भाद्र ३१ सोमबार,२०८१/काठमाडौं-
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकहरूको अचल सम्पत्ति रोक्का गर्ने र बिदेश यात्रामा पनि रोक लगाउन सिफारिस गरेको छ ।
संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधि सभा बैठकमा पेश गरेको प्रतिवेदनमा समस्याग्रस्त सहकारीका सञ्चालकहरुलाई कडाई गरि पीडितलाई न्याय दिन विभिन्न ठोस कुरा सुझाएको हो ।
सोही क्रममा समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैंक खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य कार्यालय रहेको सहरबाहेक बाहिर जानुपर्दा सरकारको सम्बन्धित निकायको अनुमति लिनुपर्ने,नियमित कार्यालय खोल्नुपर्ने,सेटलमेन्टका लागि निश्चित अवधि तोक्ने,अवधिभित्र पूर्ण समाधान हुन नसकेमा पुनः कानुनी कारबाहीमा जानु पर्ने लगायतका सुझाव संसदीय समितिले बुझाएकोप्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी सूर्य थापा सभापति रहेको संसदीय समितिले दिएको प्रतिवेदनमा समस्याग्रस्त घोषणा भइसकेका सहकारी पुनः सञ्चालनमा आउन सक्ने सम्भावना क्षीण रहेको बताइएको छ ।
साथै अचल सम्पत्तिलाई चलमा परिणत गर्ने (बेचबिखन गर्ने), निक्षेपकर्ताको प्राथमिकता र उपलब्ध सम्पत्तिको आधारमा फिर्ता गर्ने रकमको अनुपात निर्धारण गर्ने लगायतको व्यवस्था गर्न पनि उल्लेख गरेको छ ।
सोका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सकृय बनाई
प्रत्येक सहकारीका लागि डेडिकेटेड टिम परिचालन गर्न समेत सिमितिले सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्