
फागुन २९ बिहीवार,२०८१/पाकिस्तान-
दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकु
बलोच लिबरेशन आर्मी (बीएलए)ले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जनालाई पाकिस्तानी सेनाले मुक्त गराएको छ ।
बिहीवार भएको सो घटनामा पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएका छन् । उक्त घटना लगत्तै बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा गरिएको आक्रमणको जिम्मा लिएको थियो ।
यद्यपि पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको दाबी गरेका छन ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ समेत बिहीवार उक्त दक्षिण पश्चिमी प्रान्तको राजधानी क्वेटा पुगेर त्यहाँ घातक रेल हमलापछिको सुरक्षा अवस्थाको जानकारी लिएका थिए ।
पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरू विरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो ।
बीएलएले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ र बेला बखत यस्ता आक्रमण गर्ने गर्दछ ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बलोच लडाकुहरूले राजनीतिक बन्दी बनाइएका आफ्ना लडाकुलाई ४८ घण्टाभित्र मुक्त नगरिए सबै बन्धकको हत्या गर्ने चेतावनी दिएका थिए ।
यसरी सिङै रेल कब्जा गरेको भने यो पहिलो घटना हो ।