
जेठ १ बिहिवार,२०८२-
विश्वको गरिब राष्ट्रपति भनेर चिनिने उरुग्वेका होसे मुइका ‘पेपे’ को ८९ वर्षको उमेरमा निधन भएको छ ।
सामान्य जीवनशैली र कष्टकर क्रान्तिकारी यात्रा तय गरेका उरुग्वेका राष्ट्रपति होसे मुइका ‘पेपे’ को निधनबारे बहालवाला राष्ट्रपति यामान्दु ओर्सीले एक्समा समवेदना लेख्दै जनाएका हुन ।
‘गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुइकाको निधनको घोषणा गर्दछौँ । राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेता । हामी तपाईँलाई धेरै याद गर्नेछौँ, पुरानो साथी’, राष्ट्रपपति ओर्सीले लेखेका छन ।
उनको जन्म मे २०, १९३५ मा भएको थियो ।
मुइकाले आफ्नो सन् २०१०-२०१५ को राष्ट्रपति कार्यकालमा, धेरैजसो तलब परोपकारका लागि दान गर्न पछि परेनन ।
उनी आफ्नो कार्यकालमा तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै पनि भ्रष्टाचारमा मुछिएका थिएनन । राष्ट्रपति भएपछि पनि उनी आफ्नो साधारण सानो घरमै बसेका थिए । पेशाले पुष्प खेती गर्दै आएका उनी आफ्नो अन्तिम क्षण पनि फार्म मै बिताएका थिए ।
क्युबाली क्रान्तिबाट प्रभावित भएका उनले १३ बर्ष जति जेल जीवन बिताएका थिए । उनी बिचमा जेलबाट सुरुङ्ग खनेर करिब १०० जना बन्दीहरु संगै भागेका थिए । तर पछि उनलाई पुनः पक्राउ गरिएको थियो ।
विलासी जीवनले आफ्नो जनतासित सम्बन्ध विच्छेद हुने भएकोले साधा शैलीमा रमाउने बताउथे । यी कम्युनिस्ट नेता आफ्नो वचन र कर्ममा जीवन भरी पक्का रहे र अरुलाई पनि उत्साहित बनाई रहे ।
सन् २०२४ मा उनलाई अन्नप्रणालीको क्यान्सर भएको थियो, जुन पछि उनको कलेजोमा फैलियो ।

उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी लगायतका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुइकाको निधनबाट दुःखी भएको बताए। ‘म सधैँ अनुभव र बुद्धिले भरिएको उहाँको सल्लाह सम्झन्छु’, उनले भने ।
उनले आफ्नो छोटो शासनकालमा गर्भपतन र समलिङ्गी विवाहलाई वैधानिक बनाएका थिए । त्यस्तै उनले उरुग्वेलाई मनोरञ्जनात्मक गाँजा प्रयोगको पहिलो वैधानिक देश बनाएका थिए ।
उनका भाषणहरु युवाहरुमा पनि लोकप्रिय छन र विश्वका धेरै भाषाहरुमा अनुवाद गरिएका छन ।
उरुग्वे सरकारले यस दुखद घडीमा ३ दिनको राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ ।
