अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु हुने !

अन्य राजनीति समाचार

पुस १५ सोमबार,२०८१/काठमाडौं-
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु हुने भएको छ ।

आइतबार निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेपछि उमेरहद लगाउने कि खुला गर्ने विवाद अन्त्य भएको छ । गत असोजमा अखिल क्रान्तिकारीकोे २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विवाद पछि स्थगित भएको थियो ।

अनेरास्ववियु क्रान्तिकारीले ३२ वर्षे उमेरहद राख्ने न राख्ने विषयमा देशैभरीका निकायमा निर्वाचन गराएको थियो । सो अवस्थाका लागि २१ मत निर्णायक भएका थिए ।
अब भने पक्षधरहरु विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने भएका छन ।

कुल २३९८ मतदातामध्ये १७७९ जनाले मतदान गरेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।

यही माघ ५ गतेबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तोकिएको छ ।

अब निवर्तमान पदाधिकारीबाट उपाध्यक्ष प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने भएकी छन ।

केही समय अघिको वातावरणमा अध्यक्षका दाबेदार निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, केशव रावल, तुकमान महरा, मदन भुल, मिलन एम.सी, लक्ष्मीप्रसाद जोशी, मदन भट्टराई, नरेश रेग्मी, गजेन्द्र प्रसाद देव, राजकुमार याक्खो, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट उमेरहदमा परी बाहिरिएका छन् ।

यस्तै निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् । यसै गरी उपमहासचिवमा ५/७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्नेछन् ती नेताले बताए ।