
असार १२ बिहीवार,२०८२/काठमाडौं-
निर्वाचन आयोगले विभिन्न स्थानमा रिक्त रहेका पदहरुका लागि आसन्न उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावलीमा दर्ता गर्न छुटेकालाई गराउन अपिल गरेको छ ।
बुधबार सूचना जारी गर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा हुने उपनिर्वाचनबारे जानकारी गराएको हो ।
‘रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ ।,’सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले सूचना मार्फत जनाएका छन ।
२०७९ सालमा सम्पन्न भएका विभिन्न तहका निर्वाचनपछि विभिन्न रिक्त पदका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने आयोगको तयारी रहेको छ ।
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) रिक्त रहेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको निलम्बन पछि पद रिक्त भएको हो ।
यसैगरी स्थानीय तहमा पनि १३ वटा वडाध्यक्षको पद रिक्त रहेको छ ।
