
फागुन ७ बुधबार,२०८१/काठमाडौं-
भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वबिद्यालयमा अध्यनरत प्रकृति लम्सालको रहस्यमय मृत्युबारे सदनमा आफ्ना कुरा राख्न समय नपाएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले आपत्ति जनाएका छन ।
बुधबार पुर्व मन्त्री समेत रहेका शर्माले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युबारे सभामुख देवराज घिमिरेले आफुलाई बोल्ने समय नदिएकोमा आपत्ति जनाएका हुन ।
‘केआईआईटी विश्वविद्यालयमा घटना घटेपछि संसद्मा बोल्न माग गर्दा समेत सभामुखले समय नदिनुबाट हाम्रो लोकतन्त्र कस्तो रहेको मात्र नभई संसद्को नेतृत्व संवेदनहीनता समेत स्पष्ट गरेको छ । संसद्मा जनताका मुद्दाभन्दा कुर्सी र सरकारका मुद्दा मात्र उठाउँदै आएको हामीले भनिराखेका छौँ’, रुष्ट हुँदै उनले भने ।
केआईआईटीमा घटेको घटनाले नेपाली विद्यार्थीको आवाजलाई दबाएको मात्र नभई नेपाल र नेपाली विद्यार्थीको अपमान समेत गरेको उनले बताए ।
‘लम्सालको रहस्यमय मृत्युको पीडा एकातिर रहेको बेला अर्कोतिर विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गरिनु आपत्तिजनक मात्र नभई अमानवीय पनि हो । घटना सम्बन्धमा शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता हो । साथै केआईआईटी विश्वविद्यालयमा दिने शिक्षा र संस्कार कस्तो रहेछ भन्ने विषयमा आफ्नो अनुहार स्पष्ट पारेको छ,’ उनले धारणा राखे ।
उनले सरकारको शीघ्र पहल हुन नसक्नु, कूटनैतिक रूपले समस्या समाधान गर्न ढिलाइ गर्नु सरकारको असफलता भएको उनले उल्लेख गरेका छन ।
साथै उनले यसको दीर्घकालीन समाधानका लागि नेपाललाई एक गुणस्तरीय शैक्षिक हब बनाउनुपर्नेमा जोड दिए । त्यसै गरी देशभित्रै रोजगारी सिर्जना गर्न आफ्ना स्रोत र साधनमा आधारित उत्पादनतिर जोड र आजको काम गर्ने ढर्रा, संयन्त्र, सोच र नीति बदलेर आर्थिक क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ भएकोमा शर्माले चिन्ता व्यक्त गरेका छन ।
किट बिश्वबिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले मृत्यु भएकी पीडित नेपाली छात्रा लम्सालका बारेमा छानबिन र दोषी उपर कार्वाहीको माग गरेपछि करिब १५ सयको संख्यामा रहेका उनीहरुलाई कुटपिट तथा अभद्र व्यवहार गरिएको थियो ।
यसैगरी उनीहरुलाई होस्टेल प्रवेशमा रोक लगाउदै, गाडीमा कोचेर अज्ञात स्थलतर्फ लगेर छोडिएको थियो ।
करिब सय जना नेपाली विद्यार्थीहरु नेपाल पुगी सकेका छन ।
यसैबीच चौतर्फी दबाव पछि बिश्वबिद्यालय प्रशासनले माफी माग्दै ती नेपाली विद्यार्थीहरुलाई फर्किन खबर गरेका छन ।
प्रतिक्रिया दिनुहोस्