माघ १५ बिहिवार,२०८२/रुकुम पश्चिम-
एक असाधारण
हाँसोको मुखुण्डोभित्र
लुकेको छ
एउटा जागरुक हृदय
जो सत्ता होइन
सत्य रोज्छ
जो डर होइन
परिवर्तन चाहन्छ
त्यो हृदय
भोटलाई सौदा ठान्दैन
नारा मात्रैमा रमाउँदैन
ऊ खोज्छ
न्याय
समानता
र जनताको स्वाभिमान।
एउटा अध्याँरो
प्रणालीको कोठाभित्र
जहाँ
जनताको आवाज थुन्न खोजिन्छ
त्यहीँ
चेतनाको
एउटा कागज छ
जसले
इतिहास लेख्न जान्दछ।
त्यो कागजमा
बहकिएका मसीहरू
आक्रोश होइन
दृष्टि बन्छन्
आक्रान्त पीडा होइन
प्रतिरोध बन्छन्।
ती मसीहरूले
नेताको मुखौटा च्यात्छन्,
झुटा वाचा नाङ्ग्याउँछन्,
र स्पष्ट आकृतिमा
जनताको
क्रान्तिकारी प्रेम कोर्छन्
यो प्रेम
कुनै व्यक्ति प्रतिको होइन
यो प्रेम
परिवर्तन प्रतिको हो
यो प्रेम
सडकदेखि संसदसम्म
चेतनाको आगो बोक्ने
एक असाधारण
राजनीतिक प्रतिबद्धता हो।
