पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो, तयार हुनु पर्छ : जनार्दन शर्मा

अन्य राजनीति समाचार


भाद्र १२ बिहीवार,२०८२/बुटवल-
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी पुनर्गठनका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने बताएका छन ।

बिहीवार शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको जिकिर गर्दै सो कुरा बताएका हुन ।

‘कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य छ । त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ’, उनले भने ।

शर्माका अनुसार दलहरू जनताका मुद्दामा स्पष्ट भएनन, नीतिहरू प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए । ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन,’ उनले थपे ।

त्यसैगरी उनले पार्टी नेतृत्वले आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरूको टिम बनाउन नसकेको पनि उल्लेख गरे ।

नेकपा गठन हुँदाको उत्साह सेलाउनुमा नेताहरूको स्वार्थलाई दोष दिदै उनले नेतृत्वको सत्ता स्वार्थका कारण कार्यकर्ताको उत्साहमा चिसो पानी खन्याइएको बताए ।