मुकुल ढकालद्वारा पुनः महामन्त्रीको जिम्मेवारीमा फर्किन पुनरावेदन

राजनीति समाचार

भाद्र १६ आइतबार,२०८१/काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बन गरिएका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुनः जिम्मेवारीमा फर्किन पुनरावेदन गरेका छन् ।
आइतबार उनले आफ्नो पार्टीगत महामन्त्रीको जिम्मेवारीमा फर्किन पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जनाएका छन ।

महामन्त्री पदबाट मुक्त गरिएको ३५ औँ दिनमा आज आफुले पुनरावेदन गरेको ढकालले बताए ।

“ब्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट मलाई कारबाही गरिएको हो । साधारण सदस्य भन्दा पनि महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१–०३-२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ,” उनले दाबी गरेका छन ।
पेशाले डाक्टर उनको पार्टी अध्यक्ष रवी लामीछाने, स्वर्निम वाग्ले लगायतका स्वतन्त्र पार्टीका नेताहरुसँग पछिल्लो समय सम्बन्ध चिसिएपछि उनलाई कार्वाही गरिएको हो ।