अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

राजनीति समाचार

असोज १३ आइतबार,२०८१/ललितपुर-
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन ।

प्रचण्डले आफ्नो निवास ललितपुरको खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन ।

तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी ६ वर्षीया छोरी मेघनालाई आफ्नो ज्यान जोखिममा राखेर बचाएका थिए ।
टिनको टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्‍याई सके पनि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्न सफल भएका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेर किनारा लागेका थिए भने राजकी ४ वर्षीया छोरी शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।

‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए । उनी माओवादी केन्द्रकै तेमाल गाउँपालिका पार्टी कमिटी सदस्य पनि हुन ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य पनि हुन । उनका दाई जनमुक्ति सेनाका कमाण्डर चन्द्र तामाङ ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत भएको थियो ।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू विहान खोला हेर्न गएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको जनाए ।