काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति खडकालाई अनुशासन समितिले कारबाही गर्ने !

राजनीति समाचार

बैशाख ६ आइतबार,२०८२/काठमाडौं-

नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको भन्दै कार्वाही प्रकृया अघि बढाएको छ ।

केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ,’ पार्टीको अनुशासन समितिले उल्लेख गरेको छ । ‘तोकिएको समयभित्र स्पष्टीकरणको जवाफ आएन भने विधान अनुरूप कारबाही प्रक्रिया अगाडि बढ्छ,’ संयोजक गुरुङले बताएका छन ।

खड्काले सुरुमा चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।

समितिका अनुसार खडकाले वैशाख २ गते फेरि कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गएका थिए ।

नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।