्न सक्दैन भन्ने आमधारणालाई चुनौती दिदै ‘हामी गर्न सक्छौं’ भन्ने उदाहरण बन्न चाहान्छु । नेपालमा पर्यटन क्षेत्र देश विकासको दरिलो खम्बा हो । त्यसैले यस क्षेत्रलाई निरन्तरता दिनेछु ।

चुनावी मैदानमा उत्रिनु भएको छ, कस्तो अनुभुती छ त ?
-म लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको भएपनि चुनावी मैदानमा होमिएको भने पहिलो पल्ट हो । त्यसैले अहिलेसम्म मानिसहरु भेटघाटमै व्यस्त छु ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ नी ?
-कुराकानी भइरहेको छ । भेटघाट तीव्र छ । उहाँहरुले निर्वाचनमा मलाई भोट दिएर जिताउनुहुनेछ भन्नेमा विश्वस्त छु ।

पार्टीगत हिसावले तपाईहरु भन्दा विपक्षी प्यानल नै बलियो छ कि ?
-मलाई त्यस्तो लाग्दैन । उहाँहरु पनि व्यवसायी नै हुनुहुन्छ । तर हामीसँग आम व्यवसायी देखि मजदुर सम्म जोडिएका मजबुत एजेन्डा छन । हामीहरु जुनसुकै पार्टीमा आस्था राखेपनि टानको निर्वाचन भनेको नितान्त व्यवसायीहरुको निर्वाचन हो । त्यसैले पार्टीगत हिसावले हारजीत हुनेछैन भन्नेमा विश्वस्त छु ।

जित्नुभयो भने यो क्षेत्रमा सुधारका लागि के कस्ता योजना छन त ?
-टानमै पनि समस्या छ । गाइडको ट्रेनिङमा हुने गरेको समस्या ‘क्वालिटीमा भन्दा क्वान्टीटी’लाई प्राथमिकता दिने गरेको पाइन्छ । गाइडको संख्या पुगेन भन्ने वार्षिक पाँच सयसम्मलाई ट्रेनिङदिने प्रमाणपत्र हातमा थम्याइदिएपछि उ व्यरोजगार बन्छ । किनभने महिनादिन गाइडको ट्रेनिङले उ योग्य गाइड बन्न सक्दैन । औपचारिकता मात्रै पूरा भएको देखिन्छ । मैले पनि यो ट्रेनिङ लिएको हुनाले यसलाई आवश्यकता अनुसार आर्थिक थप गरी ट्रेनिङलाई औपचारिकता भन्दा पनि आवश्यकाको रुपमा अगाडि लौजानु उचित हुनेछ । त्यस्तै यो क्षेत्रमा महिलाहरुको संख्या निकै न्यून भएकाले सक्रिय महिलाको संख्या बढाउनु पनि ठूलो चुनौतिको विषय बनेको छ । जुन आवश्यकता पनि हो ।

पर्यटन प्रवद्र्धनका लागि राज्यबाट के अपेक्षा राख्नु भएको छ ?
-राज्यले चाह्यो भने धेरे ठूलो कायापलट गर्न सक्छ । अझ पर्यटन व्यवसाय भनेको देश विकासको खम्बा भएकाले राज्यले केही ध्यान दिएमा यो व्यवसाय निकै सफल हुने विश्वास मैले लिएको छु । मोवाइलबाट १० रुपैयाँ ट्रान्सफल गर्दा ट्याक्स काट्ने सरकारले हवाई उडानमा १३% भ्याट लगाई दिएको छ । त्यसले गर्दा अनलाइनमा उल्लेख गरेअनुसार पाउने टिकेट भन्दा हामी एजेन्सीले बेच्ने टिकेट निकै महंगो पर्न जान्छ । यसले गर्दा हाम्रो व्यवसायमा नै बाधक भएको छ । यतातिर राज्यले हेरिदिए हुनेथियो भन्ने लाग्छ । यस्ता धेरै कुरामा राज्य उदासीन देखिन्छ ।

यसअघि यहाँ कुनै जिम्मेवारीमा हुनुहुन्थ्यो ?
-यसअघि म गाउँ पर्यटन प्रबर्द्धन मंच नेपाल (भिटोफ) नेपालमा आवद्ध थिए । भिटोफ नेपालको कार्यकारी सदस्यको रुपमा क्रियाशील थिए ।

भोटरहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?
-यस पटकको निर्वाचनमा ‘हाम्रालाई होइन राम्रालाई जिताउनुहोला’ भन्ने अपिल गर्न चाहन्छु । कुनै पार्टी वा पूर्वाग्रहको तरिकाले नभई काम गर्न सक्छ भन्नेलाई मात्रै भोट दिएर निर्वाचनमा जिताउनु हुन अनुरोध गर्दछु । टानको नेतृत्वमा राम्रो मान्छे पुग्न सफल हुँदा समग्र पर्यटन व्यवसाय नै सफल हुनेछ । त्यसैले यो कुरालाई भोटरहरुले ध्यान दिन जरुरी छ ।