धौलागिरि हिमालमा बेपत्ता भएका ५ जना रुसी आरोहीको शव भेटियो !

पर्यटन राजनीति समाचार

असोज २२ मंगलबार,२०८१/म्याग्दी-
धौलागिरि हिमालमा सम्पर्क बिहिन भएका पाँच जना रुसी आरोहीहरुको मृत्यु भएको छ ।

मंगलबार दिउँसो खोजकार्यका लागि त्यसतर्फ गएको हेलिकप्टरबाट उनीहरुको शव ७६०० मिटर उचाइमा भेटिएको बताइएको छ ।
यद्यपि प्रतिकुल मौसमका कारण आज पनि उद्धार भने गर्न न सकिएको पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले जानकारी गराएका छन । उनीहरू आइतबार राती देखि धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन भएका थिए ।

मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुशेयेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को, दिमित्री श्पिलेभोइ रहेका छन् ।

टोलीका नेता रहेका अलेक्जेन्डर दुशेयेको कमान्डमा १४ जनाको आरोहण टोली नेपाल आएको थियो । आईएएम ट्रेकिङ कम्पनी मार्फत
धौलागिरि आरोहणका लागि सबै गए पनि ७ जना बिरामी भएर तलै बेज क्याम्पमा बसेका थिए जस मध्ये एक जना पछि फर्किएका थिए ।

शिखर तर्फ लागेका ७ जनामध्ये दुई जना छिटोछिटो नै आरोहण सम्पन्न गरेर फर्किएको जनाइएको छ । मृत्यु हुनेमा पछाडि रहेका पाँच जना थिए ।

गन्तब्य चुम्न करिब दुई सय मिटरभन्दा पनि कम बाँकी हुँदा दुर्घटना भएको थियो ।

मौसम प्रतिकुल भएपछि उनीहरूलाई तत्कालै झर्न रेडियो सेटबाट अनुरोध पनि गरिएको बताइएको छ तर उनीहरू लक्ष्यमा पुगेरै फर्किने भन्दै अगाडी बढेका थिए । त्यस लगत्तै न सक्ने अवस्था भएपछि उनीहरुले फर्किने निर्णय गरेर झर्ने क्रममा सम्पर्क बिहिन भएको बताइन्छ ।

अर्को दिन सोमबार ट्रेकिङ कम्पनीले हेलिकोप्टर पठाउने निधो गरे पनि मौसम प्रतिकुलताका कारण उडान भएन ।

बिश्वको सातौं उच्च सिखर रहेको धौलागिरी समुद्री सतहबाट ८,१६७ को उचाईमा रहेको छ । निकै भिरालो भूगोल भएकोले सन १९६० मा मात्रै स्विस-ऑस्ट्रियन टोलिले पहिलो पटक यस हिमालको सफल आरोहण गरेको थियो ।