भुम्लु गाउँपालिकालाई डढेलोमुक्त बनाउन सफल भएका छौँ: प्रेम बहादुर भुजेल,अध्यक्ष

अन्तर्वार्ता अर्थ पर्यटन राजनीति समाचार

माघ २६ सोमबार,२०८२/भुम्लु-

(काभ्रेस्थित भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलसित कुराकानीको आधारमा हाम्रो प्रतिनिधि पुष्पा महराले ‘६ प्रश्न’ का लागि तयार पारेको सामाग्री)

१. भुम्लु गाउँपालिकाको विशेषताबारे बताई दिनुहोस् न ।
– भुम्लु गाउँपालिका वन–जंगल, जनशक्ति र प्राकृतिक स्रोत साधनले पर्याप्त सम्भावना बोकेको पालिका हो । विशेष गरी यहाँ जलासयको पर्याप्त ठाउँ छ ‘दोलालघाट’ । जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिलाई राम्रोसँग परिचालन गर्न सकियो भने यस पालिकामा प्रयाप्त सम्भावनाहरु छन् ।

२. तपाई अध्यक्षमा निर्वाचित हुनुभएपछि गर्नुभएका सन्तोषजनक कार्यहरु के–के हुन ?
– समाज रुपान्तरणको पहिलो आधार भनेकै शिक्षा हो भन्ने महशुस गरेर हामीले शैक्षिक क्षेत्रमा विशेष लगानी गर्यौ । यहाँका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर ल्याउनु पर्छ भनेर जोड बल गर्यौ । शिक्षा क्षेत्रमा अत्याधिक लगानी पनि गरेका छौं । म निर्वाचित भएको पहिलो वर्षमा नै बजेट विनियोजन गरेर शिक्षामा युगलाई जोड्नुपर्छ भनेर ‘योग शिक्षा’लाई अगाडि बढाएका छौँ । हामीले सबै विद्यालयहरुको प्रतिनिधित्व हुने गरी एउटा विद्यालय छनौट गर्यौ । त्यहाँबाट अन्य प्रतिनिधि उत्पादन हुँदै गए । त्यसले नै लिडरको भूमिका निर्वाह गर्यो । खेलकुद क्षेत्रलाई जोड्न खेलकुद शिक्षक नियुक्ति गर्यौ, अन्य शिक्षकहरु पनि जोडयौ । त्यस्तै प्राथमिक स्तरबाट नै शैक्षिक स्तर गुणस्तरिय विकास गर्नुपर्छ भनेर हामीले कक्षा एकमा विद्यार्थी भर्ना अगावै उनीहरुका लागि अंग्रेजी माध्यमबाट तीन वर्षको शिशु कक्षा संचालन गर्ने दरवन्दी व्यवस्थापन गर्यौ । शैक्षिक क्षेत्रमा गरेको व्यापक लगानीको उपलब्धीहरु अहिले देखिन थालेका छन् । त्यसबाट हामी सन्तुष्ट पनि छौं । पछिल्लो तीन वर्षको अवधिमा काभ्रे जिल्लामै प्रथम, देशव्यापी तेस्रो स्थानमा र अन्तर्राष्ट्रिय स्तरको पाँचौ तहको सम्मानित प्रमाणपत्र हामीले प्राप्त गर्न सफल भएका छौं । भुम्लु गाउँपालिकाको ‘कर्णाली’ भनेर चिनिने बेखसिम्लेका एक बालकले अन्तर्राष्ट्रिय स्तरमा पुगेर प्रर्दशनमा सफलता हासिल गरेका छन । यो सफलता पालिकाको मात्रै नभई, काभ्रे जिल्ला र सिंगो मुलुककै हो ।
जलवायु सम्बन्धि हामी गम्भिर भएर स्थानीय सरकारले कार्वन संचितीकरणको काम गर्नुपर्छ भनेर लागिपरेका छौं । यहाँको ६० प्रतिशत भूभाग जंगलले ढाकेको छ । प्रत्येक वर्ष जंगलमा डेढेलो लागेर हिउँदको तीन/चार महिना यहाँको वातावरण निकै प्रदूषित हुने गर्दथ्यो । डढेलोले जंगल सखाप पार्दा यहाँका जीव–जनावरहरु पनि जलेर मर्थे । वातावरण प्रदूषणका कारण स्वास–प्रश्वासमा निकै कठिनाई हुन्थ्यो । अझ जेष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिकाहरु त्यसको प्रत्यक्ष मारमा पर्थे । वातावरणलाई जोगाउन धरानका मेयर हर्क साङपाङको नेतृत्वमा वार्षिक लाखौ विरुवाहरु रोप्नु भयो, तर हिउँदमा डढेलोले क्षणभरमै लाखौ बोटविरुवा मात्रै नभई रुखहरु जंगल नै खसाप पारिदिएको उदाहरण हामीमाझ छ । त्यसैले विरुवा रोप्नु मात्रै ठूला कुरा होइन, त्यसलाई जोगाउनु पनि ठूलो कुरा हो भन्ने हामीलाई थाहा भयो । त्यसैले हामीले हाम्रो पालिकामा प्रदुषणबाट पनि मुक्त गर्ने र जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई पनि घटाउने उद्देश्यले यस वर्ष हाम्रो पालिकालाई डढेलोमुक्त पालिका बनाउने अभियान सञ्चालन गर्यौ, जुन सफल पनि भयो । सम्भवतः यो देशभर नै पहिलो पालिका होला जुन डढेलो मुक्त भएको छ ।

३. डढेलोमुक्त गाउँपालिका बनाउन कस्ता पहलहरु गर्नु भयो र सफल हुनु भयो ?
– भुम्लु गाउँपालिकालाई डढेलोमुक्त बनाउन निकै मेहनत गर्नु पर्यो । ड्रोन क्यामराबाट निरिक्षणदेखि सीसी क्यामरा जडान, यहाँ भएका ४८ वटा सामुदायिक वनहरुका लागि मानिसहरुलाई समूहमा विभाजन गरेर त्यसको हेरचाह र रेखदेख गर्यौ । विद्यालय तथा गाउँ वस्ती माझ जनचेतना फैलाउने काम पनि भयो । जनचेतनामूलक ब्रुसर, पम्प्लेटहरु वितरण गर्यौ । वन क्षेत्रमा जाने गाडीहरुमा त्यस्ता पर्चा पम्प्लेटहरु टांग्यौं, जस मार्फत त्यस क्षेत्र भएर हिड्ने यात्रुलाई सचेत गराउने काम भयो  । स्थानीय मिडियाहरुलाई परिचालन गरेर जनचेतना फैलाउने काम पनिग्गं  भयो । हामीहरुले डढेलो नियन्त्रणका लागि यतिका पहल गरिरहँदा यदि कोही कसैले आगजनी गरेको र त्यस्तो गलत कार्यमा संलग्न रहेको पाइएमा रु ६० हजार जरिवानासहित तीन वर्षसम्मको जेल सजाय व्यहोर्नुपर्ने वन ऐनमै छ । उक्त ऐनलाई थप महत्व दिएर स्थानीय चार वटा प्रहरी चौकीका जवानहरु, क्लवका साथीहरु, हामीले नै नियुक्ति दिएका २० जना भन्दा बढी वन हेरालु हुनु हुन्छ उहाँहरुले वनको रक्षार्थ, सिठी फुक्नेदेखि माइकिङ गर्ने तथा वन घुम्ने कार्य पनि गर्नुभयो । यसले गर्दा गत वर्ष हाम्रो पालिका डढेलोमुक्त पालिका बन्न सफल भयो ।
हिजोका दिनहरुमा वन्यजन्तुले किसानहरुको खेतीबालीमा जसरी असर पुर्याउथे, अहिले वन जंगलको संरक्षणपछि वन्य जन्तुहरुले वनबाटै आफ्नो आहारा पाउने भएपछि वन्यजन्तुहरु वनबाट बाहिर निस्किन छोडे र किसानहरुको बालीनाली पनि जोगियो । यस पालिकामा विश्वमै लोपोन्मूख रहेको सालक पनि पाइन्छ । केही समयअघि काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले ६ महिनासम्म यहाँ केही अध्ययन अनुसन्धान गर्नुभएको थियो । सोही क्रममा लोपोन्मुख सालकको वृद्धिविकास, जंगली जनावरहरु मृग, खरायो, कालिज, मयूर लगायत पशुपंक्षीहरुको व्यापक वृद्धि भएका देखिएको छ । वर्खामा पानी जम्मा गरी सुख्खायाममा वनलाई पर्याप्त पानीको अभाव नहोस् भन्ने उद्देश्यले हामीले वनमा हजार पोखरी बनाउने कार्य पनि गरेका छौं । वनलाई हामीले ब्लकको स्टाइलमा विकास गर्ने कोशिस गरेका छौं । फरक फरक ब्लकमा गँुरास घारी, काफल घारी जस्ता ठूला बोटबिरुवाहरु लगाउने, अर्काेमा जडिबुटीहरु लगाउने, सालघारी, अमला घारीलगायतका बोटविरुवाहरु लगाउने गरेका छौं । त्यस योजनामा हामी केही सफल पनि भएका छौँ ।

४. स्वास्थ्य क्षेत्रमा के कस्ता कामहरु गर्नु भएको छ ?
– हाम्रो पालिकाभित्र स्वास्थ्य क्षेत्रको स्तरउन्नतीका लागि पनि हामीले त्यत्तिकै जिम्मेवार भएर काम गर्दै आएका छौं । वातावरण प्रदूषण रोक्नु भनेकै स्वास्थ्यमा सावधानी अपनाउनु नै हो जस्तो लाग्छ । हामीले हाम्रो पालिकामा प्राकृतिक चिकित्सालय केन्द्रको विकास गरेका छौं । जसले वाफ (स्पा)बाट जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचार गरिहेको छ ।
कृषि क्षेत्रमा पनि हामीले कामलाई निरन्तरता दिएका छौं । यस पालिकाभित्र पर्ने प्रत्येक वडामा कृषि प्रविधिको व्यवस्थापन गरेर स्थानीय भूगोल र यहाँको माटोको अवस्था अनुसार उत्पादनमा जोड दिएका छौं । जमिनलाई ब्लक प्रणालीमा क्षेत्र निर्धारण गरेर उत्पादनमा जोड दिएका छौंं । जस्तो वडा नं. १, २ र ३ लाई सुन्तला क्षेत्र बनाउने गरी काम अघि बढाइएका छौँ । एक वडा एक उत्पादन अन्तर्गत वडा नं. ७ लाई कफि पकेट क्षेत्रको रुपमा विकास गरेका छौं । त्यस्तै वडा नं. ४ लाई किवी पकेट क्षेत्र, तरकारी जन्य उत्पादनका लागि वडा नं. ९ लाई छुट्याएका छौं । यो वडा चाँही पाँचखालसँग जोडिएको छ ।

५. किसानहरुलाई राहत दिने खालका के कस्ता कामहरु भएका छन् ?
– किसानहरुलाई राहत दिने खालका योजना अन्तर्गत हामीले उनीहरुलाई पशुपंक्षी पालन उत्पादन र विक्री–वितरणमा समेत अनुदानको व्यवस्था गरेका छौं । गाई–भैसीको दुध विक्री वितरणमा प्रतिलिटर एक रुपैयाँका दरले किसानहरुलाई अनुदान छुट्याइएको छ । भकार सुधारमार्फत गोठ निर्माणमा ५० प्रतिशत अनुदान, ट्याक्टर प्रयोगका काममा ५० प्रतिशत, पशु पालनका लागि ५० प्रतिशत अनुदानमा कृषकलाई भैसी पनि वितरण गरेका छौं । त्यस्तै राँगा पालनमा पनि ५० प्रतिशत अनुदान प्रदान गरेका छौं । उनीहरुलाई निःशुल्क औषधिहरु वितरण गरेका छौं । कृषि उत्पादनका लागि निःशुल्क विऊ विजन वितरण गर्दै आएका छौं । सिंचाई समस्या हल गर्न योजना बनाएर प्रयासरत छौं । बाँझो जमिनलाई सदुपयोग गर्ने भनेर पालिकाले नै कार्यक्रहरु बनाएर अघि बढाएको छ । हामीले कृषिलाई प्रोत्साहन गर्न निकै लागिपरेका छौं । तर कृषि क्षेत्रमा जनशक्ति नै कम भएका कारण यसको परिणाम भने सोचे अनुरुप पाउन हामीलाई निकै कठिन भएको छ ।
दश वटा पालिकामा दश वटा समूह बनाएर जडिबुटी खेती गर्ने गरी यो वर्षबाट नयाँ कार्यक्रम लागु गरेका छौं । जडिबुटी प्रशोधन केन्द्र भुम्लुमा स्थापना गरिएको छ । त्यसमा प्रयाप्त कच्चा पदार्थहरु नपाउँदा पालिकाद्वारा नै समूह निर्माण गरी बाझो जमिनमा उत्पादनका लागि जनशक्ति खटाइएको छ । यहाँ तीतेपातीको तेल निकाल्नेदेखि तुलसी, लेमन ग्रासको खेतिको अभ्यास भइरहेको छ । अहिले ती जडिबुटीहरुको तेल निकालेर बजारीकरण गर्नका लागि ब्रान्डिङको काम भइरहेको छ । जडीबुटी प्रशोधन गरी कारोबारलाई दीगो बनाउन ४० रोपनी क्षेत्रफलमा तीतेपाती, तेजपत्ता, रोजमेरी खेती भइरहेको छ । पालिकालाई जडीबुटी उत्पादनको हब बनाउन प्रशोधन केन्द्रसँगै ग्रिन हाउस तयार गरिएको छ, जहाँ जडीबुटीका बिरुवा उत्पादन गरिन्छ । त्यही प्रशोधन केन्द्रमा गुन्दू्रक प्याकेजिङदेखि अमला, हर्राे, बर्राेको पनि त्रिफला हामीले उत्पादन गरिरहेका छौं । अब चाँडै नै गुणस्तरीय हर्वल सामानहरु उत्पादन गर्ने योजनामा छौँ ।

६. तपाईको पालिकाभित्र पर्यटनको क्षेत्रमा के कस्ता कामहरु गर्नुभएको छ ?
– भुम्लु गाउँपालिकामा पर्ने इन्द्रावती र सुनकोशीको संगमस्थल भएको दोलालघाट पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ । यस क्षेत्रलाई केही लगानी गरेर थप आकर्षक केन्द्र बनाउने चाहना हुँदाहुँदै पनि सुनकोशीमा भएको खतराका कारण त्यस्ता लगानीकर्ताहरु ल्याउन सकिएन । संघीय सरकारले पनि त्यहाँ लगानी गर्न चाहेन । त्यसैले अहिले पनि त्यहाँ जस्ताको त्यस्तै छ, त्यसलाई परिवर्तन गर्ने स्थिती बनेको छैन । यद्यपी हामीले त्यहाँ एउटा ‘जेट–बोट’ भने ल्यायौं । त्यो संचालन गर्ने प्रयत्न पनि गर्यौ, तर हिउँदमा त्यहाँ पानीको सतह निकै कम हुने भएकाले हामी त्यसमा खासै सफल भने हुन सकेनौं । त्यसपछि हाम्रो अर्काे गन्तव्य भनेको गाउँपालिकाको शीर मानिने मूलखर्क भीमसेनस्थान । जो पाँच हजार वर्ष पुरानो इतिहास बोकेको धार्मिक स्थल हो । त्यसलाई हामीले संरक्षण गरेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गराएका छौं । त्यसैले हाम्रो पालिकामा अहिले पर्याप्त आन्तरिक तथा छिमेकी जिल्लाहरुबाट पनि पर्यटकहरु आउने जाने गर्दछन् । धार्मिक आस्थाको उक्त स्थानमा पर्यटकहरु पारिवारिक पिकनिक मनाउन तथा मनोरम दृश्यहरु हेर्नका लागि आउने गर्छन् ।