असोज ३१ शुक्रबार,२०८२/डोल्पा-
(डोल्पास्थित जगदुल्ला गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायासित कुराकानीको आधारमा हाम्रो प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि तयार पारेको सामाग्री)
१.जगदुल्ला गाउँपालिकाको विशेषताबारे बताई दिनुहोस न ?
–हिमाली जिल्ला अन्तर्गत पर्ने यस जगदुल्ला गाउँपालिका उपत्यकाको स्वरुपमा बनेको छ । चित्रा सुन्दरी चोकको सिमाना देखि पश्चिममा जुम्ला, जाजरकोटमा अवस्थित छन । यहाँ विभिन्न भाषाभाषी, जातजातिका मानिसहरुको बसोबास रहेको छ । यस पालिकामा पर्ने जगदुल्ला तालको नामबाट नै यस पालिकाको नामाकरण भएको हो । र यो ताल हिन्दु र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थलको गन्तव्यको रुपमा रहेका छ । यसको खास विशेषता यही नै हो ।
२.यस पालिकामा तपाईको कार्यकालमा आफू सन्तुष्टि बन्ने गरी के कस्ता कामहरु भएका छन त ?
– हामीले शैक्षिक क्षेत्रमा निकै परिवर्तन ल्याएका छौं । हाम्रो पालिकामा दुईवटा माध्यामिक विद्यालय र ६ वटा आधारभूत गरी जम्मा ८ वटा विद्यालय संचालनमा छन् । एउटा दलित बस्ती नै छ यहाँ; जहाँ हामीले आवास नै संचालन गरी उनीहरुको आवश्यकता बमोजिम विपन्न,असहायहरुलाई निःशुल्क शिक्षा, निःशुल्क आवासको व्यवस्था गरेका छौं । दलित विद्यार्थीहरुका लागि यो योजना तयार पारिएको हो । सर्वेक्षण नै गरेर न्यून आर्थिक अवस्था, पहिले देखि नै शिक्षा क्षेत्रमा पहँुच नपुगेको अवस्था भेटियो । परम्परादेखि नै बिहानै उठेर अर्काको काममा जाने, त्यहीँ खाना खाएर आउने, जहाँ काम ग¥यो त्यही पेयपदार्थ खाएर आउने, आफ्ना बच्चाहरु कहाँ छन्, कता छन् केही थाहा नहुने, जहाँ जहाँ अभिभावकहरु जाने त्यही सँगै बच्चाहरु पनि जाने आउने गरेको देख्दा आफ्ना सन्तानप्रतिको अभिभावकको जिम्मेवारी पनि देखिएन र बच्चाको भविष्यका लागि उनीहरु विद्यालय पढाउनु पर्छ भन्ने पनि चेतना भेटिएन । त्यसैले यो समस्या समाधानका लागि पालिकाले २०७६ सालमा दलित आवास नै निर्माण गरेर सञ्चालनमा ल्याएका हौं । तत्कालीन मुख्यमन्त्री महेन्द्र शाहीले उद्घाटन गरेका थिए । त्यस्तै महिलालाई पढाउनु हुँदैन भन्ने मनोविज्ञानबाट ग्रसित यहाँका स्थानियप्रति लक्षित गरी हामीले सबै बालबालिकाहरु अर्थात सतप्रतिशत नै विद्यालय जानुपर्ने अभियान सञ्चालन ग¥यो र हामी सफल पनि भएका छौँ । टाढा घर भएका र घरको काममा मात्र अलमलिने भएकोले ति छात्राहरुका लागि हामीले आवासको व्यवस्था गरेका हौं । त्यसैले अहिले शिक्षामा राम्रो खालको आधारभूत आवश्यकता र डिजिटल प्रविधिमैत्री विद्यालय संचालन गरेका छौं ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि सोचेभन्दा पनि राम्रो उपलब्धि हासिल भएको छ । दलित, विपन्न, असहाय वर्गहरुलाई ‘स्थानीय सरकार छ है’ भन्ने अभाष दिलाउन सकेका छौं । जनताको आधारभूत आवश्यकताका आधारमा भौतिक पूर्वाधारहरु पनि निर्माणको काम गरेका छौँ ।
३.जगदुल्लामा पर्यटन प्रबर्द्धनका लागि के कस्ता कामहरु गर्नु भएको छ ?
–सर्वप्रथम हामीले हामीसँग रहेका पर्यटकीय स्थालहरुको प्रचारप्रसार गर्ने काम गर्यौ । जगदुल्ला आफैमा एउटा ताल हो, यो आफै पर्यटकीय सभावना बोकेको क्षेत्र भयो । त्यस्तै यहाँ विभिन्न हिमश्रृंखलाहरु हिमालहरु छन् । हामी स–साना हुँदा पनि विदेशीहरु हिमाल चढ्नका लागि आउने गरेको सम्झनाहरु छन् । यो क्रम बीचमा केही घटेको महशुस भएपछि यसलाई पुनः कसरी संचालन गर्न सकिन्छ भनेर हामीले सोच्यौं । त्यो ट्रायल गर्ने, ट्रेकिङ गर्ने, त्यहाँ आरोहीहरुको लागि प्रचारप्रसार गर्ने भन्ने कुरा त्यताबाट सोचौं र हामी अन्य धार्मिक स्थल, गन्तव्य स्थलहरुको खोज गरेर उनीहरुको प्रचारप्रसार गर्ने गरेका छौँ । आन्तरिक तथा बाह्य पर्यटकहरुको सेवा सुविधाका लागि होमस्टे तथा रेष्टुरेण्टहरुको पनि व्यवस्था भई रहेको छ । त्यस्तै हामीसँग भएका अन्य पर्यटकीय स्थलहरुको पनि अध्ययन तथा अवलोकन गर्ने कार्य भई रहेको छ ।
४.जनयुद्धका सहिद परिवार, घाइते, अपांग तथा द्वन्द्वपीडितहरुका लागि के कस्ता कामहरु गरेको छ ?
–हामीसँग तीन घर सहिद परिवारहरु प्रत्यक्ष जोडिनु भएको छ । उहाँहरुको प्रोत्साहनका लागि वार्षिक कार्यक्रम, सभा, सम्मान कार्यक्रमहरु पनि गर्दै आएका छौं । सहिद परिवारका बालबालिकाहरु राम्रो शिक्षा लिई रहेका छन् । एउटा सहिद परिवारका बालक अहिले आएर विद्यालयको शिक्षक नै हुनु भएको छ । त्यस्तै सहिद स्मृति गेट निर्माण गरेका छौं । अन्य घाइते तथा द्वन्द्वपीडितहरुलाई प्रदेश सरकारले पनि केही सहयोगहरु गरिरहेको छ ।
५.किसानहरुलाई प्रोत्साहन स्वरुप कृषिमा के कस्ता कामहरु गर्नुभएको छ ?
–कृषि क्षेत्रको विकासका लागि हामीले निर्वाचन पहिला नै एकखालको रोडम्याप तयार पारेका थियौं । सोही अनुसार काम गर्दै आएका छौँ । सुरुवाती चरणमा एउटा मानिस पनि हिड्न नसक्ने खाले अप्ठ्यारा बाटोघाटोलाई फराकिलो पारेका छौँ, जसले गर्दा ट्याक्टर खेतसम्म जान सक्ने भएको छ । त्यस्तै २०७२ मा बाटो निर्माण तथा ग्राभिल गर्ने तथा ‘एक घर एक व्यवसाय’ भन्ने कार्यक्रम नै तय गरी सोही अनुरुप अगाडि बढ्यौं । कृषि क्षेत्र, पशु पालन र अन्य शीर्षक भन्ने नाम दिएर हामीले कामलाई अगाडि बढायौं । किसानको मर्म र यहाँको भुगोल सुहाउँदो कार्यक्रम छनौट गरी एक जना किसान बराबर एक लाख बराबर विऊ पूँजी व्यवस्थापन गरेर अगाडि बढौं । किसानमाझ हाम्रो उक्त कार्यक्रम निकै लोकप्रिय बन्यो र सफल पनि । सो पूजीबाट सुरु भएको कार्यक्रममा पशुपालन र कृषि उत्पादन निकै लोकप्रिय बन्यो । किसानले पालेका भेडा, च्यांग्रा तथा स्याउको उत्पादन र विक्री वितरण भई रहेका छन् । हामीले केही साना उद्योगहरुमा पनि लगानी गरेका थियौं, त्यो पनि सफल भएको छ । तर किसानले उत्पादन गरेका वस्तुहरुको संचय तथा बजारीकरणमा भने केही समस्या भएकाले अबको हाम्रो उद्देश्य यही रहेको छ । सायद चाँडै नै किसानले उत्पादन गरेका कृषि सामग्रीलाई बजारीकरण र लामो समय संचयको पनि व्यवस्था गर्ने छौं ।
६.तपाईले आफ्नो पालिकामा गर्नु पर्ने केही अधुरा योजनाहरु पनि छन् कि ?
–मेरो पालिकामा पाँच शैयाको एउटा अस्पताल निर्माण गर्ने योजना छ, जुन अब चाँडै नै सूचना प्रकाशित गरी हामी अघि बढ्छौं । यस पालिकाको वडा नम्बर ६ स्थित माझगाउँमा बनाउने हाम्रो योजना छ । त्यसपछि सडक पुर्वाधारका ट्र्याक सबै ठाउँमा खेलिएका छन, त्यसलाई स्तरोन्नति गर्ने योजना रहेको छ ।
