अर्थ मन्त्रालय: बजेटबारे भ्रमपुर्ण समाचारले गम्भीर ध्यानाकर्षण गराएको

अर्थ राजनीति समाचार

जेठ ३०,  २०७९/काठमाडौं-

आर्थिक वर्ष २०७९/८० को बजेटको विषयमा एउटा संचार माध्यममा ‘मध्यराती बजेटमा जब चुकुल लाग्यो ‘ भन्ने शिर्षकमा अर्थ मन्त्रीलाई आरोप लगाउदै प्रकाशित  समाचारको अर्थ मन्त्रालयले खण्डन गरेको छ।

प्रवक्ता तथा आव २०७९/०८० को बजेट निर्माण टोलीका प्रमुख सहसचिव भुपाल बरालले विज्ञप्ति जारी गर्दै बजेट निर्माण प्रक्रिया, मन्त्रीको चैत्र १ गते देखिकै निकै मिहेनत बारे उल्लेख गर्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको  बताएका छन ।

‘औपचारिक रुपमा बजेटका बिषयमा क्षेत्रगत छलफल, बिज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श तथा सर्वसाधारणको प्रतिक्रियाका लागि समेत ११३८को निशुल्क टोल फ्री नम्बरको व्यवस्था गरिएको ‘ बारे विज्ञप्तिमा जानकारी गराइएको छ ।

‘आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमाका क्रममा (१–१४ जेठ,२०७९) माननीय अर्थमन्त्री सामान्यतः सूचीकृत दैनिक औपचारिक कार्यक्रम बाहेक हरेक दिन बिहान ७ः३० बजे मन्त्रालय आउने र राति अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो’, विज्ञप्तिमा जिकिर गरिएको छ ।

‘सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्बन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरुबाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँछौँ।’ भन्ने उल्लेख गरि कुनै पनि असम्बन्धित ब्यक्तिको बजेटमा प्रभाव न परेको जनाइएको छ ।

र अन्त्यमा, ‘भ्रम सृजना हुनेगरी तथ्य र तर्क भन्दा टाढा रही कपोल कल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक भएको ‘ लेखिएको छ ।