असोज ९ बुधबार,२०८१/उदयपुर-
वि.सं. २०७९ को निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट विजयी बनेका रौतामाई गाउँपालिका, उदयपुरका अध्यक्ष वीरेन्द्र कुमार मगर जनताको सेवामा अहोरात्र खटि रहने नेतामा पर्दछन । मगर शिक्षण पेशा गर्दै राजनीतिमा होमिएका हुन । उनको सफलताको सुरुवात भने वि.सं.२०७४ को स्थानीय निर्वाचनको पराजयबाट भएको थियो । ६ वटा गाविसलाई गावेर बनेको रौतामाई पालिकामा हाल ८ वटा वडाहरु रहेका छन् । जनतासँग रमाउने उनी अध्यक्ष भएपछि आफ्नो काँधमा ठुलो जिम्मेवारी थप भएको महशुस गरेको बताउँछन् ।
अध्यक्ष वीरेन्द्र कुमार मगरसँग पुष्पा महराले ‘छ प्रश्न’ कालागि गरेको कुराकानीको सम्पादित अंशः
१.पालिका अध्यक्ष हुनुभएपछि गर्नुभएका उल्लेख्य कामहरु के के छन त ?
-नेपालको राजधानी काठमाडौंबाट निकै टाढा रहेको रौतामाई नगरपालिकामा राज्यको सिधा नजर परेको देखिँदैन । यस पालिकाका लागि संघले वित्तीय अर्थात बजेट निकै कम पारिदिएको छ । संघबाट पैसा निकै कम छुट्याइएका कारण हाम्रो योजना लक्ष्य अनुसार काम गर्न निकै मुस्किल भएको छ । हामीले यहाँको शैक्षिक स्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढि रहेका छौं । जनताको हरेक दुख सुखमा हामी सहभागी भएका छौ ।
२.शैक्षिक विकासका लागि के कस्ता कामहरु गर्नुभएको छ ?
-हामीले यस पालिकामा शैक्षिक स्तर उन्नतीलाई नै पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छौं । वि.सं. २०८० देखि २०९० सम्मका लागि १० वर्षे गाउँ शिक्षा योजना बनाएका छौं । कक्षा ११÷१२ मा गणित र विज्ञान पढ्ने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कार तथा सम्मान गर्ने गरेका छौं । ५१ वटा विभिन्न सूचक राखी हरेक विद्यालयहरुसँग हामीले करार सम्झौता गरेका छौं । विद्यालयलाई कसरी नियमित पठन पाठनमा सुधार गर्न सकिन्छ भनी विभिन्न निकायहरुसँग छलफल गर्दै अघि बढी रहेका छौं । त्यस्तै भोग चलन गर्दै आएका यहाँका अधिकांश ऐलानी जग्गाहरुलाई नम्बरी गर्ने गरी राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी अगाडि बढीरहेका छौं । वास्तविक सुकुम्बासीलाई जमिन हस्तान्तरण गर्ने अन्तिम चरणमा छौं । उता संघमा भूमि आयोगको विघटनले अन्तिम चरणमा पुगेको यहाँको काम भने रोकिएको छ ।
३.यस पालिकामा पर्यटन क्षेत्रको अवस्था कस्तो छ र यसको विकासका लागि के गर्न सकिन्छ ?
-यो पालिका मात्रै होइन, सिंगो नेपाल नै प्रकृतिक छटाले भरिएको छ । यस पालिकामा पनि पर्यटन विकासका लागि धेरै सम्भावनाहरु छन् । तर सम्भावनासँग आर्थिक पाटो जोडिने भएकाले आर्थिक अभावका कारण ति सम्भावनाहरु गौण बनेका छन् । कलकारखाना, उद्योग धन्दाहरु चल्ने खालको स्थिती नभएपनि कृषि उत्पादनको प्रचुर सम्भावना रहेको छ । पालिकाभित्रका सबै वडाहरुमा कृषि उत्पादनका लागि महत्व दिइएकाले नगदे तथा खाद्यान्न बाली उत्पादनका लागि ज्यादै सम्भावनाहरु छन् ।
४.उन्नत कृषि विकासका लागि किसानहरुलाई पालिकाको तर्फबाट के कस्ता सहयोगहरु भएको छ ?
-यो क्षेत्र नै कृषि उत्पादनका लागि प्रचुर सम्भावना भएकाले कृषकहरुलाई सहयोगार्थ हामीले विउ विजन वितरणदेखि जोत्नका लागि ट्याक्टरसम्मको व्यवस्था पालिकाले गर्दै आएको छ । कृषकहरुलाई फलफूलका बोटविरुवा वितरणदेखि मौरीका घार तथा मौरी पाल्ने तालिमसमेत दिएको छौं । यहाँ सिजन अनुसार हरेक कुराको उत्पादन राम्रोसँग हुने भएकाले सिजन अनुसार विउविजनको व्यवस्था पनि हामी गरिदिन्छौं ।
५.तपाईको पालिकामा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको अवस्था के छ, पालिकाबाट कसरी लाभान्वित भएका छन् ?
-हामी हाम्रो पालिकालाई बालमैत्री बनाउने अभियानमा लागेका छौ । वडा नं. २, ४ र ८ गरी तीन वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकेका छौं । अन्य वडाहरुलाई बालमैत्री बनाउने तयारी जारी छ । बालअधिकारका कुराहरु संरक्षण तथा सुरक्षित गर्ने गरी कार्यहरु अगाडि बढाइ रहेका छौं । जेष्ठ नागरिकहरुका लागि हरेक वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छौं । यसअघि जेष्ठ नागरिक, असत्ताहरुलाई समेत भत्ता लिन बैंकमा गएर घण्टौ लाइन बस्ने बाध्यतालाई हटाई अहिले हामीले तीन तीन महिनामा उहाँहरुलाई हरेक वडामार्फत भत्ता वितरण गर्ने गर्दछौं ।
६.आगामी योजनाहरु के के छन् ?
-यो पालिका पहाडी भएकाले यातायातको अवस्था अलि अठिनाई रहेको छ । यहाँका किसानहरुको मुख्य पेशा कृषि भएकाले यहाँ उत्पादीत वस्तुहरु बजार सम्म पु¥याउनुपर्ने माग छ । त्यो स्वभाविक पनि हो । उत्पादन गरेको बस्तुले बजार पाउनुपर्छ । त्यसका लागि सुगम हिसावको सडक हुन जरुरी छ । यहाँका जनताको अहिलेको माग पनि यही हो । अहिले कच्चि सडक भएकाले विग्रिएका विभिन्न ठाउँहरुमा मर्मत गर्ने तथा पानीले खोलेका ठाउँहरुमा होमपाइप हाल्ने काम भइरहेको छ ।
