माघ १७ शनिबार,२०८२/चन्द्रकोट-
(गुल्मीस्थित चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीसित कुराकानीको आधारमा हाम्रो प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि तयार पारेको सामाग्री)
१. चन्द्रकोट गाउँपालिकाका विशेषताहरु के के छन ?
-चन्द्रकोट गाउँपालिका नेपालका अन्य पालिका जस्तै औषतको पालिका हो । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमा क्षेत्रमा पर्ने पहाडी गाउँपालिका हो । यो गुल्मी जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित छ । यस पालिकाभित्र कूल आठ वटा वडाहरु रहेका छन् भने मुख्यतया ब्राह्मण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा, मुस्लिम, कुमाल लगायतका जातीहरुको बसोवास छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भनेको कृषि, पशुपालन, बैदेशिक रोजगार र व्यापार हो । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुबाट रेमिट्यान्समा समेत निर्भर हुने गरी दुई वटा आर्थिक केन्द्रहरु छन । यहाँको स्थानीय बजार विकसित हुँदै गएको छ ।
यस गाउँपालिकाको नामाकरण प्रशिद्ध ऐतिहासिक स्थल चन्द्रकोट मन्दिरको नामबाट गरिएको हो । यहाँ प्रशिद्ध चन्द्रकोट मन्दिरसहित दिव्रुङ्ग मन्दिर, चक्रेश्वर मन्दिर, सिद्दबाबा मन्दिर जस्ता ऐतिहासिक एवंं धार्मिक महत्वका स्थलहरु रहेका छन् । ताल–तलैया तथा प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, विभिन्न नदीनालाहरु तथा प्राकृतिक सम्पदाहरु पनि रहेका छन् । पहाडी महाभारत श्रृंखलामध्ये मै पर्ने यस पालिकामा हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाह सम्भावना रहेको छ ।
२. यहाँ पालिकाको अध्यक्षमा विजयी हुनुभएपछि गर्नुभएका सन्तोषजनक कामहरु के के हुन् ?
-गाउँपालिकाको विकास र उन्नतीका सन्दर्भमा हामीले नियमित कामहरु गर्दै आएका छौं । संघ प्रदेशको ऐन नियमहरुसँग बाझिने गरी एउटा पालिकाले मात्रै कुनै त्यस्तो छुट्टै काम गर्न मिल्दैन । त्यसैले नियमभित्रै रहेर हामीले हाम्रो पालिकालाई अझ बढी विकसित बनाउने उद्देश्यले पूर्वाधार विकासमा जोड दियौं । यस पालिकाका मुल सडकमा पनि कच्ची सडक खण्ड बढी थियो, त्यसलाई हामीले संघीय सरकारको सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सबै कालोपत्रे गर्यौ । गाउँपालिकाको पहुँचमार्ग, चोरकाटे, शान्तिपुर लगायतमा पर्ने सडक पूर्णतया कालोपत्रे भएको छ । अतः हामी गाउँपालिकाको केन्द्रबाट लुम्बिनी प्रदेशको महत्वपूर्ण आर्थिक केन्द्र बुटवल जानका लागि करिव तीन घण्टामै पुग्ने गरी यातायातमा सहज पहुँच बनाएका छौं । हाम्रो पालिकाका ग्रामिण वस्ती भञ्ज्याङ, देब्रुङ, श्रयाङलगायतका क्षेत्रमा कालोपत्रे हुने गरी करिव ९० करोडको एउटा परियोजना स्वीकृत गराएर ठेक्का (टेन्डर) भइसकेको छ । आगामी वर्षभित्र त्यो सडक पनि पूर्ण रुपमा कालोपत्रे हुनेछ । अन्य सडकहरुमा हामीले अप्ठ्यारा, घुम्ती, मोडहरुमा ढलाई गर्ने, बर्खामा पानीले कटान हुने क्षेत्रमा पूर्णतया नाली कटानहरु निर्माण गरेका छौं । महत्वपूर्ण पूर्वाधारहरुमा हरेक वडा तथा टोलहरुमा बाह्रै महिना गाडी पुग्न सक्ने गरी सडक निर्माण कार्य हामीले सम्पन्न गरेका छौं । हरेक विपन्न नागरिकहरुलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराएर पालिकाका शतप्रतिशत घरहरुमा बिजुली बत्ति बलेको छ । त्यस्तै हामीले १५ शैंयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छौं । पछिल्लो दुई महिनामा हामीले दिएका स्वास्थ्य सेवा सुविधाबाट यहाँका जनता सन्तुष्ट छन् । स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेका छौं । यस बिचमा हामीले हाम्रो पालिकालाई पूर्ण संस्थागतयुक्त पालिका भनेर घोषणा पनि गरेका छौं ।
यहाँको खस्कँदो शैक्षिक अवस्थालाई पछिल्लो केही वर्षयता शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार आएको छ । यहाँका नमूना विद्यालयहरुले अहिले जिल्लामा केहीले सतप्रतिशत परिणाम दिइरहेका छन् भने केही विद्यालयहरुले ४ जीपीए ल्याउन सफल बनेका छन् । यही वर्ष हामी थप दरवन्दी मिलान समायोजन सम्पन्न गरेर वीग स्कुल (ठूलो विद्यालय) को अवधारणालाई अगाडि बढाउने सोच बनाई राखेका छौं ।
३. यहाँहरुले पर्यटन विकासका सवालमा के कस्ता काम कुराहरु गर्नुभएको छ ?
-हाम्रो पालिकामा रहेका केही पर्यटकीय गन्तव्यहरुको हामीले पहिचान गर्न सक्यौं । यसअघि ओझेलमा रहेपनि हामीले त्यसलाई संरक्षण तथा सम्बर्द्धन गरेका छौं । गत वर्षे पर्यटकीय हिसाबले टिमुरेको एउटा सामुदायिक होमस्टेलाई ग्रामिण गन्तव्यको रुपमा पर्यटन वर्ष व्यवस्थापनको रुपमा घोषणा गर्न सफल भएका छौं । दिब्रुङको संस्कृतिक महत्वलाई अझ व्यापक बनाउने प्रयत्न गरेका छौं । हामीले यहाँको धार्मिक र ऐतिहासिक महत्वका कारण ‘अतिथि गृह’ भनेर सुविधा सम्पन्न आवास निर्माण गरेका छौं । दिब्रुङको धार्मिक पर्यटन क्षेत्रमा नागरिकहरुले नीजि क्षेत्रबाटै स्वतस्पूर्त रकम उठाएर यो भवन निर्माण गर्नुभएको हो । त्यस्तै गाउँपालिकाले पनि आफ्नो लगानीमा अर्काे सुविधा सम्पन्न भवन पनि बनाएको छ । यसले गर्दा धार्मिक क्षेत्रमा थप आकर्षण बढाई रहेको छ । अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा लगायत पर्यटकीय गन्तव्यहरु छन् । चन्द्रकोटको ऐतिहासिक दरवारलाई संरक्षण तथा मर्मत सम्भार गरेका छौं ।
४. कृषिमा आधुनिकरणका लागि कस्तो पहलहरु गर्नुभएको छ ?
-कृषिको व्यवसायिक उत्पादनलाई जोड दिने गरी हामीले एउटा परियोजना ल्याएका छौं । उच्च मूल्यका कृषि वस्तुको परियोजना छ, जुन देशभर २१ वटा जिल्लामा लागु भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा लुम्बिनीमा लागु भएको यो परियोजनामा हाम्रो पालिका पनि पर्न सफल भएको छ । मुख्य कुरा के भने, हामीले सुशासनमा गुणात्मक उपलब्धी हासिल गरेका छौं । एफआरए (स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन) विजा र वित्त आयोगका सूचकारीको हकमा हाम्रो पालिका अघिल्ला १० वटा गाउँपालिकाभित्रै पर्ने गरेको छ । चालु खर्च घटाउँदै लैजाने र पूँजीगत खर्च बढाउनेतिर हाम्रो ध्यान केन्द्रित छ ।
हाम्रो पालिकामा हामीले भन्दा पनि नागरिकहरु नै जागरुक भएर उहाँहरु नै काममा बढी अग्रसर हुनुहुन्छ । यो निकै खुशीको कुरा हो । पछिल्लो पटक हामीले नागरिकहरुको सन्तुष्टि सर्वेक्षण फारम नियमित रुपमा संकलन गर्ने गरेका छौं । सार्वजनिक सुनुवाई, समाजिक परिक्षणहरु लगायतका कार्यक्रमहरु पनि नियमित अगाडि बढाई रहँदा जनताबाट आउने कतिपय गुनासा र आलोचनाहरुलाई मनन गर्ने र सुधार गरेर अगाडि बढ्न सजिलो भएको छ । त्यस्तै किसानहरुको हितका लागि ५० प्रतिशत अनुदानमा हामीले कृषिमा यन्त्र–उपकरणहरु वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं । हाम्रो पालिकामा पहाडी धरातल र भिरालो जमिन छ । त्यसैले यहाँ जोत्नका लागि प्रयोग हुने गोरुहरुको सहजताका लागि जोडा गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप गत वर्ष हामीले अनुदान रकमको व्यवस्था गरेका थियौं । जसले परम्परागत कृषिमा निर्भर रहेका पहाडी भिरालो जमिनहरु जोत्ने किसानहरुलाई केही राहत मिलेको थियो । त्यस्तै किसानहरुलाई खाद्यान्नमा आत्मनिर्भरता कार्यक्रम अन्तर्गत गहुँ, मकै र धानको विऊमा ५० प्रतिशत अनुदान दिने गरेका छौं । कृषिमा व्यवसायीकरण गर्न चाहने नागरिकहरुका लागि पनि हामीले अनुदानको व्यवस्था गरेका छौं । गत वर्षसम्म ‘स्मार्ट कृषि कार्यक्रम’ संचालनमा थियो, यो वर्षबाट कृषिमा रोजगारी सिर्जना गर्ने संस्था कम्पनीहरुलाई अनुदान दिने गरी कार्यक्रम अगाडि बढाएका छौं । किसानको उत्पादनलाई संकलन गर्ने गरी संकलन केन्द्रहरुको स्थापना गरेका छौं । हाम्रा हरेक कामहरुमा नागरिकहरुको सहभागिता बढाउनका लागि थप कार्यक्रमहरु ल्याइरहेका छौं ।
५. देश संघीयतामा गयो, तपाईको विचारमा यो पूर्ण लागू भएको छ त ?
-संघीयताको सन्दर्भमा हाम्रो केही फरक अनुभूति छ । खासमा त हाम्रा इकाइहरु, निकायहरु सबै ठाउँमा संघीयता कार्यान्वयनका लागि सक्षम नभएको पनि देखिन्छ । खासगरी व्यूरोक्रेसीतिर र कर्मचारीको खटनपटन संघीय सरकार र प्रदेश सरकार मातहतमा हुने गरेकाले कामकारवाहीमा केही जटिलता छ । राजनीतिक विभाजनको हिसावले संघीयता बनेको भएपनि यसलाई प्रशासनिक र अधिकारको हिसावले पूर्ण कार्यान्वयन गराउन अझै धेरै गर्न बाँकी छ ।
६. यहाँले अब नगरी नहुने महत्वपूर्ण काम के बाँकी छन त ?
-हामी निरन्तर राजनीतिक कर्म गरि रहने व्यक्ति भएकाले यो सार्वजनिक पदको जिम्मेवारी हुँदा अथवा नहुँदा पनि नागरिकहरुको अधिकार सम्पन्न बनाउन तथा नागरिकहरुलाई अझ बढी नागरिकमैत्री शासन व्यवस्थालाई निरन्तर क्रियाशिल बनाउने कुरा छँदैछ । अर्काे हाम्रो कार्यकालको डेढ–दुई वर्ष अझै बाँकी नै छ । त्यसैले यो बीचमा हामीले अगाडि बढाएका केही योजना कार्यक्रमहरु छन् तिनलाई निरन्तरता दिने गरी अगाडि बढीरहेका छौं । जस्तो आधारभूत अस्पताललाई पूर्ण बनाउने, शैक्षिक क्षेत्रमा गुणात्मक सुधार गर्ने, अझै अधुरा विकासका पूर्वाधारहरुलाई समयमै सम्पन्न गर्ने गरी अगाडि बढेका छौं । त्यस्तै रोजगारीमूखी कृषि व्यवसायमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने गरी अगाडि बढाउने सोच गरेका छौं । अब पालिकाको आन्तरिक राजश्वका दायराहरु बढाउने लक्ष्य छ । यो पालिका गुल्मी जिल्लामा बढी राजश्व संकलन गर्नेमा दोस्रो स्थानमा पर्छ । यसलाई अझ बढी व्यवस्थित गर्दै ठोस कार्यक्रमहरु अगाडि बढाउने गरी थप कार्यक्रमहरु गर्दैछौं ।
