लिबियामा गद्दाफीका छोरा सैफ अल-इस्लामको गोली हानी हत्या !

राजनीति विश्व समाचार
माघ २१ बिहीवार,२०८२/लिबिया-

लिबियाका भूतपूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल-इस्लामको गोली हानेर हत्या गरिएको बताइएको छ।

मंगलबार सैफ अल-इस्लामका राजनीतिक प्रमुखले उनको हत्या भएको पुष्टि गरेका हुन ।

उनलाई गृहनगर जिन्तानस्थित निवासमा “चारजना कमान्डो”को युनिटले हत्या गरेको बताइए पनि कसको समलग्नता रहेको भन्नेबारे भने स्पष्ट भएको छैन ।

५३ वर्षीय सैफलाई आफ्ना बुवाको उत्तराधिकारीका रूपमा हेर्दै आइएको थियो जुन कुरा उनले सधै नकार्दै आएका थिए । सत्ताको बागडोर “विरासतबाट प्राप्त हुने खेतीबारी नभएको” उनले भन्ने गर्थे ।

गद्दाफीले सन् १९६९ देखि सन् २०११ मा मारिदा सम्म लिबियामा शासन गरेका थिए।

सन् १९७२ मा जन्मिएका सैफले सन् २००० देखि गद्दाफीको पतन नभएको बेलासम्म पश्चिमा देशहरूसँग लिबियाको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आफ्ना बुवालाई सत्ताच्युत गरिएपछि प्रतिद्वन्द्वी लडाकु समूहले जिन्तानमा उनलाई करिब छ वर्षसम्म जेलमा राखेको थियो।

सैफमाथि विद्रोहका बेला सरकारविरोधी प्रदर्शनकारीहरूमाथि दमन गर्ने भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो।

सन् २०११ को जनविद्रोहका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीमाथि मुद्दा चलाउन खोज्यो।

आन्दोलनमा दमन गरेको अभियोगमा देशको पश्चिममा पर्ने त्रिपोलीस्थित एक अदालतले सन् २०१५ मा उनलाई मृत्युदण्डको सजाय सुनायो, जहाँ संयुक्त राष्ट्रसङ्घ समर्थित सरकारको शासन छ।

तर देशको पूर्वमा पर्ने तोब्रुकस्थित एउटा लडाकु समूहले माफी दिने कानुनअन्तर्गत दुई वर्षपछि उनलाई रिहा गरिदियो ।

अहिले त्यहाँ दुईवटा प्रतिद्वन्द्वी सरकार छन् ।

यद्यपि सन् २०२१ मा उनले राष्ट्रपति पदका लागि उठ्ने घोषणा गरे, जुन चुनाव अनिश्चितकालका लागि स्थगित भएको थियो ।