श्रावण १७ आइतबार,२०८३-
(कवि उमेश भट्ट ‘बिकास’ डडेलधुरास्थित अजयमेरु गाउँपालिकाका अध्यक्ष हुन )
जीवनको यात्रामा शिखर चुम्नु मात्र
सफलता होइन,
शिखरमा पुगेर पनि आफ्नै अन्तरात्मासँग
अपरिचित हुनु कस्तो विजय ?
अरूका आँखामा सफल देखिनु भन्दा
आफ्नै चेतनाको दीप प्रज्वलित हुनु ठूलो कुरा हो
अरूको वैभवसँग आफ्नो जीवन तुलना गर्दै
आफ्नै खुसीलाई तुच्छ नठान
कसैको यात्रा राजमार्गमा होला,
कसैको उकाली-ओरालीको गोरेटोमा
तर वास्तविक विजय
गन्तव्यको शीघ्रतामा होइन,
यात्राको सत्यतामा हुन्छ
कति उचाइ चढ्यौ भन्दा
उचाइमा पुग्दा कति विनम्र रह्यौ,
कति मानिसले चिन्यो भन्दा
तिमीले आफूलाई कति चिन्यौ
त्यही जीवनको सार हो
अन्ततः पद, प्रतिष्ठा र प्रशंसाभन्दा
आफ्नै आत्माले दिएको सन्तोष मूल्यवान हुन्छ
त्यसैले पथिक,
अरूको आँखामा सफल देखिनु भन्दा
आफ्नै अन्तरात्माको कठघरामा
निर्दोष ठहरिन चाहन्छ
किनकि
सफलता संसारले देख्ने उपलब्धि हो,
सन्तोष आत्माले अनुभूत गर्ने सम्पदा हो
यहि सत्यता लाई स्विकार गर्दै
पथिक गन्तव्य पथमा लम्कि रहन्छ लम्कि रहन्छ ।
मिति ३०८३/४/१६ गते राती १०:२३ धनगढी
प्रतिक्रिया दिनुहोस्