
असोज २ बिहीवार,२०८२/गोरखा-
(गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरसँग’६ प्रश्न’ सेगमेन्ट कालागि हाम्रो प्रतिनिधि पुष्पा महराले तयार पारेको सामाग्री)
१.यस पालिकामा तपाईको कार्यकालमा भएका कामहरुमध्ये उल्लेखनीय कार्य के के हुन् ?
-मैले मेरो कार्यकालमा कामहरु थुप्रै गरेको छु । जसमध्ये म आफैलाई आत्मसन्तुष्टि मिलेको काम भनेको जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सुधार हो । जनताको स्वास्थ्य आजको आवश्यकता महशुस गरेरमा मैले यस क्षेत्रमा अलि बढी जोड दिएको हुँ । र त्यसमा सफल भएको पनि ठान्दछु । पहिलो नम्बरमा गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्युसम्म स्वास्थ्य’ भनिने कार्यक्रम नै संचालन गरेका छौँ । जसमा यहाँका नागरिकका लागि सन्तान जन्माउनका लागि जिल्ला अस्पताल गोरखासम्म पुग्न एम्बुलेन्सको निःशुल्क व्यवस्था गरिएको छ । विरामीको जटिल समस्या भएमा अस्पतालले काठमाडौं, पोखरा, भरतपुर लगायत अन्यत्र पठाउने भएमा पनि त्यहाँसम्म जानका लागि निःशुल्क सेवा पाउने ब्यवस्था छ ।
त्यस्तै दोस्रो नम्बरमा मेरो नगरपालिकाभित्रका जेष्ठ नागरिक, अपांग, अनाथ र असहायलाई पनि गोरखा अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । त्यस्तै गोरखा नगरपालिकाका नागरिकले प्रदेश अस्पताल गोरखामा उपचार गराउन जाँदा कुनै शुल्क नलाग्ने गरी हामीले अस्पतालसँग सम्झौता गरेका छौं । ५० शैयाको उक्त अस्पतालमा ल्याव अन्तर्गत एक्सरेदेखि १८ प्रकारका ल्याव सुविधाहरु सबै निःशुल्क हुनेछ । यसपालिकाका कोही बिरामी अस्पताल भर्ना भएमा बेड चार्ज समेत नलाग्ने देखि ९८ प्रकारको सरकारी सेवा सुविधा पनि उहाँहरुलाई उपलब्ध गराइन्छ ।
तेस्रो नम्बरमा गोरखा नगरपालिकामा लायन्स आँखा अस्पतालमा पनि हामीले सम्झौता गरेका छौं । यहाँका नागरिकहरुलाई मोतीयाविन्दुको अप्रेशन निःशुल्क रुपमा गरिन्छ । आँखा अप्रेशनत गरेपछि चश्मा,
कन्ट्याक्ट लेन्स र अन्य औषधीहरु पनि निःशुल्क रुपमा वितरण गरिन्छ । हालसम्म तीन सय भन्दा बढीले यो सेवा लिइसक्नु भएको छ ।
चौथो नम्बरमा गोरखा नगरपालिका र प्रदेश स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी एकीकृत स्वास्थ्य कार्यक्रम लागू गरिएको छ । यस कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकामा भएका आयुर्वेदिक शाखालाई पनि गोरखा आस्पताल परिसरमा राखिएको छ । यसमा जनतालाई निःशुल्क आयुर्वेदिक सेवा सुविधा पनि उपलब्ध गराइएको छ । ग्यास्ट्रिक, पाइल्स, मधुमेह, थाइराइड लगायतका रोगहरुको औषधी, अपरेशन निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । त्यस्तै ‘शिरोधारण’ भनिन्छ, शरीरलाई बफ्याउने, तताउने, सेकाउने खालका सेवाहरु पनि सर्वसाधारणलाई निःशुल्क उपलब्ध छ ।
पाँचौ नम्बरमा कुरा गर्नुपर्दा ‘नगर प्रमुख स्वास्थ्य सहायता कार्यक्रम’ अन्तर्गत असक्त, असहाय, गरीबलाई तत्काल उपचार गर्नुपर्ने तर आर्थिक अभावले उपचारमा कठिनाई भए वडाध्यक्षको सिफारिसमा रु १०,००० सम्म नगद नै उपलब्ध गराईन्छ । त्यस्तै ‘नगर उपप्रमुख सुत्केरी सहायक कार्यक्रम’ अन्तर्गत गरिव, असक्त तथा सुत्केरी महिलाहरुलाई पनि रकम उपलब्ध गराइन्छ । क्यान्सर, क्षयरोग (टिबी) पत्ता लगाउनेदेखि स्त्री रोग पत्ता लगाउने सम्बन्धी विभिन्न खालका शिविरहरु पनि संचालन गर्दै आइरहेका छौं । विभिन्न ठाउँमा गरिने भएकाले त्यही ठाउँका विशेषज्ञ डाक्टरहरुसँग समन्वय गरी शिविरहरु संचालन गरिन्छ । तल्लो क्षेत्रमा पर्ने तारानगर स्वास्थ्य चौकीमा नगरपालिकाकै पहलमा एमबीबीएस डाक्टरबाट विरामीहरुले सेवा पाइरहेका छन् । माथिल्लो पट्टी ताप्ले कोखिआलेमा पनि डाक्टरहरुले विरामीलाई सेवा दिइरहेका छन् । यि लगायत अन्य सबै स्वास्थ्य सेवा नियमित संचालन गर्दै आएका छौं । त्यस्तै मृत्यु पश्चात अर्थात शव पोलिने ठाउँ ‘राम शाह घाट’मा शव पोल्नका लागि दाउराको निःशुल्क व्यवस्था गरिएको छ । यो वर्ष हामीले शव वाहन खरिद गर्ने तयारीमा छौं । त्यसपछि शवलाई जलाउने वा गाडेर सदगद गर्ने स्थानसम्म पु¥याउन सहयोग पुग्नेछ । अर्थात गोरखा नगरपालिकाको स्वास्थ्य सेवा कार्यक्रम भनेको जन्मदेखि मृत्युसम्म महत्वपूर्ण कार्यक्रमहरु रहेको छ ।
२.तपाईको नगरपालिकामा पर्यटनको सम्भावना कस्तो छ ?
-यो वर्ष हामीले पर्यटन वर्ष २०२५ मनाई रहेका छौं । गत वर्षको भाद्र २१ गतेदेखि पर्यटनसँग सम्बन्धित ३१ वटा कार्यक्रमहरु सार्वजनिक गर्यौ । जस अन्तर्गत गोरखा नगरपालिकाले करिव ५६ वटा पर्यटनसँग सम्बन्धि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि मुख्य बुँदाहरु सार्वजनिक गर्यो । कुनै धार्मिक, कुनै साँस्कृतिक पोइन्टहरु समावेश गरेर हामीले एउटा किताब नै तयार पारेका छौं, केही बुकलेटहरु पनि तयार गरेका छौं । विभिन्न साँँस्कृतिक पर्व, मेलाहरुलाई पनि थप व्यवस्थित तरिकाले गरेका छौं । गोरखा महोत्सवको आयोजना गरेका छौं । विभिन्न खेलकूद पर्यटनको विकासका लागि कदम चालेका थियौँ । खेलहरुमा विभिन्न राष्ट्रिय खेलहरुदेखि प्रदेशस्तरीय खेलको आयोजना गरका छांै । यो वर्ष ‘गोरखा गोल्ड–कप’को आयोजना पनि गर्दैछौं । नेपाली सेनासँगको सहकार्यमा हरेक वर्ष गोरखादेखि काठमाडौंसम्म पदयात्राको कार्यक्रम, गोरखादेखि बुटवलसम्म पदयात्राको कार्यक्रम संचालन गरेका छौं । गोरखाको गोरखनाथदेखि गोरखपुरको गोरखनाथसम्म संचालन गरेका छौं । पहिले पहिले पोखरामा मनाउँदै आएको ‘मनास्लु डे’ जापानका नागरिकहरुले नेपालको मनास्लु हिमाल पहिलो पटक चढेको सम्झनामा ‘मे ९’ मा यो मनाउने गरिएकोमा यो वर्षबाट हामी पनि गोरखामा ‘मनास्लु डे’ मनाउँदैछौं । पर्यटकहरुलाई जानकारीका लागि सबै पर्यटन पोइन्टहरुमा सूचना बोर्ड राखेर त्यहाँको बारेमा छोटकरीमा समेत उल्लेख गरेकाछौं । त्यस्तै स्टिक कोडहरुमार्फत त्यहाँको‘क्युआर कोड’ राखिदिएका छौं । त्यसमा स्क्यान गर्दा,त्यहाँको बारेमा सम्पूर्ण जानकारी, महत्व सहजै थाहा पाउन सकिन्छ । त्यसपछि हामीले पर्यटनमा सँगसँगै सहकार्य गरेर फुड फेष्टिबलहरु लगायतका कार्यक्रमहरु, सान्स्कृतिक महोत्सवहरु संचालन गरेका छौं । गोरखाको प्रचार प्रसार गर्नका लागि लुम्बिनी, बन्दीपुर, पोखरा र सौराहा लगायत विभिन्न शहरहरुको पर्यटकीय क्षेत्रमा पर्यटन सञ्जाल गठन गरेका छौं । भारत, जापान, बेलायत लगायत अन्तर्राष्ट्रिय मुलुकहरुसँग पनि यसको सञ्जाल विस्तार हुँदै छ ।
भारत, जापान, बेलायत लगायत अन्तर्राष्ट्रिय मुलुकहरुसँग पनि यसको सञ्जाल विस्तारका लागि तयारी भइरहेको छ । गोरखा नेपाल एकीकरणको इतिहास भएको स्थान हो । त्यसैले ‘विजय विगुल’ भनिने कार्यक्रम अनुसार गोरखाको ठूलो आँगन भन्ने स्थानमा हरेक दिन बिहान नेपालको राष्ट्रिय झण्डा राख्ने र बेलुका झिक्ने कार्यक्रम गर्छौं । नेपाली सेनासँगको सहकार्यमा तत्कालिन अवस्थाको सेनाको भेषमा कालो दौरा सुरुवाल र टोपी लगाएर परेड खेल्दै सेनाले राष्ट्रिय झण्डा राख्ने र झिक्ने गर्दछन् ।
३. किसानहरुका लागि के के गर्नुभएको छ त ?
-किसानहरुका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम गरिरहेका छौं । वडाहरुका विभिन्न ठाउँहरुलाई कृषिपकेट क्षेत्रको रुपमा छुट्याएका छौं । कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा यो वर्षबाट हामी कृषि उत्पादन र विक्री केन्द्र स्थापना गर्दैछौं । कृषिमा ढुवानीको व्यवस्था चाँडैनै गर्दैछांै । किसानहरुले उत्पादन गरेको अन्नबालीहरु नजिक टाढा जहाँ लिएर जान पनि सहज हुने हिसावले सो कृषि एम्बुलेन्सको नाममा ढुवानीको व्यवस्था गर्न लागेका छौं । यो वर्ष बाँसको टनेल वितरण गर्दैछौं । दुध उत्पादनमा अनुदानको कार्यक्रमहरु पनि संचालनमा ल्याएका छौं, दुधलाई बजारको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं । हाम्रा पालिकामा किसानहरु दुध र मासुमा करिव करिव आत्मनिर्भर हुनुहुन्छ । तरकारी उत्पादनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । तरकारीको बजारका लागि पालिकाले कोसिस गरिरहेको छ । हाट बजार राख्ने योजना छ तर ठाउँको अभावमा त्यो योजना सफल भइराखेको छैन । केही अनुदानहरु गोरु पाल्ने किसानलाई प्रोत्साहन, कृषि प्रविधि वितरण, दाना बनाउने मेसिन लगायतका सामानहरु किसानहरुलाई उपलब्ध गराएका छौं । कुनै कुनै ठाउँमा भने बाख्रा, भैंसी नै उत्पादनका लागि अनुदान स्वरुप दिएका छौं । सिंचाईमा अलिकति समस्या भएकाले त्यसको समाधानका लागि पनि प्रयासरत छौं । यो वर्ष हामीले कृषि विशेष वर्षको रुपमा कामलाई अगाडि बढाइ रहेका छौं ।
४. कृषि उत्पादनका लागि कुन क्षेत्रलाई पकेट क्षेत्र भनेर घोषणा गरिएको छ ?
-यहाँ अहिले बढी उत्पादन हुने चैते धान हो । त्यसैले यसको रोपाईं तथा संरक्षण गर्ने कार्यक्रम छ । दुधको पकेट क्षेत्र, मासु, बाख्रा पालन लगायत रहेको छ । तरकारी तथा फलफूलहरु सुन्तला–कागती उत्पादन पकेट क्षेत्र भनेर नै छुट्याइएको छ । कहीँ कहीँ मौरी पालन गर्ने क्षेत्र पनि निर्धारण गरेका छौं । तल फाँटमा चाहिँ धान भएको ठाउँमा आलु पनि हुन्छ । आलुको पकेट क्षेत्र पनि छुट्याएका छौं ।
५.गोरखा पनि जनयुद्ध प्रभावित जिल्ला पर्यो, सहीद तथा घाइते परिवारलाई के कस्ता सहयोग सुविधा उपलब्ध छ ?
-जनयुद्धकालमा निकै क्षति भएको जिल्ला मध्ये पर्छ गोरखा जिल्ला । यहाँका सहीदहरुप्रति उच्च सम्मान गर्दै गतवर्षसम्म हामीले विभिन्न ठाउँहरुमा सहिद स्मृति भवनहरु, स्मृति प्रतिक्षालय, सहीद गेटहरु निर्माण ग¥यौं । यो वर्षबाट भने सहिद परिवारहरुलाई सीपमुलक तालिमको व्यवस्था गरेका छौं । हामीले घाइते र सहिद वेपत्ता परिवारका लागि मात्रै नभई कुनै पनि काम राम्रो काम गर्नका लागि पनि कानुन बाधा बनि रहेको महशुस गरेका छौँ । कानुनी प्रक्रियाबाट काम गर्दै जाँदा जनताले सेवा सुविधा प्राप्त गर्ने बेलासम्म आफ्नै विदाई भई सक्ने अवस्था देखियो । फेरि कानुन विपरित काम गर्ने भन्न खोजेको होइन, तर कुनै पनि काम गर्दा जनताले प्रत्यक्ष अनुभुति गर्न पाउने गरी परिणाम चाँडै प्राप्त गर्न सके काम थप प्रभावकारी हुन्थ्यो भन्ने मेरो बुझाई हो । अर्थात राज्यले कानूनी रुपमा कामहरु गर्न सजिलो बनाइ दिनुप¥योे । अहिले जे गर्दा पनि कानुनी बाधा, अड्चनहरु निकै छन् । काम गर्न कठिन छ । त्यसैले हामीले हाम्रोतर्फबाट गर्नसक्ने कामहरु गर्न पनि कानुनी प्रावधानका कारण अप्ठेरो भइरहेको छ । स्थानीय तहका लागि संघले कानुनहरु निर्माण गर्न तयारी गरेपनि त्यो सफल भएको छैन । शिक्षा ऐनमै समस्या भइ रहेको छ । मुख्यतः जनतालाई बाधा हुनेखालको कानुनलाई हटाई काम गर्ने वातावरण बनाई दिनु पर्यो।
६ गोरखा नगरपालिकावासीहरुलाई के भन्न चाहनुहन्छ ?
–गोरखा नगरपालिकावासीहरुको सेवा र सुविधाका लागि पालिकाले सक्दो प्रयासहरु गरि रहेका छ । जनताको सुख नै हाम्रो सफलता हो भन्ने लाग्छ । त्यसैले नगरपालिकाले ल्याएका कार्यक्रमहरुलाई यस पालिका भित्र रहनु भएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाई दिदी बहिनीहरु सबैले सुविधाको उपभोग गर्नुहुन अनुरोध आग्रह गर्छु । कोही कसैको पहुँचमा सेवा सुविधा पुगेन भने कृपया थाहा हुनेले जानकारी गराइ दिनु होला । सरकारी सुविधा प्राप्त गर्नु उहाँहरुको अधिकार हो । त्यसैले उक्त अधिकारबाट कोही बञ्चित नहुनु होला । हामीले विकास निर्माणका कामहरुलाई पनि तीव्र गतिमा अगाडि बढाइ रहेका छौं । सबैले यो नगरपालिकाले अगाडि बढाएको प्रक्रियालाई सहज रुपमा लिनु होला ।
