
असोज ३ बिहीवार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न अपिल गरेका छन ।
संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा बिहीवार अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बेथिति विरुद्ध थालेको नयाँ अभियानमा सहभागी हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका हुन ।
प्रचण्डले सो अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गरे ।
उनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपुर्याउने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
यसैगरी उनले बेपत्ता यौद्धा, घाइते तथा अपाङ्ग लगायत सम्पूर्ण गणतान्त्रिक यौद्धाहरुप्रति उच्च सम्मान पनि व्यक्त गरे ।

“हामी इतिहासको निकै चुनौतीपूर्ण र अवसरयुक्त मोडबाट गुज्रिरहेका छौं । यतिबेला हामीले संविधान दिवस मनाउनुको अर्थ सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोंचका विरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्नु हो,” उनले भने,”संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ । यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो ।”
साथै उनले जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने बताए ।
पार्टीको केन्द्रिय कार्यालय कोटेश्वरमा रहेको सहिद स्मारकमा आज बिहान अध्यक्ष प्रचण्ड लगायत नेताहरुले माल्यार्पण पनि गरेका थिए ।
