बादलले दिए जनयुद्धलाई हिंसाको संज्ञा !

अन्तर्वार्ता राजनीति समाचार

माघ २५ शुक्रवार,२०८१/अछाम-
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध हिंसा भएको बताएका छन ।

बिहीवार अछाम पुगेका ‘जनयुद्ध’ का पूर्व सैन्य कमान्डरसमेत रहेका नेता राम बहादुर थापा ‘बादल’ले ‘जनयुद्ध’लाई हिंसाको संज्ञा दिएका हुन् ।

‘तपाईंका अध्यक्ष (केपी शर्मा ओली) ले जनयुद्धलाई हिंसा भन्दै आउनुभएको छ नि!’ भन्दै पत्रकारले जिज्ञासा राखेपछि एमाले उपाध्यक्ष बादलले बिस्तृतमा आफ्नो भनाई राखेका थिए ।

एक दशक लामो चलेको जनयुद्धलाई एमाले नेताहरूले हत्या हिंसा भन्दै आएका छन ।

यो आरोप प्रत्यारोप सदनमा पनि देखिएको थियो जब माओवादी केन्द्रका नेताहरुले जनताको सशस्त्र संघर्षलाई अपमान गरेको भन्दै प्रतिवाद गरेका थिए ।

माओवादीले संचालन गरेको जनयुद्धलाई अपमान गर्दा एमाले अध्यक्ष केपी ओली खुशी हुने भएकोले चाकडी गर्नका नेता कार्यकर्ताबिच प्रतिस्पर्धा चलेको माओवादी केन्द्रका नेताहरुको बुझाई छ ।

‘जनयुद्ध भनेको हिंसा नै हो। जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेकै हिंसा हो। हिंसा भनेको फरक पाटो हो, त्यहाँ मर्न र मार्ने हुन्छ। त्यसकारण अहिले हाम्रो अध्यक्षले भनेकोमा मेरो कुनै आपत्ति छैन। त्यो कुरालाई माओवादीले पनि मान्छ। अथवा मार्क्सवादीहरू, सबै क्रान्तिकारीहरूले कि युद्धद्वारा पनि समस्याको समाधान गर्नुपर्छ, किनभने युद्ध भनेको, हिंसा भनेको, हिंसा भनेको वर्गसंघर्ष हो। अथवा संघर्षको सर्वोच्च रूप हो,’ उनले भनेका थिए ।

बादलका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी कान्डमा परेपछि उनी एमालेतिर लागेका थिए ।