
पुस २५ बिहीवार,२०८१/कास्की-
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रिहा भएका छन ।
बिहीवार रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेसहित ६ प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन ।
अन्य रिहा हुनेहरुमा छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएका हुन ।
सभापति लामिछानेले धरौटी रकम बापत रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख बुझाए पछि कास्की प्रहरी प्रशासनले रिहा गरेको हो । यद्यपि लीला पछाईं भने धरौटी रकम बुझाउन नसकेपछि रिहा हुन सकिनन ।
नेपाली कांग्रेसले लगातार प्रतिनिधि सभा अवरोध गरेपछि गत जेठ १५ गते लामिछानेका विरुद्ध संसदीय छानबिन समिति गठन भएको थियो ।
दोषी पाइए पछि उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनबारे दोषी ठहर गरेको थियो ।
पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।