
बैशाख ११ बिहीवार,२०८२/काठमाडौं-
(नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यसँग हाम्रा प्रतिनिधि बिश्वेश्वर पौड्यालले गरेको कुराकानी)
नेपाल सुनचाँदी व्यवसायी महासंघमा यहाँको कार्यकाल अवधि कति भयो?
–मेरो कार्यकाल चाहिँ गत असारमा निर्वाचित भए यता हो। हाम्रो विधानले तीन वर्षको लागि कार्यकाल तोकेको छ। यो व्यवसायले ४ लाखको हाराहारीमा रोजगारी सृजना गरेको छ। हाम्रो महासंघमा १० हजार ५ सयजति व्यवसायी आबद्ध हुनुहुन्छ भने नेपालभरि आधिकारिक रूपमा दर्ता भएका २३,६५० जना यस व्यवसायमा हुनु हुन्छ।
तपाईं निर्वाचित भइसकेपछि मुख्य काम के भएका छन्?
– धन्यवाद, राम्रो प्रश्न भयो। गत वर्षको बजेटमार्फत नेपाल सरकारले सुन आयातमा २०% भन्सार दर कायम गरेको थियो। तर छिमेकी मुलुक भारतमा त्यहीँ भन्सार दर चाहिँ ६% मात्र रहेकोले नेपालमा कालोबजारी लगायतका कार्यहरू भइरहेका थिए। तर हामी असारमा निर्वाचित भइसकेपछि भन्सार दर जुन नेपालमा बढी थियो, त्यसलाई एकरूपता कायम गर्न गरिएको प्रयासले गत मंसिरमा मूर्तरूप लिई भन्सार दर १०% कायम गर्न सफल भएका छौं।महासंघले गरेका धेरै कामहरूमध्ये यो सबैभन्दा उल्लेखनीय रह्यो।
भन्सार दर कम गरेर राज्यलाई त घाटा भयो नि?
– झट्ट सुन्दा त्यस्तो लाग्नु स्वाभाविक नै हो, तर दीर्घकालीन रूपमा हेर्ने हो भने बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले सुनचाँदी बजारमा भएको अन्योलता (जुन चाहिँ बजारको तत्कालीन अवस्थाले देखाउँछ ५%, ६% मा ज्याला /जर्ती हुने) लाई हटाएको छ। पाँच महिनासम्म वाणिज्य बैंकहरूबाट आयात हुन नसकेको सुन बल्ल आयात भई राज्यलाई प्रत्येक दिन करोडौं रुपैयाँको भन्सार शुल्क थप पाउने अवस्थाको सिर्जना भएको थियो। औपचारिक व्यापार सक्रिय हुँदा राजस्व लगायत कर बृद्धिले गर्दा राज्यलाई झन फाइदा पुगेको देखिन्छ।
नेपालमा सुन चाहिँ कहाँबाट ल्याइन्छ?
– वि.सं. २०६८ मा नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लागू गर्यो जसले गर्दा नेपालमा बैंकहरूले मात्रै आयात गर्न पाउने व्यवस्था छ। हाल दैनिक (२० के.जि.) कोटा प्रणाली अनुसार मुख्यतः दुबईबाट आउने गर्दछ।
सुन कुन ठाउँको तुलनात्मक रूपमा गुणस्तरीय हुन्छ?
– कुन ठाउँको गुणस्तरीय हुन्छ भन्ने सवाल नै हुँदैन। अब हामीले प्रविधिको प्रयोगमार्फत यसको गुणस्तर मापन गर्ने कुरा हो। अष्ट्रेलिया, टर्की, सिंगापुर, हङकङ, दुबई लगायतका देश यसका मुख्य बजार हुन्। तथापि २४ क्यारेट ( ९९९९ फाइनेस सुन) भनेपछि गुणस्तर उस्तै नै हुन्छ। त्यसैलाई हामी fine gold भन्छौं।
दुबईतिर सुन सस्तो हुनुको कारण के होला?
– ती राष्ट्रहरू जहाँ free port हुन्छ, उत्पादन नभए पनि त्यहाँ भन्सार लाग्दैन। अनि प्रायःजसो त्यहाँ साउथ अफ्रिका, अष्ट्रेलियाबाट सुन आउने भएकाले पनि अलिक सस्तो पर्न गएको हो। त्यहाँ खानीको उत्पादन लागत अलिक सस्तो पनि छ।
तपाईंहरूलाई सुनको मूल्यले केही असर गर्छ त?
– हालैको सुनमा भएको मूल्य वृद्धिले आज मिति २०८२/०१/०८ मा १,९१,००० प्रति तोला कारोबार भएको छ। हामी के सोच्न बाध्य छौं भने— के यो सुन चाहिँ नेपालीको क्रयशक्तिभित्र पर्छ त? आम उपभोक्ताको क्रयशक्तिभित्र नपर्दा यसको कारोबार पनि सुस्त भएको देखिन्छ।
सुन खानीहरू कुन देशमा छन्?
– साउथ अफ्रिका, अष्ट्रेलिया अनि त्यसैगरी चीन र रूसमा पनि सुन खानीहरू छन्।
हाम्रो नेपालमा छन् त?
– छन्, तर मेरो विचारमा यहाँ उच्च उत्पादन मूल्य पर्ने भएकाले त्यति प्रभावकारी भएको छैन होला।
यहाँका चुनौतीहरू के-के छन्?
– मुख्यतः नीति (policy) कै कुरा हुने भयो। कसरी काम गर्ने, बेच्ने कसरी हो? अलिक मिहिन ढंगले यसको व्यवस्थापन हुनुपर्छ।
सुनको मूल्य निर्धारणको संयन्त्र के छ?
– नेपालको भन्ने हो भने चाहिँ सम्पूर्ण रूपमा सिधा अन्तर्राष्ट्रिय मूल्यमा नै निर्भर रहन्छ; समानान्तरमा हुन्छ। अन्तर्राष्ट्रिय मूल्य भने धेरै कारणले असर गर्छ। जस्तो एउटा क्लस्टर हुन्छ— एकातिर सुन र तेल हुन्छ भने अर्कोतिर डलर, पाउन्ड, सेयर आदि हुन्छ। र यो चाहिँ भाइस भर्सा हुन्छ। डलर, पाउन्ड, सेयर आदिको मूल्य बढ्यो भने अर्कोतर्फको सुन र तेलको मूल्य कम हुन सक्छ। यसको मुख्य कारण के हो भने— विश्व अर्थतन्त्रको लय जुन प्राकृतिक हुनु पर्ने हो, त्यो विविध कारणले गडबड हुन्छ—जस्तै युद्ध, महामारी लगायत आर्थिक मन्दी। र मानिसहरूले आफ्नो लगानी सुरक्षित गर्न क्लस्टर परिवर्तन गर्छन्। यसले गर्दा के हुन्छ भने माग उच्च हुन्छ अनि मूल्यमा फरक पर्छ। र विश्वमै सुनमा गरिएको लगानी सबैभन्दा सुरक्षित मानिन्छ। कहिल्यै घाटा हुँदैन। कहिलेकाहीँ अस्थायी रूपमा मूल्य घट्नु बाहेक सुनको लगानी कहिल्यै नोक्सानमा जान्दैन। विगत २० वर्षको मात्रै हेर्ने हो भने यसको मुनाफा ४८०% भन्दा माथि छ। र नेपालमा अझ १२५०% भन्दा माथि छ। विगत १० वर्षको मात्रै हेर्ने हो भने अन्तर्राष्ट्रिय वृद्धिभन्दा नेपालमा ठ्याक्कै दोब्बर छ। अब यो किन भयो भने— हाम्रो जुन मुद्रा छ, त्यसको अवमूल्यनले गर्दा पनि हो।
कतिपय अर्थशास्त्रीले सुनमा गरिएको लगानीले अर्थतन्त्र चलायमान हुँदैन भन्छन्, यस विषयमा तपाईंको धारणा के छ?
– यो त अर्थशास्त्रीहरूको आ-आफ्नै तर्क होला। उहाँहरूले हाम्रो देश गरिब भएकाले त्यस्तो भन्नुभएको हुन सक्छ। सबैले सुनमै लगानी गरे भने नुन कसरी किन्ने? भन्ने जस्तो अवस्था आउन सक्छ। बजार असन्तुलन हुन सक्छ वा अन्य क्षेत्रमा पूँजी अभाव हुन सक्छ भन्ने होला। विकासको गतिमा पनि अवरोध आउन सक्छ भन्ने उहाँहरूको तर्क होला।
तर, यसो सोच्नुहोस्—लगानी गर्ने विषय त व्यक्तिगत विचारको कुरा हो, अधिकार हो। हाम्रो देशमा चाहिँ कानुनले नै त्यो अधिकार कोटा प्रणालीबाट कुण्ठित गरेको छ। तर विदेशमा के हुन्छ भने लगानी विविधिकृत हुनुपर्छ भन्ने मान्यता छ। अनि करिब १५% जति लगानी सुनमा गर्दा सुरक्षित हुन्छ भन्ने विश्वास राखिन्छ। कुनै पनि क्षेत्र सधैं सुरक्षित हुँदैन, तर सुनको लगानी कहिल्यै नोक्सान हुँदैन भन्ने मान्यता छ। नेपालको सन्दर्भमा त झन् अझ सुरक्षित छ,दीर्घकालीन हिसाबले हेर्दा। बैंकको ब्याज भन्दा दोब्बर तेब्बर फाइदा देखिन्छ। त्यसैले लगानी भनेको विविधिकरण हुनुपर्छ। हाम्रो देशमा यसको अभ्यास नभए पनि विदेशमा यस्तो प्रचलन छ।
अलिकति प्रसङ्ग बदलौं, महासंघले आफ्ना सदस्यहरूको मात्र समस्या सम्बोधन गर्छ कि आम उपभोक्तालाई पनि समेट्छ?
– अब यस्तो हो—उपभोक्ताको हकको विषय हेर्ने निकाय वाणिज्य विभाग पनि हो। कानुनले त्यसको प्रत्याभूति दिएको छ। कुनै वस्तु मूल्य तिरेर किन्नुभयो भने त्यस अनुसारको गुणस्तर चाहिन्छ नै—त्यो उपभोक्ताको अधिकार हो।
तर, हामी केहि गर्दैनौं भन्ने होइन। उपभोक्ताबाट आएका सुझाव तथा गुनासोहरू सुन्न हाम्रो महासंघ अन्तर्गत छुट्टै सुनुवाइ इकाइ छ। ती गुनासोहरूको विश्लेषण गरी उपयुक्त कदम चाल्छौं।
हाम्रो महासंघसँग जिल्ला संघ, नगर संघ, बस्तुगत संघआदिका माध्यमबाट आवश्यक निर्देशन प्रवाह गर्छौं।
तर समस्याको मूल जड मैले प्रायः यस्तो ठाउँमा देख्छु—ग्राहकले झापा, सुनसरी जस्ता ठाउँबाट गहना किन्नुहुन्छ, तर बेच्न काठमाडौंतिर खोज्नुहुन्छ, त्यो पनि बिल र परिचयपत्र (नागरिकता)बिना। अनि त्यहाँ समस्या आउँछ। भाउको अति उतार चढावले गर्दा कतिपय केसमा त हामीले रिस्क मार्जिन पनि राख्नुपर्छ।
सुनचाँदी व्यवसायीहरू कुनै राजनीतिक आस्थाका आधारमा संगठित हुनुहुन्छ त?
– अहिलेसम्म स्पष्ट रूपमा त्यस्तो देखिएको छैन। व्यक्तिका आफ्ना आस्था हुन्छन्, गोप्य मतदान गर्ने अधिकारको सम्मान गरिनुपर्छ ।हामी चुनावमा चाहिँ प्यानल बनाउँछौं, तर राजनीतिक आस्थामा आधारित संगठन भने छैनन्। हामी व्यावसायिक मुद्दालाई मात्रै प्राथमिकता दिन्छौं। अन्यत्र जस्तो कुनै पार्टीको भातृ संस्था हाम्रोमा छैन।
नेपालले ज्वेलरी निर्यात पनि गर्छ?
– हो, पक्कै गर्छ। जस्तो जलविद्युतलाई ‘White Money’ भनिन्छ भने, पत्थर र गहना जस्ता वस्तुहरू ‘Bright Money’ हुन्। त्यो चम्किनको लागि ज्वेलरी क्षेत्र माथि आउनुपर्ने हुन्छ।
नेपाल हाल गरगहना निर्यातमा विश्वमा ७१औं स्थानमा छ ।र यसको भविष्य राम्रै छ। तर यसलाई अझ उकास्न कोलागि लागि सरकारको ध्यान आवश्यक छ।
अबको योजना के छ?
– राज्यबाट पाउनुपर्ने सुविधा र सहजीकरण हामीलाई आवश्यक छ। विदेशमा हामीजस्ता व्यवसायीलाई राज्यले संरक्षण दिन्छ, त्यो नेपालमा पनि निरन्तर हुनुपर्छ।हामीलाई व्यवसाय सञ्चालन गर्न एकिकृत नीति (Policy) चाहिन्छ, जुन यहाँ छैन।। कच्चा पदार्थ पनि यथेष्ट चाहिन्छ। संसारमै नभएको विलासिता कर (2%) हाम्रोमा छ। गहना त संस्कृति हो, परम्परा हो, कला हो—यो संस्कारसँग जोडिएको विषय हो।
तर सरकारको नजरमा भने मदिरा र क्यासिनो जस्तै गहना पनि विलासिता वस्तु भयो र त्यसमा दोहोरो कर थपिएको छ। त्यो हटाइनुपर्छ भनेर हामी आवाज उठाइरहेका छौं। हाम्रो विचारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन सकियो भने यो क्षेत्रको बास्तविक प्रगति हुन्छ। ग्राहक र व्यवसायी दुवैका लागि Win-Win स्थिति बन्छ। अब हल मार्किङ सुरु गर्नुपर्छ। २०७१ सालमा नीति पास भए पनि अझै कार्यान्वयन भएको छैन। भारतमा चाहिँ २००० सालमै लागू भएको हो।हल मार्किङ अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता हो—ग्राहकलाई ढुक्क बनाउँछ,गुणस्तरको प्रमाणीकरण हुन्छ। हामी यो लागू होस् भन्ने माग गर्दै आएका छौं।
यदि यो सम्भव भयो भने हामी सजिलैसंग निर्यातगर्न सक्छौं।
अहिलेसम्म पनि सरकारले सुविधा नदिँदा पनि सुनचाँदीका गरगहना निर्यातमा हामी सार्कमा भारत र श्रीलंकापछि तेस्रो स्थानमा छौं।चाँदीको कुरा गर्दा त हामी एशियामै नवौं स्थानमा छौं। कुनै समय हामी एशियाको पाँचौं स्थानमा थियौं। थाइलैण्ड अहिले चाँदीमा विश्वको पहिलो स्थानमा छ, तर उसले २५–३० वर्षअघि हाम्रो डिजाइन नक्कल गर्थ्यो। हाम्रो नक्कल गर्नेहरू यति अघि बढिसके भने सरकारले नीति बनाउन विलम्ब गर्नुहुँदैन । हाम्रो देशको पश्चिम (रुकुम, दैलेख, जाजरकोट) तिर गहनामा लाग्ने टर्मालाइन,अक्वामारिन, क्वार्ज , रुबी सफाएर जस्ता बहुमूल्य पत्थरहरू सजिलै उपलब्ध छन्। कम्तीमा १०–१२ प्रकारका बहुमूल्य तथा अर्थबहुमूल्य पत्थरहरू छन् जुन हिमालयन जेम्सको रूपमा विश्वभर उच्च मागमा रही आएको छ।