असोज ७ मंगलबार,२०८२/काठमाडौं-
नेपाली कांग्रेसमा पनि विशेष महाधिवशेनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ ।
काङ्ग्रेसका नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर अभियानको नेतृत्व गरेका छन ।
नेपाली कांग्रेसको विधान अनुसार नै आफुहरु हस्ताक्षर अभियानमा लागेको बताउदै ४० प्रतिशत हस्ताक्षरसहित निवेदन पेश भएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने पुर्व केन्द्रिय सदस्य तथा महाधिवेशन सदस्य गुरुराज घिमिरेले बताए ।
घिमिरेले अहिलेको विषम परिवेशमा नेपाली कांग्रेस मुकदर्शक भएर बस्न न हुने र युवाहरुको चाहना अनुरुप परिमार्जित हुँदै अगाडि बढनु पर्ने बताए ।
संस्थापन पक्षबाट विशेष महाधिवेशनबारे विरोध आएपछि बिधानमा टेकेर अगाडि बढने निर्णय दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट तथा नयाँ ढंगले पार्टी चलाउनु पर्ने सोच राख्ने कार्यकर्ताहरु हस्ताक्षर अभियानमा जुटेका छन ।
उनीहरुले हस्ताक्षरको महत्वबारे उल्लेख गर्दै अहिलेको परिस्थितिको माग बमोजिम अगाडि बढनु पर्ने आव्हान गर्दै विज्ञप्ति समेत निकालेका छन ।
नेता प्रकाशमान सिंहको निवासमा सोमबार संस्थापन पक्षका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह र प्रकाशशरण महतले अहिले पार्टी सभापति स्वस्थ न भएको बेला यस्तो निर्णय लिनु ठिक न भएको धारणा राखेका थिए ।
२०१२ सालमा सुवर्ण शमशेर राणा नेतृत्वको कार्यसमितिले विशेष महाधिवेशनको निर्णय गरेको इतिहास रहेको छ । त्यसपछि २०१४ मा बीपी कोइराला सभापति बन्न सफल भएका थिए ।
