लेबननमा इजरेलले गरेका भीषण हवाई हमलामा कम्तीमा ४९२ जनाको मृत्युु !

राजनीति विश्व समाचार

असोज ८ मंगलबार २०८१/लेबनन-
लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरेलले गरेका भीषण र व्यापक हवाई हमलामा परेर कम्तीमा ४९२ जना मानिसहरू मारिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन ।

झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ ।

हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरेलले जनाएको छ ।

त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरेली सेनाले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटनका भग्नावशेष लागेर दुई जना मानिसहरू घाइते भएका छन् ।

दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिईरहँदा विश्व शक्तिहरूले उनीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

लेबननमा निकै प्रभावशाली हिज्बुल्लाह के हो
हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन । अन्य १,६४५ जना घाइते अवस्थामा छन ।

उसले हताहत हुने सर्वसाधारण र लडाकुहरू छुट्याइएको विवरण दिएको छैन ।

चिन्ता
लेबननका स्वास्थ्यमन्त्री फिरास अबियादले हमलाका कारण हजारौँ परिवार विस्थापित भएको बताएका छन ।

सीमापार लडाइँबाट भाग्न खोजेका सर्वसाधारणको भिडले सोमवार उत्तरी क्षेत्र जोड्ने सडकमा गाडीहरूको ठूलो जाम देखा परेको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले चर्कँदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनन “अर्को गाजा बनेको” देख्न नचाहेको बताएका छन् ।

राष्ट्रसङ्घमा विश्व नेताका भेलाअघि बोलेका युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले अवस्था “चर्कनु निकै नै खतरनाक र चिन्ताजनक” रहेको बताए ।

उनले थपे: “हामी लगभग एउटा पूर्ण आकारको युद्धमा छौँ।”

इजरेल र लेबननको ‘ब्लू लाइन’मा तैनाथ नेपाली : ‘अचेलको अवस्था खतरनाक, हाम्रो काम झन् झन् कठीन’

राष्ट्रपति जो बाइडनले “मानिसहरू घर फर्कन पाउन सक्ने गरी अवस्था मत्थर पार्न” अमेरिका लागिपरेको बताएका छन् ।

यसैसाता राष्ट्रसङ्घीय महासभामा लेबननको सङ्कट अन्त्य गर्ने गरी ठोस योजना प्रस्तुत गरिने बाइडन प्रशासनले जनाएको छ ।

पेन्टागनले “सावधानी स्वरूप” मध्यपूर्वमा “सानो सङ्ख्यामा” अतिरिक्त फौज पठाउने घोषणा गरेको छ ।

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरेल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ । जसमा मारिने सयौँ मानिसहरूमध्ये अधिकांश हिज्बुल्लाह लडाकु छन् ।

दुवैतर्फ दशौँ हजार मानिस विस्थापित अवस्थामा छन् ।

‘भयानक’
लेबननी सञ्चारमाध्यमहरूका अनुसार इजरेली हवाई हमलाको पहिलो लहर सोमवार सबेरै ६:३० बजेतिरबाट सुरु भएको थियो ।

“त्यो भयानक थियो, मिसाइलहरू हाम्रो शिरमाथिबाटै उडे। हामी बम पड्किएको सुनेर उठ्यौँ, हामीले यस्तो होला भन्ने ठानेका थिएनौँ,” एक महिलाले भनिन ।

दिनभरजसो दक्षिणी लेबननका दर्जनौँ सहर, गाउँ र खुला ठाउँ निशानामा परे। पूर्वी बेका उपत्यकाका तीन वटा जिल्लामा समेत हमला गरिएको सरकारी समाचार संस्था एनएनएले जनाएको छ ।

लेबननी अधिकारीहरूले अधिकांश सर्वसाधारणका ठाउँलाई निशानामा पारिएको बताएका छन् ।

इजरेली सेनाका अनुसार उत्तरी सहर हाइफा र आसपासमा हिज्बुल्लाहका रकेटका कारण झन्डै १० लाख मानिसहरू आश्रय स्थलमा शरण लिइरहेका छन् ।

हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमापार हमलाहरू रोक्ने जनाएको छ।

इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरेल, यूके र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन् ।
Source: BBC