किसानको उत्पादनको व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो: ईन्द्र बहादुर थिङ, अध्यक्ष- खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक

अन्तर्वार्ता अर्थ राजनीति समाचार

(‘छ प्रश्न’का लागि पुष्पा महरासँग गरेको कुराकानीको अंशः)
भाद्र २५ मंगलबार,२०८१/खानीखोला-

खानीखोला गाउँपालिकाका बारेमा केही बताइदिनुस् न ?
-काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलदेखि दक्षिणमा अवस्थित दुर्गम गाउँपालिका हो खानीखोला गाउँपालिका । भौतिक तथा सडक पूर्वाधारका हिसावले अझैसम्म यो पालिका सदरमुकामसम्म व्यवस्थित ढंगले जोडिन सकेको छैन । पुराना पाँच वटा गाविस मिलेर बनेको यस पालिका प्राकृतिक र भौगोलिका हिसावबाट पनि विकट रहेको छ ।

अध्यक्ष भएपछि पालिकाका लागि गर्नुभएका महत्वपूर्ण कार्यहरु के छन ?
-खानीखोला गाउँपालिका दुर्गम गाउँपालिका भएकाले यस पालिकालाई कसरी सुगममा परिवर्तन गर्न सकिन्छ भनेर हामीले अहोरात्र प्रयास गरिराखेका छौं । हामीले यहाँको सडकलाई सदरमुकाम धुलिखेलसँग भन्दा पनि प्रदेश राजधानी हेटौडासम्म जोड्नसके जनतालाई थप सहज हुने ठहर गरी यस कार्यलाई अगाडि बढाएका छौं । प्रदेश राजधानी हेटौडादेखि यस पालिकाको तालढुंगा जोड्ने गरी सडक कालोपत्रे गर्दैछौं । काम सुरु भइसकेकाले मेरो कार्यकालभित्रमा काम सम्पन्न गर्ने लक्ष्य छ ।

खानीखोलामा पर्यटनको सम्भावना कस्तो छ ? पर्यटन प्रवद्र्धनका लागि आधारहरु के के छन् ?
-अन्यत्रका पालिकाहरु जस्तै यस पालिका पनि प्राकृतिक रुपमा धनी छ । पर्यटनको सम्भावना पनि अथाह छ । तर यहाँ भौतिक तथा यातायात पूर्वाधारहरुको अभावका कारण हामीले यसलाई अगाडि बढाउन सकेका छैनौं । राजधानी काठमाडौंबाट नजिक भएर पनि यो पालिकामा पुग्नका लागि जिल्ला सदरमुकाम धुलिखेलबाट दुई दिन पैदल हिँडेर मात्रै पुग्न सकिन्छ । झण्डै ७० कि.मी. कच्ची सडक भएका कारण यहाँ सवारी आवगमनमा निकै समस्या छ । हामीले यस पालिकालाई अन्य पालिकासरह सुगम बनाउनका लागि प्रयासरत छौं ।
उन्नत कृषिका लागि किसानलाई कस्तो सहयोग गर्नुभएको छ ?
हामीले यस पालिकामा कृषि उत्पादनलाई अगाडि बढाउने गरी काम गरिरहेका छौं । कृषिमा आत्मनिर्भरता, दुग्धजन्य पदार्थको विक्री वितरण तथा कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले सहयोग गर्दै आएका छ । वार्षिक झण्डै ७० टनसम्म कफी उत्पादन हुने यस क्षेत्रका कफी उत्पादक कृषकहरुका लागि ‘जसको उत्पादन उसलाई अनुदान’ भन्ने कार्यक्रम नै ल्याएका छौं । जसमार्फत कृषकलाई अनुदान दिने गर्दछौं ।
साम्यवादी तथा समाजवादी जुनसुकै सरकार आएपनि सरकारले बजार दिन सक्यो भने जनताले उत्पादन गरेको बस्तुले मूल्य पाउछ । सोही कुरालाई ध्यानमा राख्दै हामीले पनि ‘स्थानीय उत्पादन खरिद–विक्री केन्द्र’को स्थापना गरेका छौं । सो केन्द्रले किसानका उत्पादित बस्तुहरुलाई बजारसम्म लैजाने काम गर्छ । किसानको उत्पादनको व्यवस्थापनको जिम हाम्रो हो । हाललाई सडक समस्या कारण केही कठिन भएपनि यो समस्या आगामी एक डेढ वर्षसम्ममा समाधान हुने लक्ष्य राखेर काम गर्दैछौं । यसबाट खानीखोलाका जनताको आर्थिक अवस्था सुधार हुने निश्चित छ ।

पालिकाले महिला, जेष्ठ नागरिक र बालबालिकाका लागि के कस्ता कामहरु गरेको छ ?
-जेष्ठ नागरिकहरुका लागि केही समयअघि हामीले उहाँहरुको आवश्यकता अनुसार लौरो र छाता वितरण गरेका थियौं । त्यस्तै यस पालिकाका महिलाहरुका लागि सीप विकासको तालिम प्रदान गरेका थियौं । अचार बनाउने देखि कसरी आर्थिक स्तर बलियो बनाउनेसम्मको तालिम दिएका थियौं । त्यस्तै कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने हेतुले असहाय बालबालिका लागि आवासीय शिक्षालयको व्यवस्थापन गरेका छौं । त्यस्तै पहरी, माझी, दनुहारलगायतका अल्पसंख्यक जातीका बालबालिकाहरुका लागि छात्रवृत्तिको व्यवस्थापन पनि गरेका छौं ।

तपाईका आगामी योजनाहरु के के छन् त ?
-हाम्रो मुख्य योजना भनेकै अझैसम्म विकट मानिएको यस खानीखोला गाउँपालिकालाई समृद्ध बनाउने हो । हामी त्यसैको आधार निर्माण लागि अहोरात्र काम गरिरहेका छौं । त्यस्तै यहाँका जनताको आर्थिक अवस्था माथि उकास्नका लागि कृषि नै पहिलो प्राथमिकता भएकाले जनताले उत्पादन गर्न छोड्नु हुँदैन र उत्पादित वस्तुको व्यवस्थापन सरकारले गरिदिनुपर्छ भनि हामी अघि बढीरहेका छौं । त्यस्तै हामी यस पालिकामा एउटा बहुमुखी क्याम्पसको स्थापना गर्ने योजनामा छौं । त्यस्तै सबै विद्यालयहरुमा डिजिटल सिकाइलाई व्यवस्थित गरी यहाँको शैक्षिक स्तर माथि उकास्न प्रयासरत छौं । गाउँपालिका केन्द्रलाई बीपी राजमार्ग, अरनीको राजमार्गलगायत मूल सडकसँग जोड्ने सडकमा कालोपत्रे गर्ने तयारीमा छौं । त्यस्तै एउटा आधारभूत अस्पताल संचालनको तयारीमा छौं । सबै वडा केन्द्रहरुसम्म सवारी सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौं ।