
वैशाख २३ मंगलबार,२०८२/काठमाडौं-
वामपन्थी नेता प्रदीप नेपालको ७१ बर्षको उमेरमा निधन भएको छ ।
मंगलबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा नेता नेपालको निधन भएको हो ।
अस्पताल श्रोतका अनुसार पार्किन्सन्स रोगबाट ग्रसित उनको स्वास्थ्य अवस्था निमोनिया संक्रमणले जटिल भएपछि हिजो सोमबार अस्पतालको आईसीयूमा उनलाई सारिएको थियो ।
उनले मृत्यु अघि इच्छापत्रमा आफ्नो शवमा पार्टीको झण्डा न ओढाउने र श्रद्धाञ्जलीका लागि पनि पार्टीले कुनै कार्यक्रमको आयोजना गर्न न हुने उल्लेख गरे अनुरुप, सामान्य हिन्दु परम्परा अनुसार दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सञ्चार मन्त्री र गिरिजा प्रसाद कोइरालाको अन्तरिम सरकारमा एमालेबाट शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए ।
करिब एक दशक यता राजनितीमा खासै सकृय न रहेका उनको नेतृत्वप्रति असन्तुष्टि थियो ।
सञ्जय थापाको नामले नेपाली साहित्य क्षेत्रमा परिचित उनले एक दर्जनभन्दा बढी उपन्यास रचेका छन ।
उनलाई सम्झाउने उनका कृति ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका रहेका छन् ।