अमेरिका र इरानबीच दुई साता युद्धविरामको घोषणा !

राजनीति समाचार

चैत्र १५ बुधबार,२०८२-

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनीसहित दिएको समयसीमा सकिन केही बेर अघि युद्धविरामको सहमति भएको हो।

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडि वार्ताको मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम “तत्कालै लागु हुने” बताएका थिए।

उक्त समयसीमा नेपाली समयानुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।

पाकिस्तानको मध्यस्थता

पाकिस्तानी प्रधानमन्त्रीले इरान युद्धको समाधानका लागि भन्दै एप्रिल १०मा इस्लामाबादमा दुवै पक्षका प्रतिनिधिमण्डललाई आमन्त्रण गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्।

युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको छ।

वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तानमार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको छ।

युद्धविराम घोषणापछि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) ले वक्तव्य जारी गर्दै ढिलोमा १५ दिनभित्र इस्लामाबादमा औपचारिक वार्ता हुने जनाएको छ।

वार्तामा “युद्धभूमिमा इरानले हासिल गरेको जितलाई राजनीतिक वार्तामार्फत् सुदृढ गरिने” उसले जनाएको छ।

इरानले आफ्नो भौगोलिक अवस्था देखाउँदै होर्मुज जलमार्गमा नियन्त्रण आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको बताएको छ।

इरानको परमाणु कार्यक्रम पनि वार्ताको अर्को जटिल विषय हो।