असोज २४ शुक्रबार,२०८२/ललितपुर-
नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा बनेको ठोकुवा गरेका छन ।
शुक्रबार पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले आयोजना गरेको सम्पादकहरूसँगको संवादमा संयोजक प्रचण्डले सो कुराको खुलासा गरेका हुन ।
‘यो सरकार केपी कै सिफारिसमा बनेको हो । हामी त साक्षी मात्रै हौं । त्यसकारण ओलीले अहिलेको सरकारलाई हाहुको सरकार भन्न नहुने, उनले बताएका थिए ।
प्रचण्डले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठुलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको पनि बताएका थिए ।
उनले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको भन्दै कटाक्ष गर्दै आफुलाई सो कुराको दुख लागेको बताएका थिए ।
उनले जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै सङ्कट निम्त्याएको समेत थपेका थिए ।
यस अघि बिहीबार एमाले अध्यक्ष ओलीले जेन जी आन्दोलनको विपक्षमा हाल आफु बसी रहेको स्थान भक्तपुरबाट धारणा सार्वजनिक गरेका थिए ।
