
कार्तिक ६ मंगलबार,२०८१/गोर्खा-
नेपालका प्रथम सहिद लखन थापा मगरको नामबाट नामांकरण गरिएको गोरखा जिल्लाको शहिद लखन गाउँपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वको दृष्टिले अत्यन्त उर्वर पालिका रहेको छ । नेपालकै प्रसिद्ध मनकामना मन्दिर यसै पालिकामा अवस्थित छ । केवलकारबाट आवत–जावत हुने यस मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक सयौंको संख्यामा आउने गर्छन् । जिल्लाको दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा करिव २३ हजार जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ । पहाडी भूगोलबाट निर्मित शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरसँग ‘६ प्रश्न’कालागि पुष्पा महराले गरेको कुराकानीको सम्पादित अंश ः
१. अध्यक्ष हुनुभएपछि गर्नुभएका राम्रा कामहरु के के छन ?
– यस पालिकाको अध्यक्ष भएपछि हामीले धेरै सकारात्मक कामहरु गरेका छौं । यस पालिकामा जनताको आधारभूत आवश्यकताको परिपूर्तिका लागि गरिएका कामदेखि स्वास्थ्य, शिक्षा, यातायात विकास तथा जनताको जीवनस्तर उकास्नका निम्ति हामीले विभिन्न कामहरु गर्दै आएका छौं । मगर, गुरुङ्ग जातीहरुको बाहुल्यता रहेको यस पालिकामा नेवार, क्षेत्री, ब्राह्मणसहित अल्पसंख्यक जातीहरु चेपाङ्ग, बराम, माझीहरुले पनि बसोबास गर्छन् । हामीले पिछडिएका जातीलाई अगाडि बढाउने योजनाहरु बनाएका छौं । अधिकांश जनताको मुख्य पेशा कृषि रहेकाले कृषि क्षेत्रलाई आधुनिकरण गर्न पहल गरिरहेका छौं । योजना आयोगसँग साझेदारी गरी यस पालिकाको घैरुङबाट लमजुङसँग सिधा जोड्ने गरी करिव साढे तीन किलो मिटर सडक कालोपत्रे गरेका छौं । यस वर्षको वर्षातले त्यसमा केही क्षति पु¥याएकपनि मर्मत सम्हार गरी सडक सुचारु छ । गाउँपालिकाभित्र रहेका मुख्य–मुख्य बाटोहरुलाई स्तरोन्नति गरेका छौं । सबै टोल तथा वस्तीहरुमा सडकको संजाल विस्तार गरेका छौं ।
२.शैक्षिक क्षेत्र विकासका लागि के कस्ता कार्यहरु गर्नुभयो ?
– विद्यार्थी संख्या अनुसार शिक्षक नभएको ठाउँमा स्वयम सेवक शिक्षकहरुलाई पठाउने गरेका छौं । अहिले पालिकाभित्र ३३ जना स्वयम सेवक शिक्षकहरुले अध्यापन गराएरहनु भएको छ । शिक्षकहरुलाई तालिम तथा विद्यालयमा शैक्षिक वातावरण निर्माणका लागि हामीले विभिन्न अभियानहरु संचालन गर्दै आएका छौं । त्यस्तै विद्यार्थीहरुका लागि विद्यालयको पाठ्यक्रम बाहेक अन्य सीपमूलक कार्यक्रमहरु ल्याएका छौं । ट्नेल खेती, च्याउ खेती, कपाल काट्ने शैलुन तालिमको पनि व्यवस्था गरेका छौं । जहाँ विद्यार्थीहरुले फुर्सदको समयको सदुपयोग गरी कपाल काट्ने काम गर्छन् । जसले उनीहरुलाई केही आर्थिक राहत हुन्छ । त्यस्तै विद्यालयलाई हरित विद्यालय बनाउनका लागि अम्रिसो खेती गर्न लगाइरहेका छौं ।
सामाजिक सुरक्षा अन्तर्गत हरेक टोल बस्तीमा नै पुगेर त्यहाँ अपांगता भएका व्यक्तिहरुलाई अपांगता परिचयपत्र वितरण गर्दै आएका छौं । पालिकाभित्र कसैको निधन भयो भने मृतकको घरमा जनप्रतिनिधिहरु, कर्मचारीहरु, गाउँपालिकासहित समवेदना कार्यक्रम लिएर जाने गरेका छौँ । त्यस्तै नवजात शिशुको जन्म हुँदा त्यहाँ स्वास्थ्यकर्मीहरु उत्सवको कार्यक्रम लिएर जानुहुन्छ । सबै वडामा इन्टरनेट अनलाइनको कामहरु भइरहेको छ । अनलाइन ई हाजिरीको व्यवस्था गरिएको छ ।
३.स्वास्थ्य क्षेत्रमा गरिएका राम्रा कामहरुबारे बताइदिनुहोस् ?
– यस पालिकामा १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । गर्भवती महिलाहरुलाई मासिक रुपमा वडाको स्वास्थ्य चौकीबाट निःशुल्क अल्ट्रासाउन मेसिनद्वारा गर्भ जाँचको व्यवस्था गरेका छौं । नवजात शिशुहरु लुला–लंगडा र अपांग नहुन भन्ने हाम्रो उदेश्य हो । त्यस्तै सुत्केरी महिलाहरुलाई मातृ शिशु कल्याणका लागि रु पाँच हजार प्रोत्साहन भत्ता दिँदै आएका छौं । यहाँको अस्पतालमा सुत्केरी हुन नसकेर अन्यत्र पठाउनु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरेका छौं । महिला स्वास्थ्यकर्मी, स्वयम सेविकाहरु, क्यान्सर पीडित, मृगौला पीडित, मेरु दण्ड भाँचिएका लगायत जटिल रोग लागेकाहरुका लागि निःशुल्क स्वास्थ्य विमाको व्यवस्था छ । जेष्ठ नागरिकहरुलाई घर–घर मै पुगेर स्वास्थ्य सेवा प्रदान गरेका छौं । नेपाल सरकारले दिएको औषधिमा पनि थप गरी हामीले जनतालाई दिने गरेका छौं ।
४.यस पालिकामा पर्यटनको सम्भावना कस्तो छ ?
-पर्यटकीय दृष्टिकोणबाट यस पालिका निकै अगाडि मानिन्छ । १७ औं शताव्दीमा निर्मित चर्चित मनकामना मन्दिर यस पालिकाको वडा नम्बर २ मा पर्दछ । जहाँ देश तथा विदेशबाट समेत दैनिक सयौंको संख्यामा मनकामना माईको दर्शनका लागि आउने गर्दछन् । त्यस्तै भीमसेन थापाद्वारा निर्मित भीम विरेश्वर मन्दिर, वक्रेश्वरी मन्दिर, त्रिवेणी मन्दिर लगायत रहेका छन् । त्यस्तै सिद्धलखन गुफा, सहिद लखन गुफा, फिरफिरे डाँडासहित विभिन्न प्राकृतिक सुन्दर स्थल रहेको यस पालिकाका विभिन्न स्थानबाट सूर्याेदय र सूर्यास्त सहजै देख्न सकिन्छ । त्यस्तै अन्नपूर्ण, मनास्लु, गणेश हिमाललगायतका मनोरम दृश्यहरु पनि यस पालिकाबाट अवलोकन गर्न सकिन्छ । यसै पालिकाको वडा नम्बर ७ स्थित नेपालका प्रथम सहिद लखन थापाको जन्मस्थान भएकाले ऐतिहासिक किल्ला पनि रहेको छ । यस्ता विभिन्न पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको सहिद लखन गाउँपालिकामा पर्यटन प्रबर्द्धनका लागि विभिन्न स्थानहरुमा होमस्टे संचालनका लागि तालिमको व्यवस्था गरेका छौं । यतिबेला बेतिनी सामुदायिक होमस्टे र मनकामना मगर सामुदायिक होमस्टे बढी सक्रिय रहेपनि अन्य चार वटा संचालनमा रहेका छन् ।
५.उन्नत कृषि विकासका लागि पालिकाको तर्फबाट के कस्ता सहयोगहरु भएको छ ?
– कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि उत्पादनमा आधारित भएर पालिकाले अनुदानको व्यवस्था गरेको छ । यतिबेला हामीले ‘किसान चौतारी’ नामक कृषि एपको पनि निर्माण गरिरहेका छौं । यसले समग्र पालिका भित्रका किसानहरुलाई जोड्ने र उनीहरुको उत्पादन अवलोकन गर्नेछ । किसानहरुलाई पशु–चौपाया तथा खेतीवाली उत्पादनमा कुनै समस्या भए यसै एप मार्फत सिधै सम्बन्धित प्राविधिकसँग सम्पर्क गर्न सक्ने गरी हामीले यस एपको निर्माण कार्य अगाडि बढाएका छौं । त्यस्तै कृषकले उत्पादित सामग्री तथा पशु चौपायाबारे पनि विस्तृत यस अनलाइनमा राख्न पाउनेछन् भने यसै एप मार्फत विक्रेताहरुले पनि जानकारी पाउन सक्नेछन् ।
६.थप आगामी योजनाहरु के के छन् त ?
-यस पालिकाका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउने मेरो योजना छ । बढ्दो वैदेशिक रोजगारीमा निस्कने जनसंख्या न्यूनिकरण गर्न पहल गर्दैछु । केही वैदेशिक रोजगारीबाट फर्किएकाहरुका लागि अहिले पनि व्यवसायिक तालिम, अनुदानको व्यवस्थापन गरेका छौं । वैदेशिक रोजगारीमा गएकाहरुको परिवारलाई मनोपरामर्श तथा वित्तिय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आएका छौं । आगामी दिनमा पनि थप कार्यक्रमहरु ल्याउने योजना छ । विकासका लागि अत्यावश्यक सडक सञ्जाललाई कालोपत्र गर्नका निमित्त संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्नेछु । बुढी गण्डकी, कुरिनटार, मुग्लिन बजार लगायतका केही ठाउँहरुमा मोटरेवल पुलको आवश्यक परेकाले त्यसको प्रक्रिया अगाडि बढाउन पहल गर्नेछु । र जनभावनाको कदर गर्दै उहाँहरुको समस्यालाई समाधान गर्नेतिर अग्रसर हुनेछु ।