
भाद्र १२ बिहीवार,२०८२/खत्याड-
(मुगुस्थित खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीसँग हाम्रा प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि गरेको कुराकानीको आधारमा तयार पारिएको सामाग्री)
१.खत्याड गाउँपालिकाको के कस्ता विशेषता छन ?
-वि.स.२०७३ साल फाल्गुन २७ गते संघिय संरचना निर्धारण भएको मिति अनुसार खत्याड गाउँपालिकाको गठन भएको हो । साविकका ७ गाविस गाभेर निर्माण भएको यस पालिकामा जम्मा ११ वटा वडा रहेका छन् । २०७८ को गणना अनुसार १८८३२ जनसंख्या रहेको यस पालिकामा ३५२५ घरधुरी रहेका छन् । खत्याड गाउँपालिकाको पूर्वमा छायाँनाथ रारा नगरपालिका,पश्चिममा बाजुरा जिल्ला,उत्तरमा सोरु गाउँपालिका,दक्षिणमा जुम्ला र कालीकोट जिल्ला रहेका छन् भने यस पालिका खप्तड र राराको करिडोरका रुपमा परिचित छ । यस पालिकालाई पर्यटन प्रबर्द्धनका लागि केही लगानी गर्न सकियो भने यहाँका जनताको आयआर्जन बलियो हुनेछ । आन्तरिक र बाह्य पर्यटकहरुको आगमनले यहाँको जनताको जनजीविका माथि उठ्ने निश्चित छ ।
२.अध्यक्षमा विजयी हुनुभएपछि यहाँले गर्नुभएका राम्रा कामहरु के के हुन ?
-मुगु आफैमा विकट जिल्ला हो । त्यसमध्ये खत्याड गाउँपालिका पनि विकट नै मानिन्छ । मैले अध्यक्षको कार्यकाल सम्हालेपछि यहाँका सबै वडाहरुमा यातायातको पहुँच पुर्याए । सडक सञ्जाल पहिला पनि खोलिएको थियो, त्यसैलाई विस्तार गरी ११ वटै वडासम्म सडक सञ्जाल विस्तार गरेका हौं ।
कर्णालीसँग सुदूरपश्चिम जोड्ने गरी बाजुराको हिमाली गाउँपालिका जोड्ने गरी पुल निर्माण गर्यौ । ६२ मिटर लामो बेलीब्रिज पुल निर्माणपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ ।
जनताका लागि अत्यावश्यक स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि पालिकाको क्षमताले सकेजति सक्रिय र प्रभावकारी ढंगले काम गर्दै आएका छौं । गाउँकै पढेलेखेका र योग्य व्यक्तिहरुलाई परिचालित गरी जनतालाई स्वाथ्य, शिक्षा सेवा दिइरहेका छौँ । तर प्रदेश सरकारले ऐन नै बनाएर करार कर्मचारी हटाउने निर्णय गरेपछि भने कामका केही बाधा भएको छ । हामीले ती बाधा व्यवधानहरु हटाउने कोशिस गरिरहेका छौँ ।
३.सहिद परिवार, घाइते-अपांग तथा द्वन्द्वपीडितहरु लक्षित कस्ता कामहरु गर्नुभएको छ ?
-आवाजविहीन जनताको आवाज बोकेर युद्धमा होमिनु भएका महान् योद्धाहरुले व्यहोर्नुभएको क्षतिको पूर्ति त हुनै सक्दैन । त्यै पनि आफू पालिका अध्यक्षको हैसियतमा रहँदा मैले उहाँहरुको योगदानलाई नविर्सिकन उहाँहरुको अधिकार दिलाउने कोसिस भने पक्कै गरेको हुँ । आर्थिक रुपमा थोरै भएपनि उहाँहरुलाई सहयोग गर्ने घोषणा गरेको छु । हाल भने मेरो गाउँपालिकामा रहनुभएका सहिद परिवार, घाइते अपांग तथा द्वन्द्वपीडितहरु लक्षित गरी प्रतिव्यक्ति एक–एक हजार दिने घोषणा गरेको थिए । सोही घोषणा बमोजिम पालिकाभित्र रहनुभएकाहरुको विवरण तयार पारी प्रतिमहिना ६० हजार पालिकाले उहाँहरुलाई दिँदै आएको छ ।
४.कृषि क्षेत्रमा के कस्ता पहलहरु गर्नुभएको छ ?
-हाम्रो मुलुक नै कृषि प्रधान मुलुक भएपनि अहिले अधिकांश मानिसहरु यो पेशा छोडेर विदेश पलायन भइराख्नु भएको छ । मेरो पालिकामा पनि यो समस्या छ । अरु खेति–किसानीको काम त परमपरादेखि नै चलि आएको हो । त्यै पनि यहाँ रहनुभएका समुदायहरुलाई कृषिमा निरन्तरताका लागि हामीले टिमुरको विरुवा दिने गरेका छौं । प्रत्येक वडालाई ‘टिमुर जोन’ बनाउने उद्देश्यले टिमुरको विरुवा प्रदान गरेका हौं । ‘एक बोट ५० को नोट’ भन्ने नारा अगाडि सार्दै जसले तीन वर्षसम्म एउटा विरुवालाई जोगाउन सक्छ, उसलाई सो विरुवावापत रु ५० का दरले दिने घोषणा पनि गरेका छौं । सोही अनुरुप किसानहरु पनि आयआर्जनका लागि काम गर्नुहुन्छ भने पालिकाले पनि उहाँहरुलाई प्रोत्साहन गर्न लागिपरेको छ । त्यस्तै रैथाने बालिलाई ११ वटै वडाहरुमा उत्पादनका लागि प्रोत्साहन गरेका छौं । हावापानी र भुगोलको हिसावले जहाँ जे बढी उत्पादन हुन्छ, त्यो वडामा त्यसैको विउ–विरुवा पालिकाले प्रदान गर्छ । मार्सीधान खेती, मकै, सिमी, आलु, जस्ता जुन वडामा जे उत्पादन हुन्छ, त्यसलाई प्रोत्साहन पालिकाले गरिरहेको छ । खाद्य संस्थानसँग समन्वय गरी विषादीरहित उत्पादनलाई खिरिद गर्ने गरी प्रक्रिया मिलाएका छौं ।
५. पर्यटनको क्षेत्रमा गर्नुभएका कामहरु के कस्ता छन ?
-यो पालिका धार्मिक तथा युद्ध पर्यटनका लागि प्रशस्तै सम्भावना बोकेको क्षेत्र हो । त्यस्तै खप्तड र राराको बीचको पूलको रुपमा यस पालिकाले काम गरिरहेको छ । यो करिडोरको रुपमा छ । यसको संरक्षण गर्न सकियो भने यहाँका जनताको जीवनस्तर माथि उकासिने निश्चित छ । तर हामीसँग आर्थिक आयको स्रोत छैन । प्रदेश र संघीय सरकारले हामीलाई पक्षपात गरेको छ । पार्टीगत रिसिइबी साँदेर खत्याड गाउँपालिकालाई ‘ब्ल्याक लिस्ट’मा राखेको छ । एमाले र कांग्रेसको नेतृत्व सरकारका कारण हामीलाई बजेट नपार्ने गरी विभेद गरेको छ । यसले गर्दा हाम्रो पालिकामा पर्यटन प्रबर्द्धनको सम्भावना प्रशस्त भएपनि उचित आर्थिक स्रोतको अभावमा हामीले त्यसलाई संरक्षण तथा सम्बर्द्धन गर्न नसक्दा पर्यटन क्षेत्र ओझेलमा परेको छ ।
६.आगामी योजनाहरु के के छन ?
-यस पालिकाको अध्यक्षमा निर्वाचित भएर कार्यरहत रहँदा मैले अहोरात्र खटिरहँदा पनि सोचेअनुरुप काम गर्न सकेझै लागेको छैन । विकासका लागि मुख्य कुरा ‘आर्थिक पाटो’ रहेछ । जसमा हामीलाई राजनीतिक रिसिइबीका कारण हामीमाथि विभेद गरियो । बजेट विनियोजनमा विभेद गरियो, यहाँका कर्मचारी अन्यत्र सरुवा गरियो,यहाँ हाकिमलाई अन्यत्र सरुवा गराइयो, र नयाँ पठाइएन । लामो समयदेखि कर्मचारीहरु तलवविहीन बने । यति हुँदासम्म पनि हाम्रो कुरा सुन्ने कोही भएन । त्यतिबेला चाँही निकै उदेक लाग्छ । तर हाम्रो कर्तव्य छोडेका छैनौं । जनताको साथमा अगाडि बढीरहेको छु । यो नेतृत्वको सरकार रहेसम्म हामी यहाँ थप केही गर्न सकिन्छ जस्तो लाग्दैन । अब मेरो कार्यकाल पनि अन्तिम चरणमा आइपुगेको छ करिव करिव । त्यसैले यस पालिकामा सुशासन र भ्रष्टाचार मुक्त बनाएर विदा हुन पाए म सन्तुष्टि हुने थिए ।
