असोज २४ बिहीवार,२०८१/मुम्बई-
भारतका लोकप्रिय तथा चर्चित उद्यमी रतन टाटाको राजकीय सम्मान सहित अन्तिम संस्कार गरिएको छ ।
बिहीवार ८६ वर्षका उद्यमी तथा टाटा ग्रूपका मालिक रतन टाटाको मुम्बईस्थित वर्लीमा राजकीय सम्मान सहित अन्तिम संस्कार गरिएको हो ।
उनको बुधबार राति ११ बजे ब्रीच क्यान्डि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कोलाबास्थित उनको निवास र राष्ट्रीय कला प्रदर्शन केंद्र (एनसीपीए)मा निकै ठुलो भिड उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेको थियो,जसमा केन्द्रिय गृहमन्त्री अमित शाह देखि सामान्य मजदुर सम्म हजारौंको संख्यामा पुगेका थिए ।

भारतकी राष्ट्रपति मुर्मूले भारतले एक यस्तो आइकॉन गुमायो, जसले कॉर्पोरेट ग्रोथ, राष्ट्र निर्माण र नैतिकताको उत्कृष्टताको मिश्रण गरेको बताइन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले टाटा एक दूरदर्शी बिजनेस लीडर, दयालु आत्मा र एक असाधारण ब्यक्ति भएको बताए ।
यसैगरी भारतीय काङ्ग्रेसका नेता राहुल गांधीले रतन टाटा दूरदृष्टि भएको व्यक्ति भएको र उनले ब्यापार र परोपकार दुबैमा कहिले न मेटिने छाप छोडेको बताए ।
उद्यमी मुकेश अंबानीले यो भारतका लागि निकै दुखद दिन भएको भन्दै उनको मृत्युले टाटा ग्रुपलाई मात्र न भएर प्रत्येक भारतीयलाई ठुलो क्षती पुगेको बताए ।
आफ्ना कर्मचारीप्रति उत्तरदायी !
सन् २००८ नोभेम्बर २६ को मुम्बई आतङ्कवादी आक्रमणबाट उनको ताज होटेल निकै क्षतिबाट गुज्रिएको थियो ।
उक्त घटनामा मारिने १६६ जनामध्ये ३३ जना ताज होटेलमा बसेका थिए ।
त्यति बेला टाटाले मारिएका वा घाइते भएका सबै कर्मचारीका परिवारको हेरचाह गर्ने प्रतिबद्धता मात्र जनाएनन्, उनीहरूले स्वस्थ भएर कम्पनीमा काम गरिरहँदा जति कमाउँथे, त्यो तलब पनि दिए ।
उनी अन्य ब्यापारी जस्तै नितान्त नाफामुखी मात्रै कहिले भएनन । मानवियतालाई उनले सधै अगाडि राखेर काम गरे । टाटा ग्रूपलाई यो उचाईमा पुर्याउने उनको ठुलो हात रहेको छ । उनका हजुरबुबा जमशेद्जी टाटाले यस व्यवसायिक यात्राको सुरुवात गरेका थिए ।
उनी राज्यबाट पद्म विभूषण, पद्म भूषण लगायतबाट सम्मानित भएका थिए ।
महाराष्ट्र सरकारले केन्द्रलाई उनलाई मर्नोपरान्त भारत रत्न प्रदान गर्न सिफारिस गरेको छ । उनी अविवाहित थिए ।
