श्रम सहकारी मार्फत मजदुरलाई पेन्सनको व्यवस्था गरेका छौँ : धनबहादुर बि.क, अध्यक्ष- ताराखोला गाउँपालिका

अन्तर्वार्ता अर्थ पर्यटन राजनीति समाचार

पुस २१ सोमबार, २०८२/ताराखोला-

(बागलुङस्थित ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बि.कसित कुराकानीको आधारमा हाम्रो प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि तयार पारेको सामाग्री)

१. ताराखोला भन्ने बित्तिकै ‘एउटा सुन्दर रमणीय ठाउँ’ भन्ने दिमाखमा आउँछ, यहाँको विशेषताबारे केही बताईदिनुहोस् न ?
– ताराखोला गाउँपालिकामा मगर समुदायहरुको बाहुल्यता छ । यहाँ मगर समुदायको ५१.७ प्रतिशतको बसोबास रहेको छ । उहाँहरुको छुट्टै त्यस्तो प्रयोगमा फरक भाषा त छैन, तर उहाँहरुको संस्कार, संस्कृति, भेषभुषा भने अझैपनि जीवित नै छ । उहाँहरुले ५ वटै वडामा आफ्नै प्रकारका मेला, महोत्सव गर्नु हुन्छ । उहाँहरुले नै पुर्खाैली पेशाहरु, व्यवसायहरु गर्नुहुन्छ । अलिकति हिजोका दिनहरुमा छुटेका र पुराना सामाग्रीहरु लगायत सामान्यको सामान्य कुरा झ्ल्काउने संग्रालय बनाइदिएका छौं । त्यहाँ उहाँहरुले हिजो निगालो, बाँसबाट बन्ने वस्तुहरु, काठहरुबाट बन्ने वस्तुहरु संकलन गर्न लाग्नुभएको छ । यसमा उहाँको भेषभुषा संकलन, कला संस्कृतिको कुराहरु भयो भने अर्काेतर्फ मगर जातिहरु घुमन्ते युगमा विभिन्न स्थानबाट आएर केन्द्रित भएर बसेका बस्तीहरु यहाँ छन् । वडा नं. ३ मा नाम नै गाउँ भन्ने छ । पश्चिमेको जस्तो गुजुप्प परेका घर, ढुंगाले छाएका छाना, ढुंगा र माटोले बनेका पर्खाल छन् । यता तारा गाउँमा भएको वस्ती पनि यो मगर बस्ती हो भन्न जो कोहीले पनि सहजै छुट्याउन सक्ने खालको छ । ताराखोला प्राकृतिक रुपमा पनि धनी छ । यहाँका वनजंगलहरु, जडीबुटी, जंगली जनावरहरु काठहरु, ढुंगा, स्ल्याबहरु, स्टोनहरु जस्ता चीजहरु पर्याप्त मात्राहरु पाइने हुनाले आयआर्जनका निमित्त यहाँ सहज छ । नेपालका अन्यत्रको तुलनामा यहाँका स्थानीयहरु वैदेशिक रोजगारीमा कम गएका छन् ।

२. ताराखोला गाउँपालिकामा गर्नु भएका उल्लेखनीय कामहरु के के हुन् ?
– हाम्रो पालिकामा मुख्यतया शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । पहिला यहाँ बोर्डिङ स्कुल थियो, हामीले त्यसलाई हटाएर सरकारी विद्यालयलाई प्राथमिकता दियौं । विद्यालयको शैक्षिकस्तरप्रति जिम्मेवार व्यक्तिहरु उत्तरदायी बनुन् भन्ने उद्देश्यले यहाँका जनप्र्र्रतिनिधि सरकारी तथा कर्मचारीहरुका छोराछोरी अनिवार्य त्यहाँ पढाउनुपर्ने निर्णय गरी अघि बढेका छौं । म यहाँको अध्यक्ष भएपनि शिक्षकसँग २९ बुँदे करारमा सम्झौता बनाई विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउनका निमित्त तालिमको व्यवस्था गरेका छौं । तालिमपछिको नतिजा हेर्ने हो भने सरकारी विद्यालयबाट पठनपाठनको स्तरउन्नती भएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको कुरा गर्दा अहिलेसम्म हाम्रो पालिकामा सुविधा सम्पन्न एउटा पनि अस्पताल छैन र डाक्टरहरु पनि हुनुहुन्न ।     त्यसैले स्वास्थ्य चौकीहरुलाई नै थप व्यवस्थित हुने गरी काम गर्दै अघि बढेका छौं । हामीले अस्पताल बनाउने योजना अघि सारेका छौं तर, आर्थिक समस्याका कारण अस्पताल निर्माण सुचारु हुन सकेको छैन । बरु यहाँ भएका स्वास्थ्य इकाईहरु थप गरी जनतालाई सेवा दिँदै आएका छौं । करारका कर्मचारीहरु हरेक महिना जनताका घर–घरसम्म पुगेर सेवा दिनुहुन्छ । हरेक घरको परिवार संख्या कति छन्, त्यहाँको वृद्ध र बच्चाको संख्या कति छन् र त्यहाँ कुन प्रकारको रोग छ वा छैन भन्ने विवरण संकलन गरी ल्याउनुहुन्छ । त्यस्तै रुघाखोकी, ज्वरो आउने जस्ता सामान्य रोगीहरुको उपचार हाम्रो स्वास्थ्यकर्मीहरुले विरामीको घरमै पुगेर गर्नुहुन्छ ।
त्यस्तै यातायातको पुर्वाधारमा पनि जोड दिएका छौं । यहाँ मुख्य दुईवटा बाटाहरु छन्, एउटा शहीद मार्ग र अर्काे कृषि सडक गलकोटदेखि म्याग्दी जोड्ने गरी सडकमार्ग । कृषि सडकलाई प्रदेश सरकारले बजेट राखेर क्रमानुगत अगाडि बढाउने काम गरि रहेको छ । सहीद मार्गलाई संघीय सरकारको थोरैमात्र बजेट छुट्याउँदा हरेक वर्ष अलिअलि गरी काम अगाडि बढेको छ । हामीले यसभन्दा बाहेक स्थानीय तहको तर्फबाट प्रत्येक बस्तीमा कच्ची बाटो पुर्याएका छौं । विद्युत पनि पुर्याइदिएका छौं । यहाँ कोही पनि जनता अध्यारोमा हुनुहुन्न । त्यस्तै प्रदेश सरकारको ‘एक घर एक धारा’ भन्ने नारालाई पनि हामीले कार्यान्वय गराएका छौं । सुविधासहितको व्यवस्थापनमा भने अलि समस्या भयो । कारण प्रदेश सरकारले त्यसका लागि ठेक्का गरिदियो, त्यसमा हामीले अरुलाई काम दिन मिलेन, हामीसँग प्राविधिकहरु हुँदाहुँदै पनि अर्कालाई दिएको ठेक्कापट्टाले केही स्थानहरुमा कामहरु अलिक कमजोर भए ।
त्यस्तै आर्थिकसँग जोडेर मैले पालिकामा केही कामलाई अगाडि बढाएको छु । पालिकामा रोजगारी सृजना गर्ने उद्देश्यले सबैलाई समेटेर एउटा सहकारी स्थापना गर्यौ, त्यसमा कृषकको उत्पादन, उत्पादित वस्तु संकलन गर्ने तथा त्यसलाई बजारीकरण गर्नेसम्मको काम गरेका छौं । पालिकाभित्र दूध संकलन गरी बिक्री वितरण गर्ने, कुखुरापालन तथा तरकारी खेती जस्ता व्यवसायिक कामहरु सहकारीबाट भइरहेको छ । त्यस्तै ‘श्रम बैंक’ स्थापना गरेका छौँ । जहाँ ६५ जना युवायुवतीहरु आबद्ध हुनुहुन्छ । स्थानीय सरकारले छुट्टाएको बजेटबाट खास गरी रु दुई लाख, तीन लाख, चार लाख, पाँच लाख गरी समिति मार्फत गरिन्छ, प्राविधिक मार्फत इस्टिमेट गरिन्छ । हामीले काम गरिसकेपछि प्राविधिक मूल्यांकन हुन्छ र सोही अनुसार भुक्तानी पाउनुहुन्छ । ती श्रमिकहरुलाई हामीले सामाजिक सुरक्षा कोषमा आबद्ध पनि गरिदिएका छौं । काठमाडौंमा सामाजिक सुरक्षा कोषमा स्थायी कर्मचारीहको संचयकोष कट्टा गरी करारका कर्मचारीहरु श्रममा आबद्ध श्रमिकहरुलाई काममा आबद्ध सुरक्षा कोषमा कुल १७ हजार ८ सयको ११ प्रतिशत स्थानीय सरकारले, १० प्रतिशत उहाँहरुले जम्मा गर्नुहुन्छ । यही रकम उहाँले एक उमेरमा पुगेपछि पेन्सन सरह पाउनु हुनेछ । उहाँको भविष्यको सुनिश्चितताका लागि हामीले यो काम प्रक्रियालाई अगाडि बढाएका हौं ।

३. तपाइको पालिकामा रहेका किसानहरुका लागि के कस्ता कामहरु गर्नुभएको छ ?
-किसानहरुका लागि प्रकृयागत ढंगबाट नै कृषि शाखा मार्फत फलफुलका बोटहरु, टनेलहरु वितरण, विशेष जातका तरकारीहरु वितरण गर्दै आएका छौं । त्यस्तै स्याउ खेतीलाई पनि विस्तार गर्ने तयारीमा छौं । लक्षित वर्गहरुमा हुने गरी यो उद्यमशीलताबाट थुप्रै कामहरु भएका छन । उद्यमशीलताका लागि सामाग्रीहरु, तालिम दिने, उत्पादन गर्ने, सानातिना उद्योग नै सञ्चालन गर्ने र उहाँहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्याईदिने उद्यमशीलताको शाखाले गरेका छन् । कृषिमा आलु, भाँगो, अलैंचीका लागि पकेट क्षेत्र नै छुट्टाएर आवश्यक केही औजारहरु तथा कृषिका आवश्यक सामाग्री लगायत तालिम समेत दिने गर्दै आएका छौं ।

४. यस क्षेत्रमा पर्यटनको सम्भावना कस्तो छ ?
– ताराखोला गाउँपालिका पर्यटनको दृष्टिले निकै सम्पन्न मान्न सकिन्छ । हिजो जनयुद्धका बेला धेरै भिडन्त भएको ठाउँहरुमध्ये यो पनि एक हो । यसलाई युद्धपर्यटनको दृष्टिले पनि हेर्न सकिन्छ । १० वर्षे सशस्त्र जनयुद्धका बेला माओवादीको आधार क्षेत्रहरु म्याग्दी, बागलुङसँग जोडिएको पालिका हो । युद्धका बेला यहाँ थुप्रै तालिम केन्द्रहरु थिए । त्यही ठाउँलाई हामीले अहिले शहीद पार्क, गोरिल्ला मिनी पार्कहरु, गोरिल्ला पदमार्ग लगायत नाम दिएर त्यसको निर्माण कार्यहरुलाई अगाडि बढाएका छौं । त्यस्तै पकेट गोरिल्ला ट्रयाक बागलुङ हुँदै रुकुम–रोल्पा निस्किने एउटा त छ नै त्यो बाहेक हामीले हामीले छुट्टै अर्काे मिनि ट्र्याक पनि बनाएका छौं । हिजो युद्धका बेला हाम्रा योद्धाहरु, कार्यकर्ता, गाउँ वस्तीमा चेतना छर्दै हिँड्ने कलाकारहरु हिड्ने गोरेटो बाटोलाई जोडेर गाउँपालिकालाई मात्रै जोडेर अर्काे मिनी ट्र्याक पनि बनाएका छौं । हाम्रोमा गाईघाट भन्ने झरना छ । त्यहाँ एउटा ताल छ, माथिबाट पानी बग्छ । त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आगमन हुने गर्दछन । तीनचुले भनिने एउटा मन्दिर छ, त्यो म्याग्दी बाग्लुङको मन्दिरको हो । बालाचर्तुदशीमा त्यहाँ भव्य मेला लाग्ने गर्दछन । त्यस्तै अर्काे लोतीमारे भन्नेमा बागलुङ जिल्लाको मात्रै जमघट हुने अर्काे ठाउँ छ । हाम्रोमा घुम्टीको लेक भन्ने ठाउँ पनि छ । ३,७५६ मिटरसम्मको अग्लो ठाउँ पनि रहेको छ । जहाँ वैशाखमा मेला लाग्नेसम्म गर्दछ । अहिले ट्रेकिङमा भने अलि समस्या छ । काम गर्न लगानी अलि ठूलो खर्च हुने सामान्य खर्चले नपुग्ने, लगानी गरिसकेपछि विदेशीहरु पनि आएर हिँड्ने हो भने हुन्थ्यो, स्वदेशी मात्र हिँड्दा त्यसले लगानी नै उठाउन नसक्ने स्थिती भयो । व्यवसायिक ढंगले यहाँको आयआर्जनका निमित्तसम्म जोड दिने कि भन्ने हाम्रो सोचाई हो । तर ठयाक्कै काम गर्न भने आँट गर्न सकेका छैनौं । हाम्रो गाउँमा सानासाना हाइड्रोहरु पनि छन् । साढे २ मेगावाटको उत्पादन हुँदै आएको छ । एउटा दुई मेगावाट र अर्काे साढे तीन मेगावाटका अन्य थप दुई वटा हाइड्रो पनि पनि निर्माणको अन्तिम अन्तिम चरण पुगेका छन् । यी हाइड्रोहरु भए भने हाम्रो गाउँपालिकामा पनि राजश्व वृद्धिमा थप टेवा पुग्नेछ । यस पालिकामा श्रमबैंक र सहकारी चाँही नयाँ काम हो । यसैको माध्यमबाट जनतामा रोजगारी सृजना गर्ने भन्ने हो । यो घनिभुत ढंगले लागेको छ । किसानहरु बजारतिर बिक्री वितरणमा क्रियाशील हुनुहुन्छ । त्यसैले उहाँहरु आत्मनिर्भर हुनुभएको छ ।

५ श्रम बैंकको बारेमा थप प्रष्ट पारि दिनुहोस् न?
– श्रम बैंकमा हामीले श्रमिकहरुलाई रोजगारी दिनका निम्ति योजना बनाएका हौं । त्यसो भनि रहँदा फेरि प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छ यहाँ, उहाँहरुले काम लगाउनुहुन्छ, अनि सोही बमोजिम ज्याला पाउनुहुन्छ र घर जानुहुन्छ । ९० दिन काम गर्नुहुन्छ । हाम्रो यो श्रम बैंक भनेको चाहिँ काम पनि गर्ने भविष्यको निम्ति पनि केही चाहिँ उहाँलाई जोहो गरिदिने हो । जस्तैः स्थायी कर्मचारीहरुलाई उहाँहरुले पाउने पारिश्रमिकहरुबाट केही प्रतिशत कटाएर उहाँहरुले संचयकोष भनेर जम्मा गर्नुपर्ने हुन्छ जुन नेपाल सरकारले नै गर्छ । तर हाम्रा श्रमिकहरुको त कसैले पनि नगरिदिने भयो । त्यसैले हामीले संघीय सरकारको ऐन, गाउँपालिकाको कार्यविधि नियमावली बनायौं । सूचना प्रक्रिया विज्ञापनद्वारा उहाँहरुलाई आह्वान गर्यौ । सुचिकृत गरेर उहाँहरुलाई हामीले काम दियौं, उहाँहरुले काम गर्नु भयो । काम गरेवापत प्राविधिक मूल्यांकन अनुसारको उहाँहरुले पारिश्रमिक पाउनुहुन्छ, त्यो पारिश्रमिकबाट हामीले थोरै प्रतिशत उहाँहरुले छुट्याउने काम गर्छौं  र त्यसमा स्थानीय सरकारले थप गरिदिन्छ । उहाँहरुको पनि मासिकरुपमा स्थायी कर्मचारीहरुको संचयकोषमा जम्मा भएजस्तो जम्मा हुन्छ र उहाँको निश्चित उमेर पुगेपछि थोरै भएपनि पेन्सनको रुपमा पाउने व्यवस्था गरेका छौं । शिक्षकहरु १८ देखि २० वर्ष त कसैले ३०–३१ वर्ष पनि पढाउनुहुन्छ, तर त्यति पढाएपछि रिटायर्ड हुँदा उहाँहरुले पेन्सन पाउनुहुन्छ, तर त्यती नै काम गर्ने मजदुरहरुले पनि केही पाउने हुँदैन । त्यसैले काम गर्ने मजदुरलक्षित नै हामीले यो योजना ल्याएका हौं । यसमा ६५ जना आवद्ध हुनुहुन्छ । हामीले यो योजना ल्याएको दुई वर्ष बढी भयो । प्रतिक्रिया राम्रो पाएका छौं । जनता खुशी हुनुहुन्छ ।

६ तपाईको कार्यकाल अन्तिम अन्तिमतिर पुग्न लागेको छ । अझै गर्न बाँकी काम केके छन् त ?

– मुख्य गरी विकासका पूर्वाधारण खानेपानी, विद्युत र बाटोघाटो नभई नहुँदो रहेछ । गाउँ होस या राष्ट्र नै किन नहोस् । विकासका लागि यो नै अत्यावश्यक रहेछ । त्यसैले संघ, प्रदेशसँग जोडेर यहाँ भएका बाटाघाटाहरुमा कालोपत्रे बनाउन सकियो भने यहाँका मानिसहरुबीचमा अर्गानिक उत्पादन र प्रयोगले प्राथमिकता पाउँने थियो । उसैपनि हाम्रोमा विषादी मल प्रयोगमा प्रतिवन्ध छ । कसैले लुकीछिपी प्रयोग गरेमा र गरेको कसैले सूचना दिएमा जरिवाना र पुरस्कारको व्यवस्था पनि छ । त्यसैले यसरी अर्ग्यानिक उत्पादनलाई जनताको भान्छासम्म पुर्याउन र कृषकले पनि राम्रो आम्दानी गर्न सक्ने थिए । यहाँ जस्तापाता प्रयोगमा पनि करिव करिव प्रतिवन्ध जस्तै छ । यसो दाउरा राख्नका लागि प्रयोग गर्ने गरेका छन । त्यसको निम्ति हामीले दिने गर्दछौ । नत्र भने घरमा प्रयोग गर्नका लागि जस्तापाता हामी दिँदैनौं । जस्ता लगाउने ठाउँमा हामीसँग भएका पातला स्लेट ढुंगाको प्रयोग गर्नु पर्ने हुन्छ । यसले गाउँको पुरानो सुन्दरता कायम राखेको छ ।