
माघ ४ आइतबार,२०८२/काठमाडौं-
नेपाली काङ्ग्रेसमा गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छ ।
आइतबार देउवापक्षले विशेष महाधिवेशन अवैधानिक भएको र सो कार्यसमितिलाई भंग गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका हुन ।
काङ्ग्रेसका निवर्तमान सभापति शेर बहादुर देउबा निवेदक रहेका छन भने निर्वाचन आयोग, नयाँ सभापति गगन थापा, उपसभापति विश्व प्रकाश शर्मा लगायत सिङ्गै कार्यसमिति बिरुद्ध रिट परेको छ ।
देउवा समुहले आजै रिटको पेसी माग गरेपनि सर्वोच्च प्रशासनले दर्ता भएकै दिन नियमावलीको बाध्यता रहेको भन्दै ५ गते सार्वजनिक बिदा भएकोले यही माघ ६ गतेका लागि तोकेको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत नेता तथा कार्यकर्ताहरु रिट दर्ता गराउन अदालत पुगेका थिए ।
निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाट वञ्चित हुने अवस्था आउने भन्दै उनीहरू कानुनी तरिकाले अगाडि बढेको बताइन्छ ।
साथै निवेदनमा आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति पनि सारिनु पर्ने उल्लेख गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसको आधिकारिकताबारे विवादलाई लिएर नेता डा. शेखर कोइरालाको समूह भने सर्वोच्च अदालत पुगेको छैन । शुक्रबार देउवा पक्षले सानेपामा बाेलाएको छलफलमा पनि काेइराला देखिएका थिएनन ।
