
माघ २८ सोमबार,२०८१/विराटनगर-
पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलन गर्दै आएको पक्षले
वार्ता निष्कर्ष बिहिन भएपछि थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
आइतबार र सोमबारको वार्ताबाट असन्तुष्ट भएका आन्दोलानकारीहरुले आन्दोलनलाई निरन्तरता दिने भएका हुन ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनरत मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले माघ २९ गतेदेखि संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन ।
आन्दोलनका क्रममा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा लगायतका छन् ।
त्यस्तै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने तय भएको छ । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख छ ।
यस अघि माघ १२ गते प्रहरीसँग झडप हुँदा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए ।