पुस १८ शुक्रबार,२०८२/काठमाडौं-
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक बन्दसूची संशोधन गर्नका लागि पुस २१ देखि २७ गतेसम्मको समय तोकेको छ ।
आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारहरुको बन्दसूची सच्याउन अन्तिम समय आयोगले तोकेको हो ।
साथै कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेको खन्डमा पुस २८ गते निवेदन दिनुपर्ने र पुस २९ गते नाम हटाइएको सम्बन्धित दलहरूलाई जानकारी हुनेछ । र पुस ३० गते रिक्त भएको स्थानमा अर्को उम्मेदवारलाई मनोनीत गरी सच्याइएको सुची आयोगमा पेस गर्ने तालिका रहेको छ ।
यसैगरी माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी विरोधको निवेदन दिनुपर्नेछ ।
माघ ११ देखि १७ गतेसम्म आयोगले प्राप्त उजुरीमाथि छानबिन गरी निर्णय लिनेछ । आयोगले माघ १९ गते आयोगले बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्नेछ ।
अन्तिममा माघ २० गते आयोगले उम्मेदवारको पुर्ण नामावली प्रकाशन गर्नेछ ।
