हिरालाल केसीले ल्याए मौलिक स्थानिय शब्द समेटिएको ‘बकचालो’ !



कार्तिक २२ आइतबार,२०८३/सल्यान-

सल्यान र रुकुमका विभिन्न क्षेत्रमा प्रचलनमा रहेका चार हजार मौलिक शब्द समेटिएको पुस्तक ‘बकचालो’ विमोचन गरिएको छ। लेखक तथा पत्रकार हिरालाल केसीद्वारा लिखित पुस्तकको शनिबार शारदा नगरपालिका–१, श्रीनगरमा प्रतिनिधिसभा सदस्य रमेश मल्ल र सल्यानका प्रमुख जिल्ला अधिकारी वन्धना केसिले  विमोचन गरेका हुन्।

हराउँदै गएको स्थानीय भाषा र मौलिक शब्दको संरक्षण तथा अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक केसीले बताए। त्यसका लागि गाउँगाउँ पुगेर अग्रज पुस्तासँग संवाद गर्दै उनीहरूले प्रयोग गर्ने र स्थानीय जनजीवनमा प्रचलित शब्दहरू सङ्कलन गरिएको उनले जानकारी दिए। तीन महिनाको अवधिमा पुस्तक तयार पारिएको उनको भनाइ छ।

पुस्तकमा सल्यानका दार्मा र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका साथै रुकुमका त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिमा प्रचलनमा रहेका मौलिक शब्द समेटिएका छन्। स्थानीय भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिहरूलाई पुस्तकमा सङ्ग्रह गरिएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वन्दना केसीले भाषा पुर्खाको इतिहास भएको बताइन्। स्थानीय शब्दहरूको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले भाषिक सम्पदा संरक्षणमा सबैले योगदान पुर्‍याउनुपर्नेमा जोड दिइन्।

‘बकचालो’ स्थानीय मौलिक शब्दहरूको सङ्गालो मात्र नभई समाजको पहिचान, इतिहास, संस्कृति र सभ्यताको जीवन्त दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ। भाषा, शब्द, उखानटुक्का र अभिव्यक्तिमा मानिसको अनुभव, ज्ञान, परम्परा र जीवनशैली प्रतिबिम्बित हुने भएकाले तिनको संरक्षण र अभिलेखीकरण आवश्यक रहेको पुस्तकको अवधारणा छ।

पछिल्लो समय नयाँ पुस्तामा स्थानीय भाषिका र मौलिक शब्दको प्रयोग घट्दै गइरहेका बेला पुस्तकले भाषिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कुमाख मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको पुस्तकमा चार हजार मौलिक शब्द समेटिएका छन्।

(लेखक युद्ध पत्रकार हुन)

source-kantipur/Sarita Chalaune

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते आइतबार
अरु पनि पढ्नुहोस्