
बैशाख १७ बुधबार,२०८२-
आफ्नै तस्बिरसँग
जिस्किनुको मज्जा भिन्नै,
रमाउनुको मज्जा भिन्नै ।
चिम्सा आँखा छोपेको
पातलो चस्मा,
ओठमा बगेको मन्द मुस्कान,
जुरो मिलाएर हल्का कोरेको कपाल।
सायद,
यस तस्बिरलाई हेरेर मेरो परिचय
आ-आफ्नो मनमा बनाउनेहरूलाई
यो अनुहार
झुक्याउन काफी छ,
उडाउन काफी छ।
तर अहँ,
म ढाट्न सक्दिनँ—
न आफूलाई,
न आफ्नै तस्बिरलाई।
तस्बिरमा देखिएको अनुहार
कति बनावटी हो,
त्यो मलाई मात्रै थाहा छ।
फोटोसपमा के -के फेरिए,
त्यो मलाई मात्रै थाहा छ।
यसैले,
फरक पर्दैन मलाई—
यो तस्बिरलाई
कसैले ठाडै
“विज्ञापन” भन्दिए पनि ।
यो तस्बिर
कुनै सर्टिफिकेट होइन,
मात्र एउटा छवि हो,
जसलाई बिना प्रमाणीकरण
सजिलै टाँस्न सक्छु—
मेरो परिचय माग्ने
अफिसका आवेदन पत्रहरूमा,
सामाजिक सञ्जालका भित्ताहरूमा।
मानौँ,
यो तस्बिर सक्कल हो,
र म नक्कल।
तर, आखिर
यी निर्जीव तस्बिरहरूसँग
जब्बर रूपमा जरा गाडिएका छन्—
मेरा अनेक जीवन्त यादहरू।
कहिल्यै बुढो नहुने गरी,
मेरा खण्ड–खण्ड समय
यी तस्बिरहरूमा कैद छन्।
अब हेर्नु छ—
औँला भाँची-भाँची गन्नु छ—
यिनै तस्बिरका पोस्टहरूले
कति बढाउँछन्
मेरा साथी-सञ्जाल।
(कवि नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हुन, उनको साहित्यमा विशेष रुचि छ)