रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको दुर्घटनामा मृत्युु !

राजनीति समाचार


(मृतक भुपेन्द्रा बुढा आमासँग आफ्नो कार्यकक्षमा)
भाद्र २८ शुक्रबार,२०८१/बागलुङ-
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको बागलुङको गलकोटमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रवार बिहान ८:३० बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी काठमाडौंबाट रुकुम पुर्व जाने क्रममा बागलुङको गलकोट नगरपालिका-२ स्थित भुङखानीमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढा, उनकी आमा गोपीमाया बुढा पालिकाकै २ नम्बर वडाका अध्यक्ष जस बहादुर श्रीपायलीको मृत्यु हुनुका साथै चालक गम्भीर घाइते भए बागलुङ प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदीले जानकारी गराए ।

सुबेदीका अनुसार मृतकहरुको शव गलकोटस्थित अस्पतालमा राखिएको छ भने घाइते चालकको उपचार भई रहेको छ ।

मृतक बुढा र श्रीपायलीले नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचन जितेका थिए । बुढाका बुवा कृष्ण बहादुर बुढा त्यस छेत्रमा कम्युनिस्ट बिचारधारा बिजारोपन गर्ने नेता थिए । उनको केही बर्ष अघि क्यान्सरबाट मृत्युु भएको थियो ।

समाजसेवामा निकै समय दिने र सामाजिक संजालना निकै सकृय भुपेन्द्रा बेला बखत आफै गाडी चलाउने पनि गर्थिन । केही दिन अघि मात्र उनी शी लिडस आइकन अन्तर्गत २७ महिला जनप्रतिनिधिहरुको सुचीमा पर्न सफल भएकी थिइन ।

मृतक बुढा केही समय अघि आफ्नी आमालाई लिएर काठमाडौं गएकी थिइन । उनको एक छोरा छन ।

गम्भीर घाइते चालकलाई दिउँसो बल्ल होश आएको छ ।

मृतकहरुको शव काठमाडौं ल्याएर अन्तिम संस्कार गर्ने बताइएको छ ।