नेपाललाई समृद्ध बनाएर समाजबादी दिशातर्फ बढाउन सकिन्छ: राज बहादुर बुढा मगर, नेकपा माओवादी रोल्पा इन्चार्ज

अन्तर्वार्ता राजनीति समाचार

माघ ३० बुधबार,२०८१-
तपाईलाई जनयुद्धमा लाग्न कुन कुराले प्रेरित गर्‍यो ?
-विद्यार्थी काल देखिनै नेकपा-माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा काम गर्थे । जनयुद्ध सुरु हुनेबेला पार्टी सदस्य भई सकेको थिए । जनयुद्धमा लाग्नुको पछाडीको मुख्य कारण समाजमा सामन्ती ब्यवस्था, शोषण, अन्याय, अत्याचार थियो । त्यसैले नयाँ जनवादी गणतन्त्र स्थापना गर्न र देश र जनताको भविष्य निर्माण गर्नका लागि पुरानो सत्तालाई फालेर नयाँ सत्ता निर्माण गर्नका लागि म जनयुद्धमा लागे ।

यहाँ पुर्व जिल्ला समन्वय प्रमुख पनि हो, कार्यकाल कस्तो रह्यो त ?
-म हाल पार्टीको रोल्पा जिल्ला इन्चार्ज पनि ह । मलाई आफैलाई के महसुस भएको छ भने मेरो पाँच बर्षको कार्यकाल असाध्यै सफलता पुर्वक सम्पन्न भएको छ । जिल्लाभर रहेका सबै प्रदेश, संघका स्थानीय अड्डा अन्तर्गतका कर्मचारीहरु, हाकिम र अन्य जनप्रतिनिधिहरु सबै सँग सहकार्य भयो । र जिल्ला समन्वय समिति एउटा अबिभाबक अड्डा हो । यसो हेर्दा सेरेमोनियल देखिए पनि यसबाट अधिकतम सकृय बनाउन मैले भरपुर प्रयास गरे ।

रोल्पा जिल्ला पार्टीका गतिविधिहरु लगायत संगठनका कुराहरू के कस्ता छन् ?
-जनयुद्ध रोल्पालीहरुको त्याग, तपस्या, बलिदान र योगदानबाट अगाडि बढेको हो । रोल्पाली लड्न र मर्न तयार भए । अहिले पछिल्लो चरणमा आउँदा उनीहरूलाई के महसुस भएको छ भने हामी एक आपसमा लड्नु हुँदैन, भिडनु हुँदैन, सामनती सत्ताको विरुद्धमा पुजीवादको विरुद्धमा हामी एक ठाउँमा उभिनु पर्छ भनेर ।हामीलाई जनयुद्धले सबै सर्वहारा श्रमजीवी जनता आम शोषित पीडित किसानहरु एक ठाउँमा उभिनु पर्छ भनेर सिकाएकै हो । त्यसैले हाम्रो पार्टीप्रति जनताको विश्वास छ र माओवादी पार्टी अग्र स्थानमा छ ।

२०८४ मा पनि रोल्पाले पहिलेकै जस्तो मत परिणाममा सफलता हासिल गर्छ त ?
-निर्वाचन सत्ता भनेको खासमा काङ्ग्रेस एमालेको हो । सत्ता हाम्रो होइन हामीले समाजबाद स्थापना गर्ने हो । फेरि पनि समाजवादमा जानको लागि कम्तीमा पनि हाम्रो जनआधार कति छ हामीसँग जनताको समर्थन कति छ भन्ने चाहिँ बुझ्न जरुरी छ । लागि हामी फेरि पनि चुनावलाई उपयोग गरेर जाने सत्ताबाट हस्तक्षेप गरेर समाजवादमा जाने भएको हुनाले ०८४ को चुनावलाई पनि टारगेट त बनाउनु नै पर्छ फेरि । ०८४ को चुनावले हाम्रो शक्ति कति बलियो हुन्छ हामी समाजबादमा जान सक्छौ कि सक्दैनौं भन्ने कुरा निर्धारण गर्ने एउटा बाताबरण बन्छ । तर पनि कम्युनिस्ट जहिले पनि बर्ग समुहमा बिश्वास गर्दैनन् बरु बर्ग संघर्षमा गर्छन । बर्ग संघर्षमा बिश्वास गर्ने भएकाले हामीले ०८४ को चुनावको तयारी अहिले देखि नै राम्रोसँग गर्नु पर्छ ।

तपाई जनमुक्ति सेनाको पाँचौ डिभिजन कमान्डर पनि हो ? कुनै अविस्मरणीय क्षण सम्झिनु हुन्छ ?
-म जनमुक्ति सेनाको कमान्डर त होइन सहकमान्डर हो । मेरो कमान्डर पहिले टेक बहादुर रोका(शरद) पछिल्लो चरणमा फेरि पनि काली बहादुर खाम कमान्डर भए । म सहकमान्डर भए पनि कमान्ड चाहिँ मैले सम्हालेको थिए । धेरैले मलाई नै कमान्डर भन्ने गर्दथे । मैले जनयुद्धमा प्रवेश गरि सके पछि, संगठनमा धेरै काम गरिन । प्रायः जसो जनमुक्ति सेनामानै काम गरेको हुनाले राम्रो कमान्डर बन्ने प्रयास गरे । र सैन्य लडाई मार्फत क्रान्ति स्थापना गर्नु पर्छ भन्ने थियो । म आफ्नो पनि लडाकु स्वभाव भएकोले युद्धको माध्यमबाट नै सरकार कब्जा गर्नु पर्छ र समाजबादमा जानुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो । पछि पार्टीले चाहिँ विभिन्न काल परिस्थितिलाई मध्येनजर गर्दै बन्दुकको नालबाट मात्रै सत्ता कब्जा गर्न सक्छौं कि सक्दैनौं भन्ने विषयमा केन्द्रित भयौं । त्यस्तै अहिलेको बस्तु स्थिति, अन्तर्राष्ट्रिय अवस्था के हो र यस्लाइ मध्येनजर राखेर हामी १२ बुदे सम्झौता गरेर शान्ति प्रकृयामा सामेल भयौं । र मैले जनमुक्ति सेनामा दिइएको जिम्मेवारी पुर्ण इमानदारीकासाथ असाध्यै खुशी भएर पूरा गरे । फेरि पनि आगामी दिनहरुमा समाजबादमा जानको लागि ब्यालेट बाटनै केही हासिल गर्न सकेन भने बुलेटको बाटोलाई पनि जोडनु पर्छ भन्नेमा म अझै प्रतिबद्ध छु ।

कति वटा कार्वाहीहरुमा साहसपुर्वक नेतृत्व गर्नु भो र कुन चाहिँ कार्वाही यादगार छ ?
-म चाहिधेरै कार्वाहीमा संलग्न भएको छु, सहभागी भएको छु अब त्यस मध्येबाट सक्रिय भएका कार्वाही जस्तैः दाङ,घोराही,डोल्पा,दुनै,म्याग्दी,बेनी,पाल्पा,अर्घाखाँची, नवलपरासीको सदरमुकाम लगायतका २ दर्जन भन्दा बढीका कार्वाहीमा म सहभागी छु । सबैका आआफ्नै विशेषता छन । स्वयम मेरै कमान्डमा रोल्पाको धौलावाङको कार्वाही हो ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ? ६ महिने अभियानका विषयमा के छ तयारी ?
-पार्टीले आठौं केन्द्रिय कमिटी छैटौं पुर्ण बैठकबाट पार्टीले ६ महिने अभियान सञ्चालन गर्दै छ र अभियान पछि समिक्षा गरेर पार्टीको विशेष महाधिवेशन सम्पन्न गर्ने तय भएको छ । यस निर्णयबाट रोल्पा जिल्लाका धेरै जसो पालिकाहरुमा स्वयम म आफै उपस्थित भएर जानकारी गराएको छु । यसैगरी फागुन महिनाको १ गते जनयुद्ध दिबस हो जनयुद्ध स्थापना भएको दिन पनि हो त्यो दिनमा रोल्पा जिल्लाका ७२ वटा सबै वडामा सक्रियता पुर्बक भब्य र सभ्य ढंगले व्यापक जनसहभागितामा जनयुद्ध दिबस मनाउने र त्यसै दिन देखि अभियान सञ्चालन गर्ने र त्यो अभियान जनताको बिचमा जाने र जनताका पिर मर्काहरु बुझ्ने हामीले प्रण गरेका छौँ । जनताका बीचमा गएर के गलती गरेका छौ र कमी कमजोरी स्विकार्दै कतिपय जनतामा भ्रम रहेका चिरफार गर्ने हामी त्यो योजनामा छौ ।

आफ्ना पार्टीका कार्यकर्ता नेताहरुलाई के सुझाव दिनुहुन्छ आफ्नो हैसियतबाट ?
-मैले मेरो कार्यकर्ता नेताहरुलाइ सुझाव दिनु पर्दा हामी सरकार बाहिर छौँ; सरकार बाहिर भएको बेलामा हाम्रो पक्षमा माहोल असाध्यै उर्लिएको छ र जनताले हामीलाई बिश्वास गरेका छन । यो भन्दा पहिले जब प्रचण्डको नेतृत्वमा सरकारमा थियौं, त्यो सरकारले लोकप्रिय कामहरू गरेको थियो । देशको भ्रष्टाचारीहरुलाई कार्वाहीको परिधिभित्र ल्याएका थियौँ । विभिन्न काण्डहरु सतहमा आएका थिए । त्यसले गर्दा काङ्ग्रेस एमाले लगायतका दलहरुको मिलेमतो पनि उजागर भए । भखरै मंसिर १६ गते भएको उपनिर्बाचनमा माओवादीको बिजय प्रगति देख्दा अब यो माओवादी पार्टी जनताको बिचबाट पुनः स्थापित भयो र लोकप्रिय हुँदै गएको छ । त्यस कारण अब ०८४ को चुनावमा हामीले बहुमत ल्याउनको लागि कुनै पनि अप्ठ्यारो पर्ने छैन । जनताले पनि बुझी सके र हामी यही ढंगले संगठित भएर लाग्नु पर्छ । मैले हाम्रा नेता तथा कार्यकर्ताहरुलाई यो सन्देश दिन चाहान्छु र नेताहरूले एक ढिक्का भएर प्रचण्डको वरिपरि नेतृत्वमा एक ढिक्का भएर जानुपर्छ कोहि कसैले गुटउपगुट बनाउनु हुदैन । समाजबादी क्रान्तिका लागि सम्भावना भएकाले कार्यकर्ताहरुलाई एक ढिक्का भएर सबै एक जुठ भएर लाग्न सुझाव दिन चाहन्छु ।

तपाई यो देशको प्रधानमन्त्री हुने अबसर पाउनु भयो भने सबैभन्दा पहिला ३ कार्यहरु के गर्नु हुन्छ ?
-पहिलो कुरा त मैले कर्ममा बिश्वास गर्छु र कर्म गरि सके पछि फल प्राप्त हुन्छ । त्यस कारणले गर्दा मलाई धेरै ठुलो पदमा जानू पनि छैन मैले जनताको सेवा गर्ने हो,सामाजिक कार्य गर्ने हो, जनता जहाँ छन म त्यही बस्ने हो जनता बसेको ठाउँमा मेरो परिवार पनि बस्नु पर्छ ताकि समान तरिकाले जनता र मेरो परिवारलाई देख्न सकु एउटा सत्य र राम्रो मान्छे एउटा बुद्धिजीवी मान्छेले आफू माथी भएको देख्न चाहान्न उ जनतासँग बसेको देख्न चाहान्छ । त्यसकारणले गर्दा मलाई ठुलो लोभ लालच छैन जनताका जल्दाबल्दा समस्या सामाधान होस दिन दुखीका गरीबहरुको झुपडीमा सुनौलो बिहानी आओस । र मौका मिल्यो भने सब भन्दा पहिले जनताको अन्तर बिरोध हल गर्न सके भने, ठुला ठुला योजनाहरु निर्माणको खाकातिर लाग्ने छु । अहिले मान्छेहरुले राष्ट्रिय गौरवका कुराहरू गर्छन् त्यसपछि ठुला ठुला बिकासका निर्माणका कुरा गर्छन तर कहाँ देख्दैनन भने जनताको अन्तर बिरोध केमा छ, जनताले के चाहेका छन जनताले खोजेको के हो, जनताले के चाहन्छन भन्नेतिर केन्द्रित हुन जरुरी छ ।

अरु केही छुटेका कुराहरु छन कि ?
-हाम्रो देश नेपाल कुनै समयमा सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा थियो । अहिले राजतन्त्र ढलि सके पनि अझै पनि के छ भन्दा अन्तर्राष्ट्रिय हस्तक्षेप छ । यहाँ सामन्ती चरित्र अझै छ त्यो संस्कार अझै बाँकि नै छ । अन्तर्राष्ट्रिय शक्ति आफ्नो अनुकुलताको पात्र ल्याउन खोज्छन । त्यसलाई अन्त्य गर्नका लागि नेपाली सब भन्द पहिले नेपालीलाई राष्ट्रिय भाव पैदा गरिदिनु पर्छ राष्ट्रिय स्वतन्त्रताको भाव पैदा गर्नु पर्छ । जब सम्म यस्तो हुँदैन नेपाली समृद्ध मुलुक बन्न सक्दैन । हिजो काल्पानिक समाजबादीहरुले कल्पनाको आधारमा दिन दुखी गरिबहरुको दैनिक स्थिति देखेर पैसा खर्च गरेर समाजबाद ल्याउन चाहन्थे अन्ततः काल्पनीक समाजबादीहरुको पैसा पनि सक्कियो र दिन दुखी गरिबहरुको समस्या सामाधान पनि भएन ।
नेपालका युवाहरु बाहिर जानुपरेको हुनाले नेपालमै पुजीको बिकास गरेर यहि उद्योग कलकारखाना खोलेर नेपाललाई समृद्ध बनाउनका लागि नेपाल सरकारले त्यो कदम चाल्यो भनेमात्र नेपालको समृद्धि हुन्छ । त्यो कदम चाल्नका लागि हालको सरकारले सक्दैन यो कदम चाल्न हामी ०८४ सम्म जान यो योजना बनाइयो भने समृद्ध नेपालबाट समाजबादको थालनी पनि हुन सक्छ । नेपाललाई समृद्ध बनाएर समाजबादी दिशातर्फ बढाउन सकिन्छ । र सानो झिल्कोले डडेलाे लाग्छ भने जस्तै नेपालबाट एउटा नमुनायोग्य कोशे ढुंगा बन्न सक्छ भन्ने मैले बिश्वास गरेको छु ।