माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु




असोज २ बुधबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

सोमबार बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको उल्लेख गरे । आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिंदै उनले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताए ।

‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ’– उनले भने– ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’
त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने जानकारी गराए ।

अब केही दिन र महिनाका लागि भन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उनले सल्लाहकार र अग्रजहरुलाई आफूले देखेका र भोगेका अनुभवसहित परापमर्श दिन आग्रह गरे ।

बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

अब प्रवास प्रदेश अन्तर्गतको अमेरिका र यूरोप संगठन समितिको बैठक बाँकी रहेको छ । परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार
अरु पनि पढ्नुहोस्