कार्तिक २८ शनिबार,२०८३/जनकपुरधाम-
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।
शनिबार एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राजीनामा दिएका हुन ।
प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकास खोज्न आफूले राजीनामा दिने निर्णय गरेको उनले बताएका छन ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबिच नयाँ सत्ता समीकरणको सहमति यस अघि नै भइसकेको थियो ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई गत असोज २५ गते सामूहिक राजीनामा गराउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस्तै सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिए ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्